‘प्राइम टाइम्स टी-ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज’ हुने
नेपाल, भारत र श्रीलंकाबीच ‘प्राइम टाइम्स टी-ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज-२०१९’ आयोजना हुने भएको छ।
आयोजक महाकाली स्पोर्ट्स सोसाइटीका अनुसार १-१० माघमा काठमाडौंमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। नेपाली क्रिकेटको विकास तथा त्रि-देशीय सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सोसाइटीका अध्यक्ष सुमन भट्टले बताए। कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ।
नेपाल क्रिकेट संघ निलम्बित रहेको अवस्थामा खेलाडीको मनोबल खस्किन नदिन यस्ता प्रतियोगिता सहयोगी बन्ने भट्टको भनाइ छ। प्रतियोगितामा नेपाल राइनोजको नेतृत्व मञ्जीत श्रेष्ठले गर्नेछन् भने प्रशिक्षक मनोज कटुवाल रहनेछन्। नेपाली टोलीमा उत्कृष्ट ४० खेलाडीमध्येबाट छनोट गरिने आयोजकले जनाएको छ, जसमा १४ खेलाडी रहनेछन्। र, ४ जना वैकल्पिक खेलाडी हुनेछन्।
दिनेश कुमारको कप्तानीमा भारतीय टिमले भाग लिनेछ। श्रीलंकाको तर्फबाट सानुख धनञ्जयको कप्तानी रहनेछ।
श्रीलंकाको कन्दुकार र भारतको सीडब्लुटी क्लबले भाग लिनेछन्। करीब रु. ८० लाख खर्च अनुमान गरिएको प्रतियोगिताको पुरस्कार राशिबारे निर्णय हुन बाँकी छ। महाकाली स्पोर्टस सोसाइटी, नेपालय इन्टरनेशल इभेन्ट म्यानेजमेन्ट र प्राइम टाइम्स् टेलिभिजनको प्रायोजनमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ।