शहीद स्मारक ‘ए’ डिभिजन लिग–आर्मीले सङ्कटालाई हरायो
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १० मंसिरदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले सङ्कटालाई ५–१ को फराकिलो अन्तरले पाखा लगाउँदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो। जितसँगै आर्मी अङ्क तालिकामा १० अङ्क जोड्दै लिगको शीर्ष स्थानमा उक्लेको छ। आर्मीले यसअघि खेलेका तीन खेलमा दुईमा जित र एकमा बराबरीको नतिजा ल्याएको थियो।
लिगमा सङ्कटाको यो पहिलो हार हो। सङ्कटाले यसअघि खेलेका तीन खेलमा लगातार जित हासिल गरेको थियो। सङ्कटाको ९ अङ्क छ।
खेलको मध्यान्तरसम्म २-१ ले अगाडि रहेको आर्मीले खेलको मध्यान्तरपछि तीन गोल थप्यो। खेलमा पहिलो अग्रता भने सङ्कटाले लिएको थियो। नवौं मिनटमा सङ्कटाका विदेशी खेलाडी एलोन म्याक्सवेलले गोल गरेका थिए।
सङ्कटाको १-० को अग्रता लामो समयसम्म टिक्न सकेन। मध्यान्तरअघि १७औं मिनटमा आर्मीका खेलाडी टेकबहादुर बुढाथोकीले एक गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। २९औं मिनटमा आर्मीका कप्तान भरत खवासले एक गोल गरे।
६३ औं मिनटमा आर्मीका सन्तोष तामाङले फ्रिकिकमा गोल गरे भने सन्तोषले गोल गरेको दुई मिनट पनि बित्न नपाउँदै आर्मीका टेकबहादुरले अर्को गोल गरे। ७५ औं मिनटमा आर्मीका दिनेश हेन्जनले थप एक गोल गरेपछि आर्मीले सङ्कटामाथि सहजै ५-१ को जित निकाल्यो। रासस