रिपोर्टबुधवार, मंसिर १२, २०७५

व्यक्ति एक, ठगी अनेक

मुकेश पोखरेल

वार्षिक रु.३० लाखभन्दा बढी आम्दानी दिने १२ बिघामा रहेको माछापोखरी फर्मको साझेदारी हुने प्रस्तावले ललितपुरको सानेपाका महेश लामिछानेलाई आकर्षित गर्‍यो । उनलाई काठमाडौंको टोखा नगरपालिकाका सानु महर्जनले रु.१४ लाख लगानी गरेर उदयपुरको कटारीमा रहेको माछा फर्मको साझेदार बन्‍न प्रस्ताव गरेका थिए ।

लालबहादुर लिम्बू

वार्षिक रु.१० लाख मुनाफा आउने सपना देखेर महेशले साझेदारीका लागि पैसा जम्मा गरे । महेशको भनाइमा २०७० सालको लक्ष्मी पूजाको दिन सानु महर्जन, लालबहादुर लिम्बू र उनकी श्रीमती सुशीला लिम्बू ललितपुरको सानेपास्थित उनको घरमा आए । त्यतिबेलै उनले साझेदारीका लागि लिम्बूलाई रु.५ लाख बुझाए ।

“मलाई सानु महर्जनले लिम्बू माछा फर्मको प्रमुख व्यक्ति भनेर चिनायो,” महेश भन्छन्, “दुईपटक गरी रु.१२ लाख दिएँ, फोटोमा माछापोखरी देखेपछि आकर्षक लाग्यो । तर, वास्तविक माछापोखरी कहिल्यै देख्‍न पाइनँ ।” लिम्बूले माछापोखरी देखाउन आलटाल गरेपछि मात्रै महेशले आफू फसेको मेसो पाए ।

महेश उदाहरण मात्रै हुन् । लालबहादुर लिम्बूबाट ठगिनेहरूको सूची लामो छ । उनले ठग्‍नका लागि अनेक जुक्ति लगाएको पाइन्छ ।

२०७१ सालमा उनी ठगी मुद्दामा प्रहरी हिरासतमा थिए । त्यतिबेला ललितपुरको विशाल चोकस्थित उनको घर लिलामका लागि सिद्धार्थ ब्यांकले सूचना निकाल्यो । दुःख परेको सम्झी चिनजानकै आधारमा राजाराम पोखरेलले उनलाई रु.७ लाख सापटी दिए ।

तर, प्रहरी हिरासतबाट छुटेपछि उनले पोखरेलको पैसा फिर्ता गरेनन् । पोखरेल लालबहादुरविरुद्ध जिल्ला अदालत ललितपुर जानुपर्‍यो । दुई वर्ष मुद्दा चलेर जिल्ला अदालतले पोखरेलकै पक्षमा फैसला गर्‍यो । पोखरेल भन्छन्, “सापटी दिएको पैसा फिर्ता गर्न उल्टै रु.३ लाख खर्च भयो ।”

ठगीका अनेक रूप
पीडितहरूका अनुसार लालबहादुरले आफूलाई कतै माछा कृषक, कतै जग्गा व्यवसायी, कतै सहकारी सञ्चालक त कतै म्यानपावर व्यवसायीका रूपमा चिनाउँथे ।

ज्ञानु बस्‍नेत, लक्ष्मण बस्‍नेत र मोहनबहादुर बस्‍नेतको सगोलमा रहेको ललितपुरको अल्का अस्पताल पछाडिको पाँच आना जग्गा लिम्बूले २०६६ सालमा रु.१ करोड ५० लाखमा खरीद गरे । उनले आफू सञ्‍चालक समिति अध्यक्ष रहेको सुनौलो सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडको मुद्दती खातामा पैसा जम्मा गर्दा १५ प्रतिशतका दरले ब्याज दिने बताएपछि जग्गा बिक्रीबाट प्राप्त रकम सो सहकारीमा जम्मा गर्न ज्ञानु र लक्ष्मण राजी भए ।

१९ फागुन २०६६ मा ज्ञानुले रु.५० लाख र लक्ष्मणले रु.४९ लाख सो सहकारीमा जम्मा गरे । तर, एकवर्षे मुद्दतीमा पैसा जम्मा गरेका उनीहरू समय पुगेपछि लिन जाँदा पैसा पाएनन् । लिम्बूले पैसा नदिएपछि आफूहरू सहकारी डिभिजन कार्यालय ललितपुर, महानगरीय प्रहरी परिसर ललितपुर, जिल्ला अदालतमा पुगे पनि न्याय नपाएको ज्ञानु बस्‍नेत बताउँछिन् ।

५ वैशाख २०५७ मा सहकारी विभागमा दर्ता भएर २८ पुस २०५९ मा कारोबार शुरू गरेको उक्त सहकारीका अध्यक्ष लिम्बूले २०० भन्दा बढी बचतकर्ताको करीब रु.५ करोडभन्दा बढी ठगी गरेको सहकारीकै पूर्वकर्मचारी देवराज धिताल बताउँछन् । आफ्नो र केही आफन्तको गरी साढे पाँच लाख रुपैयाँ सहकारीमा डुबेको धितालको भनाइ छ ।

समस्याग्रस्त सहकारी संस्थाहरूको छानबिन गर्न गठित जाँचबुझ आयोग-२०७० ले पनि समस्याग्रस्त घोषणा गरेको उक्त सहकारी अहिले बन्द छ ।

सो सहकारीबाट पीडित १८ जनाले रकम फिर्ता पाउन र लिम्बूलाई कारबाहीको माग गर्दै २० पुस २०७३ मा सहकारी डिभिजन कार्यालय, ललितपुरमा निवेदन दिएका थिए । निवेदनमा ‘लिम्बूले ललितपुरको विशालचोकस्थित घर बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्ने बताएको र २० मंसीर २०७२ मा रु.४ करोड २५ लाखमा घर बिक्री गरे पनि रकम फिर्ता नगरेको’ उल्लेख छ ।

कमजोर कानूनी प्रक्रियाको आडमा थुप्रै व्यक्तिलाई ठगी गरेका लालबहादुर लिम्बू कारबाहीको दायरामा आएका छैनन्।

लिम्बूलाई जिल्ला अदालत ललितपुरले १७ कात्तिक २०७१ मा सहकारीमा निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा ५० लाख बिगोसहित तीन वर्ष ६ महीना कैद हुने फैसला गरेको थियो ।

लिम्बूको ठगी धन्दा हङकङ आईडीका नाममा पनि चल्थ्यो । आफन्तहरू हङकङमा भएकाले मोरङकी विमला श्रेष्‍ठलाई पनि हङकङ जाने चाहना थियो । कसैले उनलाई सुनायो, लिम्बूले हङकङ पठाउँछन् ।

उनी आफ्नो दाइ अमर श्रेष्‍ठमार्फत लालबहादुरको सम्पर्कमा पुगिन् । लिम्बूले हङकङको आईडी देखाए, रु.२० लाखमा कुरा मिल्यो । रु.१२ लाख अग्रिम भुक्तानी गर्ने र बाँकी रकम उडानको तय भएपछि दिने सहमतिअनुसार विमला र अमरले पहिलो किस्ताको रकम लिम्बूलाई बुझाए । अमर भन्छन्, “उसको काम नै हङकङ आईडी देखाउने र मान्छे ठग्‍ने रहेछ, हामीलाई जस्तै आईडी देखाएर हङकङ पठाइदिन्छु भन्दै २० जनालाई ठगेको रहेछ ।”

उजुरी र मुद्दा
डिभिजन सहकारी कार्यालय, सहकारी विभाग, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत ललितपुर र ललितपुर महानगरीय प्रहरी परिसरमा लालबहादुरविरुद्ध उजुरी परेका छन् । उजुरी गर्नेमा सहकारी पीडित, लिम्बूमार्फत विदेश जान चाहनेहरू, घर किन्‍न रकम बैना गरेकाहरू समेत छन् ।

विशालचोकस्थित लिम्बूको नाममा रहेको कित्ता नम्बर ८६७ को १० आनामा निर्मित घर र कित्ता नम्बर ८६६ को २ आना जग्गा सरस्वती महतले रु.४ करोड २५ लाखमा खरीद गरी २० मंसीर २०७२ मा आफ्नो नाममा पास गरिन् । २८ भदौ २०७२ मा घरबैना गरिएको सम्झौतामा हक हस्तान्तरण भएको दुई महीनाभित्र घर खाली गर्ने सम्झौता भएको थियो ।

तर, लिम्बूले सम्झौताअनुसार घर खाली गरेनन् । घर खाली गर्न माग गर्दै सरस्वतीले जिल्ला प्रशासन कार्यालय ललितपुर र ललितपुर महानगरपालिकामा निवेदन दिएपछि लिम्बूले अर्को प्रपञ्‍च रचे । सरस्वतीले खरीद गरेको जग्गा आफ्ना दाजुहरू नन्दराज लिम्बू, धर्मसिंह लिम्बू र आमा सुकदेव लिम्बूको नाममा रहेको र अंशबण्डा हुनुपर्ने भन्दै लालबहादुर र उनकी श्रीमती सुशीलाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा पर्‍यो, जुन अहिले विचाराधीन छ । हिमाललाई प्राप्त उनका मोबाइल नम्बरमा पटक-पटक प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन ।

लिम्बूको सहकारीबाट पीडितमध्येका लक्ष्मण र ज्ञानुले लिम्बूलाई विपक्षी बनाएर जिल्ला अदालतमा दायर गरेको मुद्दामा पीडितको पक्षमा फैसला भए पनि २३ पुस २०७४ मा उच्च अदालत पाटनले लिम्बूकै पक्षमा फैसला गर्‍यो । ज्ञानु भन्छिन्, “सीधासाधा नागरिकले न्याय नपाइँदो रहेछ, न्याय तथ्य र प्रमाणका आधारमा भन्दा किनेर पाइँदो रहेछ ।”

पूर्वसहकारी मन्त्री चित्रबहादुर केसी सहकारी ऐनमा भएको कमजोर प्रावधानका कारण धेरै सर्वसाधारण पीडित बनेको बताउँछन् । उनी भन्छन्, “बदमासी गर्नेलाई दण्ड-सजायको व्यवस्था कमजोर हुँदा पीडित बन्‍ने धेरै छन् ।”

प्रतिकृया दिनुहोस