दस्तावेजमंगलवार, मंसिर ११, २०७५

बुझ्नै नसकिने दरबारको चिठी

भैरव रिसाल

दरबार भनेपछि के के हुने के के! लोकोक्ति नै छ ‘जाने दरबार नजाने तरबार।’ दरबारको भाषाशैली नै अर्कै हुनेरहेछ। दरबार पसेका, दरबार बसेका, दरबार खाएकाहरूसँग कुरा गर्दा मनपेट नै नपाइने। उनीहरूले के भनेका हुन्, के भन्न खोजिएको हो- सर्वसाधारण र दरबारको संगत नगरेकाहरूका लागि बुझ्नै गाह्रो । यस्तै एउटा प्रसंग छ, लोकदर्शन बज्राचार्यको राजदरबारबाट जागिर खोसिँदाको।

लोकदर्शनको घर असन-इन्द्रचोकको बीच, मच्छिन्द्र बहालभन्दा उत्तरपूर्व । बिहान उनी दरबार (अफिस) जान भनी लुगा लगाउँदै रहेछन्। उनको घरमुनि घोडामा नारायणहिटी राजदरबारबाट एक सिपाही आएर बडो अदब साथ चिठी दिएछन्। र, सलाम गरेर चिठी दिएका ती सिपाही सलामै गरी फर्किएछन्। पत्रमा ‘अत्यन्त गोप्य, सम्बोधित व्यक्तिले मात्र खोल्ने’ भन्ने छाप पनि लागेको रहेछ।

जागिर खोसिएकै हो त ?
लोकदर्शन निकै टाठा, कुरा बुझ्न खप्पिस। दरबारबाट घोडा चढेर सिपाही आउनु, चिठी ल्याउनु, त्यो पनि दरबारै जान लागेका बेलामा। यो राम्रो लक्षण होइन भन्ने उनले बुझिहाले। उनी आफ्नो कोठामा गएर ढोकामा आग्लो हालेछन् र थर्थर हात कमाउँदै चिठी खोलेछन्। पत्रमा स्पष्ट लेखेको रहेछ- “अर्को हुकुम नभएसम्म दरबार हाजिर हुनुपर्दैन।” एउटा छोटो वाक्यमा रहेछ, त्यो चिठी।

छोटो वाक्य छ, “अर्को हुकुम नभएसम्म दरबार हाजिर हुनुपर्दैन।” के अर्थ लगाउने? जागिर खोसिएकै हो कि, अलि समयलाई मात्र दरबार हाजिर हुनु नपर्ने हो? वा, जागिर कायमै छ?

आफूमाथि बज्र परेझैं भयो उनलाई। चिठी खोल्दा हात मात्र कामेको थियो, पढेपछि सम्पूर्ण जीउ नै काम्न थालेछ। ढोकाको आग्लो खोली कोट लगाएरै डङ्ग्रङ्ग पल्टिएछन् ओछ्यानमा। उनलाई रिङ्गटा पनि लागेछ रे!

प्रलय नै भो उनको संसारमा। दरबारमा राजा महेन्द्रको मन परेको सचिव । फेद काटिएको रूखझैं ढले रे उनी पलङमा! त्यो एक वाक्यले मान्छेको जिन्दगीमा कत्रो परिणाम ल्याउने! पत्रमा उल्लिखित वाक्य पढ्दा के अर्थ लगाउने? जागिर खोसिएकै हो कि, अलि समयलाई मात्र दरबार हाजिर हुनु नपर्ने हो? वा, जागिर कायमै छ?

दरबारको भाषा
वाक्यभित्र छ ‘अर्को हुकुम नभएसम्म।’ अर्को हुकुम हुने कि नहुने? भए कहिले हुने? पेट बोलीमा यति धेरै रहस्य लुकेको! सोझै जागिर खोसिएकै हो भन्न पनि नमिल्ने, होइन भन्न पनि नमिल्ने।

पत्र पाएपछि उनी दरबार जाने प्रश्नै आएन, उनका लागि ढोका बन्द भै गो! त्यसअघि आफू सचिव छँदा कति जनाको जागिर खोसिंदा उनैले मस्यौदा गरे होलान्, यस्ता चिठीको। आफूले मस्यौदा गरेका चिठीले के सन्देश दिन्छ भन्ने उनी पूरा बुझ्थे। उनी भन्ने गर्थे, “राजा त्रिभुवन र महेन्द्रले पनि मलाई मन पराउँछन्।” दुवै राजाले लोकदर्शन नभनेर ‘दर्शन’ मात्रै भन्ने गर्थे रे! पाँच अक्षरको नाममध्ये शुरूको दुई अक्षर उच्चारण नगरी ‘दर्शन’ मात्र सम्बोधन गरिनु आत्मीयताको माथिल्लो सूचक रे!

भावुक भएर उनले मलाई भनेका थिए, “म राजपरिवारको त्यति प्यारो थिएँ भन्ने लाग्थ्यो।” उनका दाजु दरबारका वैद्य थिए, आयुर्वेद विधाका। बाबुबाजेको पालादेखिकै हो कि यो उनको वैदाङ्गी पेशा, थाहा भएन। उनको दाजुकहाँ औषधि किन्न म पनि जान्थें।

त्यो विश्वास
राणाशासनको विरोध गर्दै राजा त्रिभुवन सपरिवार (माहिलो नाति ज्ञानेन्द्रबाहेक) नेपालको राजगद्दी छोडी दिल्ली गएका बेलादेखि राजपरिवारसँग आफ्नो बाक्लो सम्बन्ध रहेको लोकदर्शनले मलाई पनि बताएका थिए। त्यतिबेला उनी भारतको दिल्लीमा पढ्दै थिए। प्रजातन्त्रका लागि राजसिंहासन नै छाडेर आएको राजपरिवारप्रति उनको सहयोगको भावना जागृत हुनु अस्वाभाविक थिएन।

त्यसमाथि आफ्नो सहोदर दाजु स्वयं राजदरबारको वैद्य। यस्तो यथार्थमा उनको राजपरिवारतिर र दरबारको उनीतिर आकर्षण बढ्नु स्वाभाविकै थियो।

दिल्लीमा भारत सरकारबाट प्राप्त हुने सूचनाबाहेक जनस्तर, कूटनीतिक दुनियाँका टीका-टिप्पणी र अन्य गतिविधिको सूचनाका लागि लोकदर्शन राजपरिवारको विश्वसनीय सूत्र भए। यही सम्बन्धले अन्ततोगत्वा लोकदर्शन दरबार पसे। नेपालको संविधान तयार पार्ने सन्दर्भमा राजा महेन्द्रले उनलाई युरोपका निकै वटा राज्यका संविधान अध्ययन गर्न दिएका थिए रे! पछि खै के खटपट भो! उनै महेन्द्रले लोकदर्शनलाई जागिरबाट निकालिदिए।

प्रतिकृया दिनुहोस