छत्तिसगढमा ११ माओवादी र दुई प्रहरी मारिए
इन्डियन एक्स्प्रेस
भारतको छत्तिसगढमा भएको भिडन्तमा ११ माओवादी र दुई प्रहरी मारिएका छन्।
डिस्ट्रिक्ट रिजर्भ गार्ड, स्पेसल टास्क फोर्स, छत्तिसगढ प्रहरी, सीआरपीएफ र कोब्रा फोर्स र तेलंगना प्रहरीले सशस्त्र विद्रोहमा संलग्न माओवादीविरुद्ध संयुक्त अपरेसन सञ्चालन गरिरहेका छन्। अपरेसनको नाम ‘प्रहार-४’ दिइएको छ।
अपरेसन सञ्चालन गरिएको इलाकामा माओवादीको नम्बर १ बटालियनको गतिविधि रहेको सुरक्षा निकायहरूको भनाइ छ। सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच सुकमाको सकलर जंगल क्षेत्रमा दोहोरो फायरिङ भएको थियो।
‘एन्टी-नक्सल अपरेसन’का विशेष महानिर्देशक डीएम अवस्थीका अनुसार सकलर, टोन्डामार्का र सलेटोङ गाउँ आसपासको इलाकामा संयुक्त अपरेसन चलाइएको हो। उनका अनुसार मारिएकामध्ये दुई माओवादी नेतामाथि सरकारले ८ लाखको पुरस्कार घोषणा गरेको थियो।