भक्तपुरमा ११ महीनामा २६ बलात्कृत
जिल्लामा ११ महीनामा बलात्कारका २६ घटना भएको एक तथ्यांकले देखाएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले उक्त आँकडा सार्वजनिक गरेको हो। गत जनवरीदेखि २७ नोभेम्बरसम्ममा ती घटना भएको इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले बताइन्।
त्यसमध्ये बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका ३ र बाल यौन दुर्व्यवहारका १ घटना भएका छन्। यस्तै, ६ जनाको हत्या भएको छ। बहुविवाहमा ९ महिला र अपहरणको घटनाबाट एक बालक पीडित भएका छन्।
लागूपदार्थ सेवनकर्ताबाट धेरै घटना भएको देखिएको र गलत संगतका कारण किशोरकिशोरी दुर्व्यसनमा लाग्ने गरेकाले अपराध बढेको जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले बताइन्। सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले महिला हिंसा मात्रै नभई पछिल्लो समयमा पुरुष हिंसा पनि बढ्दै गएको पाइएको बताइन्। रासस