मंगल ग्रहमा पुग्यो नासाको यान (भिडियो)
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान ‘इन्साइट ल्याण्डर’ नेपाली समयअनुसार मंगलबार राति करिब सवा १ बजे मंगल ग्रहमा अवतरण भएको छ।
मंगल ग्रहको अध्ययनका लागि पठाइएको रोबोट यानले ७ मिनटको अत्यन्त चुनौतिपूर्ण समय पार गरेर अवतरण गरेको हो। मंगल ग्रहमा अवतरणको ७ मिनटलाई असाध्यै चुनौतिपूर्ण मानिएको थियो।
यो यानको मुख्य लक्ष्य मंगल ग्रहको जमिन तथा अन्तरिक्ष भागको अध्ययन गर्नु हो। नासाले पृथ्वीबाहेक गहिरो तरिकाले अनुसन्धान गरिरहेको मंगल मात्र एक ग्रह हो।
अवतरणको असाध्यै तनावपूर्ण मानिएको अवधिमा यानले त्यससम्बन्धी सन्देश पृथ्वीमा पठाइरहेको थियो। यान सुरक्षित अवतरण भएपछि क्यालिफोर्नियास्थित नासाको नियन्त्रण कक्षमा खुशीयाली मनाइएको थियो।
उक्त यान मंगल ग्रहको ‘एलिसियम प्लानिशिया’ नाम दिइएको मैदानमा ओर्लिएको थियो, जो यो ग्रहको भूमध्यरेखाको नजिक पर्छ।
यानले पूर्ण रूपमा काम गर्ने तथा अवतरण भएको स्थान आसपासको तस्वीर पठाउने प्रतीक्षामा वैज्ञानिकहरू छन्। सबै जानकारी पाउन केही घण्टामै सम्भव हुने वैज्ञानिकहरूको आशा छ।
उक्त यानले मंगल ग्रहको बारेमा अर्बौं साल पूरानो रहस्यको पोको फुकाउने सम्भावना छ। अभियानको दौरान यानले मंगल ग्रहमा एक ‘साइञ्जोमिटर’ राख्नेछ, जसले मंगल ग्रहको भूकम्पलगायत आन्तरिक हलचल रेकर्ड गर्नेछ।
यानका साथमा मंगल ग्रहमा पठाइएको एक उपकरणले सतहबाट पाँच मिटरसम्म तल गएर तापमान पत्ता लगाउनेछ। यसबाट मंगल ग्रहको सक्रियताको जानकारी मिल्नेछ।
यानमा राखिएको रेडियो ट्रान्समिटरले यो ग्रह आफ्नो कक्षमा कसरी घुम्छ भन्ने जानकारी दिनेछ। यसबाट मंगल ग्रहको भित्र कस्ता पदार्थ छन् भन्नेलगायत जानकारी पाइने आशा रहेको अभियानमा संलग्न वैज्ञानिक सुजैन स्म्रेकरले बताइन्।
बीबीसीबाट
हेर्नूस् भिडियो