टिप्पणीमंगलवार, मंसिर ११, २०७५

लोक–जीवनमा रैथाने सीप

चन्द्रकिशोर

समयक्रममा हराउँदै गएका परम्परागत बाजा, वस्तु र सीपलाई धार्मिक अनुष्ठान र पर्वहरूले जीवित राखेका छन्।

तस्वीरः चन्द्रकिशोर

आधुनिक वस्तु र प्रविधिप्रतिको आकर्षण बढ्दै जाँदा स्वाभाविक रूपमा लोक प्रचलन र पुराना सीप छायाँमा पर्दै जान्छन् । अन्यत्र जस्तै तराई–देहातमा पनि त्यस्ता परम्परागत वस्तु र सीपको प्रयोग तथा व्यवहार समयक्रममा कम हुँदै गए, कतिपय त हराए । तर, तिनको महत्ता पर्व र अनुष्ठानहरूमा अझ्ै पनि विशेष रूपमा देखिन्छ ।

बाजाकै कुरा गर्दा ‘खुरदक’ पुरानो ढोल बाजा हो, जुन सहनाईसँगै बजाइन्छ । खुरदक बजाउनेलाई ‘खुरदकिया’ भनिन्छ । त्यसैगरी खुरदकसँगै अर्को बाजा ‘रसनचौकी’ पनि बजाइन्छ । यी पारम्परिक बाजा धार्मिक र सांस्कृतिक अनुष्ठानहरूमा बजाउने गरिन्छ ।

हिजोका दिनमा यी लोक बाजा बजाउने कलाकारहरूले उचित सामाजिक सम्मान र पारिश्रमिक पाउन नसक्दा बिस्तारै अन्य पेशातिर पलायन भए । तर, पछिल्ला वर्षहरूमा यी बाजाहरूप्रतिको आकर्षण फेरि बढेको छ । अनुष्ठानहरूका बेला कतैबाट खोजेर भए पनि यी बाजा बजाउनुपर्छ भन्ने बुझाइ बढ्दो छ ।

रौतहटको मत्सरी गाउँपालिकाका अरविन्द चौधरी आफ्नो अनुभव सुनाउँछन्, “शुभकार्यका बेला लोक बाजाहरू बज्दा त्यसको रौनक नै फरक हुन्छ, जुन आधुनिक बाजाले दिन सक्दैन । तर, रौतहटभरिमै दुई–तीन ठाउँमा बाहेक खुरदकिया भेटिंदैनन् ।” लोप हुँदै गएको लोक बाजाको महत्व बुझ्ने क्रमले स्थानीयको सांस्कृतिक सचेतता समेत झलकाउँछ । यही सचेतताका कारण कतिपय ठाउँमा लोक बाजाको संरक्षण गर्न थालिएको छ ।

खासगरी पर्व र अनुष्ठानहरू रैथाने सीपको उपयोग हुने अवसर हो । परम्परा अनुसार दशहरा, छठ, फागु जस्ता पर्वहरूमा रैथाने सीपलाई नै प्राथमिकता दिइन्छ । अहिले बजारले धेरै कुरामा परिवर्तन ल्याए पनि रैथाने सीपलाई पूर्णतः उपेक्षा गर्न सकिएको छैन । जब रैथाने सीपको प्रयोग गरिन्छ, त्यो सीप जान्ने व्यक्ति, त्यसको बजार र महत्वको खोजी शुरू भइहाल्छ ।

देखिने परिवर्तनको कुरा गर्दा झिलिमिली बत्तीका लागि चिनियाँ विद्युतीय सामग्रीले बजार र आकर्षण फैलाउँदै लगेको छ । तर पनि माटोको दियोको खोजी कम भएको छैन । अरू बेला अन्य काममा व्यस्त हुनेहरू पनि पर्व लक्षित व्यवसाय गर्दै दियो बनाउँछन् । छठको बेला माटोका हात्ती, गाग्रो र ढकना तथा बाँसका सुपा, डगरी, सुपली, छैटी बनाइन्छ ।

माटो र बाँसबाट निर्मित सामग्रीहरू दीपावली र छठका अनिवार्य वस्तु हुन् । पहिला खास जाति र समूहका मानिसले मात्रै बनाउने यस्ता वस्तुको बढ्दो मागसँगै अन्य वर्गले पनि बनाउन थालेका छन् । माटोका दियो अन्य अनुष्ठानका लागि बाह्रै महीना खोजी हुन थालेकोले सोही अनुसार हाटबजारमा यो उपलब्ध हुन थालेको छ ।

सचेतनाले पनि रैथाने वस्तु र सीपतर्फ फर्कने वातावरण बनाएको छ । बजारमा पाइने केरामा रसायन प्रयोग गरिएको बुझइ आम रूपमा बढेपछि केरा पकाउन सकेसम्म घरेलु विधि प्रयोग गर्नेहरू बढेका छन् । रसायनमुक्त बनाउने माहोल बढे पनि केरा पकाउने घरेलु विधिबारे आजको पुस्ता परिचित छैन । यो त्यति सजिलो नभएकाले केरा धुक्ने (केरा पकाउने रैथाने काइदाका जानिफकार) हरूको सामाजिक भाउ बढी हुने रौतहट करकचका ज्योतनारायण झा बताउँछन् ।

केरा पकाउने घरेलु तरिका अन्तर्गत पहिला जमीनमा खाल्डो खनिन्छ र चारैतिर पराल ओछ्याइन्छ । त्यहाँ केरा राखेर माथिबाट जुटको बोराले छोपेपछि माटोले पुरिन्छ । तर, माटोले पुर्ने बेला माटोको गाग्रोमा भुस भरेर त्यसलाई उल्टो पारी मुख छिर्ने गरी पुरिन्छ, जसको पिंधतिर सानो प्वाल बनाइएको हुन्छ ।

त्यही प्वालमा आगो हालेर फुक्दा भुसको धुवाँ जमीनमुनिको केरासम्म पुग्छ । भुस सल्किसकेपछि धुवाँ बाहिर निस्किन नदिन गोबरको डल्लोले छोपिन्छ । दैनिक दुई पटक बिहान–बेलुका फुक्दा तेस्रो दिन केरा पाक्छ ।

केही पर्वहरूमा पारम्परिक प्रसाद सामग्री अनिवार्य बनाउनैपर्छ । ती बनाउने काइदा पुरानो पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको छ । खासगरी पर्व र त्योहारबारे नयाँ पुस्ताले जानकारहरूसँग सोधखोज गर्ने र आफूले पनि सिक्ने मौका हो ।

यसरी हेर्दा हाम्रा पर्वहरू रैथाने सीपको सांस्कृतिक विकास यात्रा पनि हुन् । यी पर्वहरूको स्वरूप जतिसुकै बदलिए पनि रैथाने सीपसँग जोडिएका सामग्रीहरूको अनिवार्यताले मौलिक पक्षहरू जीवितै छन् ।

यी रैथाने सीपको विकास कसरी भयो होला ? यसबारे ठ्याक्कै भन्न नसकिए पनि कृषि संस्कृतिसँग जोडिएका यी पर्व र त्योहारहरूमा रैथाने सीपको चलन पुरानै रहेको अनुमान गर्न सकिन्छ ।

यी पर्वहरू लोक–जीवनमा रहेसम्म परम्परागत सीपहरूको सम्मान कम हुने छैन । बरु, यस्ता सीप भएकाहरूको महत्व कायम राख्न बदलिएको समय अनुसार उनीहरूलाई उचित मूल्य दिन हच्किनु पर्दैन ।

प्रतिकृया दिनुहोस