मंगल ग्रह नजिक पुग्यो नासाको यान
नासाका वरिष्ठ वैज्ञानिकहरू करिब एक अर्ब अमेरिकी डलरको 'मार्स इन्साइट' यान मंगल ग्रहमा अवतरण गर्ने कुराबाट उत्साहित छन्।
मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रूपमा परिचित मंगलको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो र पृथ्वीको जस्तै अरू उपग्रह कसरी चट्टानी स्वरूपमा बने भन्ने थाहा पाउनु हो।
मानवरहीत यो अन्तरिक्ष यान ७ महिनाअघि प्रक्षेपण गरिएको थियो। पृथ्वीको सबैभन्दा नजिकको यो ग्रहमा पदार्पण गर्ने नासाको यो पहिलो प्रयास सफल हुनेमा वैज्ञानिकहरू आशावादी छन्। सन् २०१२ मा क्युरिओसिटी रोभर बनेपछि वैज्ञानिकमा नयाँ आशा पलाएको हो।
यसअघि मंगल ग्रहमा पुग्न ४३ भन्दा बढी पटक प्रयास गरिएको थियो। विश्वका अन्य मुलुकबाट गरिएका प्रयाससमेत असफल भएका थिए।
नासाले तयार गरेको नयाँ रोभरले मात्र पछिल्लो सफलता हासिल गर्न लागेको हो। यो अभियानले सन् २०३० को दशकमा मानवलाई मंगल ग्रहमा पठाउने मार्गप्रशस्त गर्ने नासाका वैज्ञानिकहरूको अपेक्षा छ।
नासाका प्रबन्धक थोमस जुर्बुचेनले आफूहरूले मंगल ग्रहको यात्रालाई सामान्य रूपमा कहिल्यै नलिएको बताउँदै यो साँच्चिकै कठिन यात्रा भएको बताए। मंगलको कक्षमा प्रवेश गर्ने, ओर्लन थाल्ने र अवतरण गर्ने सम्पूर्ण नियन्त्रण क्यालिफोर्नियास्थित पासाडेनाको जेट प्रपोल्सन ल्याबोरेटरीबाट हुनेछ।
बन्दुकको गोलीभन्दा तीव्र गति अर्थात् १९ हजार ८०० किलोमिटर प्रतिघण्टाको वेगमा रहने यो यानलाई मंगल ग्रहको वातावरण छिचोल्न निकै कठिन हुने वैज्ञानिकहरूको अनुमान छ। वायुमण्डलसँगको घर्षणका कारण यानको बाहिरी तापमान करिब एक हजार ५०० डिग्री सेल्सियस पुग्नेछ र रेडियो संकेतसमेत केही समय अवरुद्ध हुनेछ।
मंगल ग्रहमा यान अवतरण गर्नासाथ बाहिरी तापमान अवरोधक हट्नेछ, यानको तीन वटा खुट्टा देखिनेछ र प्यारासुट निस्किन्छ।
भुईंतिर तीव्र गतिमा रहने यो यान जमिनको सतहमा पुग्ने बेलामा गति नियन्त्रणमा आउनेछ। करिब ३६५ किलोको यो यानको गति सतहमा पुग्दा ८ किलोमिटर प्रतिघण्टा हुनेछ। रासस/एएफपी