च्याम्पियन्स लिगः पीएसजीसँग पराजयपछि लिभरपुल संकटमा
युरोपेली च्याम्पियन्स लिगमा गत सिजन फाइनलसम्मको शानदार यात्रा तय गरेको इङलिस क्लब लिभरपुल जारी सिजनमा समूह चरणबाटै बाहिरिने खतरामा पुगेको छ।
बिहीबार बिहान सम्पन्न समूह सीको पाँचौं खेलमा फ्रान्सेली लिग बिजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग उसकै घरेलु मैदानमा २-१ ले पराजित भएपछि योर्गन क्लोपको टिम संकटमा परेको हो।
लिग फूटबलमा अहिलेसम्मकै कीर्तिमानी रकममा स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी पुगेका ब्राजिलियन स्टार नेयमार नै यो खेलको केन्द्रमा रहे। लिभरपुलविरुद्ध प्राप्त जितमा उनले एक गोल गरे भने अर्को गोल बर्नाटको नाममा रह्यो। लिभरपुलका तर्फबाट जेम्स मिल्नरले पेनाल्टीमा गोल गरे।
समूह चरणका ५-५ वटा खेल सकिँदा इटालियन क्लब नेपोली ९ अंकसहित समूह चरणको शीर्ष स्थानमा छ भने दोस्रो स्थानको पीएसजीको ८, तेस्रो स्थानको लिभरपुलको ६ र पुछारको रेडस्टार बेलग्रेडको ४ अंक छ। अब सबैले एक एक खेल्न बाँकी छ। यो समूहबाट शीर्ष टिम मात्र नकआउट चरणमा पुग्नेछन्।
च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने रेडस्टारको सम्भावना सकिएको छ भने लिभरपुलको सम्भावना अझै बाँकी नै छ। तर, लिभरपुललाई त्यति सजिलो छैन। नेपोली र पीएसजीलाई आ-आफ्ना अन्तिम खेलमा बराबरी खेले पनि दोस्रो चरण पुग्न पर्याप्त हुनेछ। पीएसजीले पुछारको रेडस्टारसँग अन्तिम खेल खेल्नेछ।
लिभरपुलले भने आफ्नै घरेलु मैदानमा नेपोलीको सामना गर्नेछ। नकआउट चरण प्रवेशका लागि लिभरपुलले नेपोलीलाई १-० वा त्यसो हुन नसके कम्तीमा दुर्इ गोलको अन्तरले पराजित गर्नुपर्नेछ। राम्रो लयमा रहेको नेपोलीलाई पराजित गर्नु भने सहज छैन।
मड्रिड, बार्सा, युभेन्टस र वायर्न नकआउटमा
डिफेन्डिङ च्याम्पियन रियल मड्रिड एएस रोमालाई २-० गोलले पराजित गरेपछि अन्तिम खेल बाँकी छँदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।
यस्तै, उसका स्पेनिस प्रतिद्वन्द्वी बार्सिलोना र एट्लेटिको मड्रिड, जर्मनको बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख र बोरुसिया डटर्मुन्ड, इटालियन च्याम्पियन युभेन्टस र एएस रोमा तथा इङलिस क्लबहरू म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड पनि एक खेल अगावै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेका छन्।
त्यसैगरी, पोर्चुगिज क्लब पोर्टो, नेदरल्याण्ड्सको अजाक्स र जर्मन क्लब शाल्केले नकआउट चरण सुरक्षित गरेका छन्।