रिपोर्टबिहिवार, मंसिर १३, २०७५

परम्पराको जगमा बृहत् सिर्जना

सेवा भट्टराई

पुस्तौंदेखि परम्परागत थाङ्का चित्र बनाउने एक परिवारले त्यसकै जगमा चित्रकलालाई बृहत् अर्थ र स्वरूप दिएको छ। कुनै बेला तिब्बती भक्तिकला भन्नाले भित्तेचित्र र थाङ्का मात्रै बुझिन्थ्यो। अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त शेर्पा परिवारले ऐतिहासिक कलाको यो विधालाई बृहत् अर्थ र स्वरूप दिएको छ।

आङ छिरिङ (५०) र टुल्कु जम्याङ (४१) दाजुभाइले प्रख्यात थाङ्का कलाकार बाबु उर्गेन दोर्जे शेर्पाबाट सानैमा थाङ्का कला सिके। उर्गेन दोर्जेले छोराहरूलाई कलाको शिल्प मात्र होइन, यसमा निहित आध्यात्म पनि बुझाए। तर, हुर्कंदै जाँदा यी दाजुभाइलाई थाङ्का कलाको घेरा साँघुरो लाग्यो।

व्यक्तिगत अनुभूति र सिर्जनशीलता अभिव्यक्त गर्न थाङ्का विधामा प्रशस्त ठाउँ नदेखेपछि उनीहरूले त्यसलाई बेग्लै तरिकाले प्रस्तुत गर्न थाले । यद्यपि, उनीहरूका कलामा अहिले पनि परम्परागत प्रभाव स्पष्ट रूपमा देखिन्छ।

“मेरो सिर्जना थाङ्का होइन, यसमा आजको समाज र राजनीति बारे मेरो व्यक्तिगत सोच अभिव्यक्त भएको छ  आफ्नो स्थान छाड्नु पर्दाको पीडा सबैतिर छ, चाहे त्यो नेपालका जातीय अल्पसंख्यक या पश्चिमा रैथाने नै किन होऊन्,” आङ छिरिङ भन्छन् । उनको कलामा एक्लोपन र विस्थापन देखिन्छ। मोजा र भित्री बस्त्र लगाएका बौद्ध देवता देखिन्छन्।

काठमाडौंस्थित स्टुडियोमा एकान्तवासमा रहेकाजस्ता देखिने टुल्कु जम्याङ आफ्नो वरपर भइरहेका परिवर्तनलाई भने उत्सुकतापूर्वक नियालिरहेका हुन्छन्। उनको एउटा चित्रमा लालीगुराँसको बुट्टा भएको गाउन लगाएकी एक युवती स्टारबक मग समाइरहेकी छन्। नेपालमा विकासको सुस्त गतिलाई झल्काउने अर्को चित्रमा सात प्रदेशलाई सात वटा भालुले प्रतिनिधित्व गरेका छन्। टुल्कु जम्याङका यी र अन्य चित्रहरू प्रदर्शन र बिक्रीका लागि सिद्धार्थ आर्ट ग्यालरीमा १३ मंसीरसम्म रहनेछन्।

सिन्के धुप सल्काएर कागजमा स-साना प्वाल पार्दै विभिन्न आकृति बनाउने जम्याङको शैली ‘डट मेट्रिक्स’ जस्तो देखिन्छ। उनको यो शैली लियोनार्दो दा भिन्चीको लास्ट सपर, भ्यान गोको स्टररी नाइट र मार्सेल डच्याम्पको यूरिनल सँग मिल्दोजुल्दो छ। जम्याङ भन्छन्, “समाजमा भइरहेको परिवर्तन देखाउन यो पश्चिमी शैलीलाई सटिक ठानेर प्रयोग गरेको हुँ ।”

टुल्कु जम्ल्याङ शेर्पा

बौद्ध भिक्षुका रूपमा ११ वर्ष गुम्बामा बिताएका कारण जम्याङको कलामा गहनता र आध्यात्मिक दृष्टिकोण छ। उनका कलामा बुद्धबारे आफ्नै व्याख्या मात्र समावेश छैन, धुपले प्वाल पालेर आकृति बनाउने प्रक्रिया आफैंमा आध्यात्मिक लाग्छ। यो प्रक्रियामा हुने एउटा मात्रै गल्तीले पूरै पेन्टिङ नै काम नलाग्ने हुन सक्छ। त्यही कारण जम्याङ चित्र बनाउँदा ध्यानस्थजस्तै हुन्छन्। भन्छन्, “म पेन्टिङमा पञ्चतत्व (पृथ्वी, आगो, हावा, पानी र आकाश) को प्रयोग गर्छु। मेरो क्यानभास पृथ्वी हो भने धुप आगो हो। जब म धुप फुक्छु, त्यहाँ हावाको उपयोग हुन्छ र तरल रङले पानीको प्रतिनिधित्व गर्छन्। जब चित्र झुण्ड्याइन्छ, त्यो आकाश तत्व हो।”

आङ छिरिङ स्व-अध्येता हुन् । उनको अमूर्त शैली सहकर्मी कलाकारहरूसँगको अन्तरक्रिया र आधुनिक कलामा उनको आफ्नै खोजबाट विकसित भएको हो। उनका सृजना समकालीन नै देखिए पनि त्यसमा बाबुबाट सिकेको थाङ्का कलाको कतिपय प्रविधि लिएको उनी स्वीकार्छन्।

दुवै दाजुभाइ अहिले थाङ्काबाट टाढै छन्। तर, उनीहरू कला अनुरागी साथै तिब्बती र नेपाली भक्तिकलामा चासो राख्नेहरूबाट प्रशंसित छन्। “सानो छँदा मैले थाङ्का कला सिकिरहेको छु भन्न लाज लाग्थ्यो,” छिरिङ सम्झन्छन्, “त्यसबेला यो काम गर्नेहरूले सम्मान पाउँदैनथे, डाक्टर र इञ्जिनियर बन्नु प्रतिष्ठाको विषय हुन्थ्यो।”

सन् १९९८ मा अमेरिका गएपछि छिरिङले आफ्नो समुदायको परम्परागत पेन्टिङलाई पश्चिमा आँखाबाट हेर्ने मौका पाए  त्यसपछि मात्रै उनलाई यसको महत्व र वैभवबारे थाहा भयो । अति व्यवसायीकरण र दार्शनिक पक्षमा आएको ह्रासले चिन्ता पनि बढायो।

आङ छिरिङ शेर्पा

२० वर्षपछि छिरिङ नेपाल फर्किएका छन्। उनी भन्छन्, “विदेशमा सम्मान पाएको देखेपछि मात्र मैले आफ्नो सम्पदाको मूल्य महशूस गरें। म यो सम्मानको भावना नेपाली कलाकारको अर्को पुस्तामा हस्तान्तरण गर्न चाहन्छु। यदि मेरा बुवाजस्ता निपुण कलाकारका कलाकृतिहरू संग्रहालयमा राख्न सकियो भने त्यसले अर्को पुस्तालाई प्रेरणा दिनेछ।”

छिरिङको कुरामा भाइ जम्याङ पनि सहमत छन्। भन्छन्, “कला बचाउन कलाकार बाँच्नैपर्छ। बाँच्नका लागि आर्थिक पाटो महत्वपूर्ण हुन्छ र थाङ्काका सन्दर्भमा सम्मान पनि उत्तिकै जरुरी छ।”उनीहरूका बुवा उर्गेन दोर्जे (७५) अहिले सिन्धुपाल्चोकको तातोपानीस्थित एक गुम्बाको पुनर्निर्माणमा सक्रिय छन्।

प्रतिकृया दिनुहोस