सटर भाडामा ‘सलामी प्रथा’
चितवनको नारायणगढ बजार क्षेत्रमा खाली सटर भाडामा लिने व्यवसायीले ‘सलामी’वापत ठूलो रकम तिर्नुपर्ने बाध्यता कायमै छ।
घरधनीले खाली सटर दिँदा मात्रै होइन, एक व्यवसायीले व्यापार छोडेर अर्कोलार्इ ठाउँ खाली गरिदिँदासमेत 'गुडविल'को नाममा ठूलो सलामी रकम लिने गरेका छन्। घरबहाल उपभोक्ता मञ्च चितवनका सल्लाहकार विष्णु कँडेलका अनुसार एक व्यवसायीले खाली सटर अर्कोलाई दिँदा रु ६० लाखसम्म लिने गरिएको छ। यसरी ठाउँ दिँदा घरधनीको समेत मिलेमतो हुने गरेको उनले बताए।
नारायणगढका मिलनरोड, लायन्सचोकदेखि पुल्चोकसम्मको मुख्य सडक क्षेत्रलगायत प्रमुख व्यापारिक थलोमा यस्तो प्रथा जारी रहेको कँडेलले बताए।
एक सुन व्यवसायीले भने, “व्यापारमा लगानी गर्नुपर्ने रकमभन्दा सलामी रकम धेरै भयो।” मुख्य शहरी क्षेत्रमा एउटा सटरको मासिक भाडा रु ८० हजारसम्म पर्ने गरेको सञ्जु एयरकण्डिसनका सञ्चालकसमेत रहेका कँडेलले जानकारी दिए।
घरधनीले नयाँ ठाउँ दिँदा रु २० लाखसम्म सलामी रकम लिने गरेको मञ्चका पूर्वअध्यक्ष प्रभात ढुंगानाले बताए। पछिल्ला वर्षमा सलामी रकमलाई धरौटीका नाममा लिने गरेको उनको भनाइ छ। यसबाट नयाँ व्यवसाय गर्न चाहनेहरू मर्कामा पर्ने गरेको उनले बताए।
यस्तो विकृति अन्त्य गर्नुपर्ने मञ्चका अध्यक्ष पवित्रा जोशीले बताइन्। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले आधिकारिक रूपमा यस्ता विषय सार्वजनिक हुन नसकेको बताए। "पैसा दिने र लिने दुवै दोषी हुन्," उनले भने। यस्ता व्यवसायीले सलामी रकम, बहालकर राजश्वमा देखाउँदैनन्। रासस