तेक्वान्दोका दुवै संघ विघटनको तयारी
लामो समयदेखिको विवाद नसुल्झिएपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेक्वान्दोका दुवै संघलाई विघटनको तयारी गरेको छ ।
नेपाल तेक्वान्दो संघ र नेपाल तेक्वान्दो युनियनको विघटन प्रक्रिया अगाडि बढेको हो । खेलाडी छनोटदेखि अन्तर्राष्ट्रिय सहभागितासम्म दुई संघबीच विवाद आएपछि २७ कात्तिकमा परिषद्ले विवाद सल्टाउन सातदिने पत्र काटेको थियो । पत्रमा राखेपले समान हैसियत र अस्तित्वमा रहेका दुवै संघलाई मिलेर जान अल्टिमेटम दिएको उल्लेख छ ।
पत्रमा दुवै संघ मिल्न नसकेको अवस्थामा माघमा आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकूदको जिल्ला, प्रदेश र केन्द्रीय छनोट प्रभावित हुने उल्लेख छ ।
आठौं राष्ट्रिय खेलकूद २२ माघदेखि आयोजना हुँदैछ। राखेपको ११०औं बोर्ड बैठकले दुवै संघलाई आपसी छलफल गरी विवाद समाधान गर्ने निर्णय लिएको थियो। सोही निर्णय कार्यान्वयन गर्न राखेपले पत्राचार गरेको हो ।
अहिले विश्व तेक्वान्दो महासंघले सम्बन्धन दिएको प्रकाशशम्शेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघ र शिव कोइराला नेतृत्वको नेपाल तेक्वान्दो युनियन अस्तित्वमा छन् ।
“उहाँहरूबीच जुँगाको लडाइँ चलिरहँदा परिषद् चुप लागेर बस्दैन । हामी कठोर निर्णय लिन बाध्य हुन्छौ," राखेप सदस्य सचिव केशवकुमार विष्टले भने, "अझै पनि दुई संघका पदाधिकारीबीच छलफल होस् भन्ने चाहन्छौं ।”
सहमतिका लागि दुई महीना समय दिन सकिने उनको भनाइ छ । “त्यसपछि पनि उहाँहरूले केही निकास दिनुभएन भने हामी दुवै संघ विघटन गर्छौं। परिषद्लाई विघटनको अधिकार छ,” सदस्य सचिव विष्टले भने।
कोइराला अध्यक्ष रहेको संघले विवाद सल्टाउन पाँच सदस्यीय वार्ता टोली गठन गर्दा राणा पक्षले भने परिषद्को पत्रका सम्बन्धमा केही प्रतिक्रिया दिएको छैन। नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलले राजनीतिक भ्रातृसंस्थासँग एकता नहुने बताए।
“२०३८ सालदेखि खेल र खेलाडीको विकासमा लागेको हामीलाई राजनीतिक रूपमा अर्को संस्था जन्मार्इ विवादमा ल्याउन खोजियो, विघटन गरे अदालत जान्छौं," उनले भने। राखेपको पत्रपछि दुई चरणमा युनियनसँग वार्ता गरे पनि समाधान ननिस्केको उनको भनाइ छ ।
नेपाल तेक्वान्दो युनियनका अध्यक्ष कोइरालाले दुई संघ हुनु नौलो कुरा नभएको बताए। संघको एकाधिकार तोड्न आफूहरूले युनियनलाई अस्तित्वमा ल्याएको उनी बताउँछन्। “राखेपले पत्र पठाएको छ, राखेपकै पत्रको सम्मान गर्दै हामीले पाँच सदस्यीय वार्ता टोली गठन गरेका छौं, राखेपको निर्देशन स्वीकार्नुको विकल्प छैन,” उनले भने। रासस