मापसेका कारण प्रहरी र स्थानीयवासी झडप
मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई जाँच गर्ने क्रममा मोरङ कटहरी-१ मा १० मंसिर राति तीन व्यक्तिलाई पक्राउ गरिएको विरोधमा स्थानीय बासिन्दाले ११ मंसिरमा विराटनगरमा प्रदर्शन गरेका छन् ।
मापसे जाँचको विरोध गर्ने स्थानीय युवा र प्रहरीबीच राति झडप भएको थियो । जिल्ला प्रहरीबाट गएको भ्यानको शिशा स्थानीय बासिन्दाले फुटाएपछि प्रहरीले सबदनारायण चौधरी, अनन्तराम चौधरी र जोगनारायण चौधरीलाई पक्राउ गरेको छ ।
उनीहरूलाई छाड्न दबाब दिँदै स्थानीय बासिन्दाले जिल्ला प्रहरी र जिल्ला प्रशासनमा प्रदर्शन गरे । त्यस क्रममा प्रहरीको लाठी लागेर वडा सदस्य गंगा रायको टाउको र प्रहरीको मुक्का लागेर वडा अध्यक्ष कपुरलाल माझीको गालामा सामान्य चोट लागेको छ ।
पक्राउ परेका सबदनारायण प्रहरीकै हवल्दार हुन् । स्थानीयवासी भएकाले उनले प्रहरीको जाँचमा अवरोध पुर्याएको मोरङ प्रहरीले जनाएको छ । तीनै जनालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ ।