भारु पाँचसय र हजारका नोटमा भारतमै प्रतिबन्ध
भारतमा आज, २३ कात्तिक रातिदेखि ५०० र एक हजारका नोटमा प्रतिबन्ध लागेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार र जाली नोटमा लगाम लगाउन भन्दै आज राति १२ बजेदेखि ५०० र १००० का भारु नोटमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
यद्यपी ५०० र १,००० का यि नोटहरु बैंक र डाकघरका खातामा भने १० नोभेम्बरदेखि ३० डिसेम्बरसम्म जम्मा गर्न सकिने भनिएको छ । डिसेम्बर अन्त्यसम्ममा उक्त नोटहरु जम्मा गरेर अन्य करेन्सी लिन सकिनेछ ।
९ र १० डिसेम्बरमा एटीएम बन्द
नयाँ नोटको व्यवस्था गर्न केही समय लाग्ने भएको हुँदा ९ डिसेम्बर अर्थात २४ कात्तिकमा भारतभर एटिएम बन्द रहने र १० कात्तिकमा पनि देशका कैयन इलाकाका एटिएम बन्द रहने मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै बताएका छन् ।
त्यसैगरी २६ कात्तिकसम्म सबै सरकारी अस्पताल, मेडिकल स्टोर, रेल र एअरलाइन्स टिकट घरमा भने ५०० र १०० का नोट चल्नेछन् ।
३० डिसेम्बरपछि पनि यस्ता नोट जम्मा गर्नका लागि भने भारतीय रिजर्भ ब्यांकमा आफ्नो आय घोषणा सहित नोट जम्मा गर्न सकिनेछ ।
मोदीले आफ्नो घोषणामा भ्रष्टाचारीसँग रहेका यस्ता नोट अब कागजका टुक्रामा मात्रै रहने बताएका छन् ।