असोजमा मूल्यवृद्धि ४.७ प्रतिशत, खाद्यान्न, तरकारी र माछामासुको मूल्य वृद्धि
चालू आर्थिक वर्षको असोज महिनासम्ममा मूल्यवृद्धि ४ दशमलव ७ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्षको असोजमा मूल्यवृद्धि ३ दशमलव १ प्रतिशत मात्र थियो ।
नेपाल राष्ट्र ब्यांकले ९ असोजमा सार्वजनिक गरेको तथ्यांकअनुसार, खाद्यान्न, तरकारी, माछामासु र पेयपदार्थमा भएको मूल्यवृद्धि तथा घरभाडा बढेका कारण समग्र मूल्यवृद्धि बढेको हो ।
खाद्य तथा पेय पदार्थको मूल्य ३ दशमलव ४ प्रतिशत बढेको छ ।
यसअन्तर्गत खाद्यान्नको मूल्य ४ दशमलव ६ प्रतिशत, माछामासुको मूल्य ५ दशमलव २ प्रतिशत एवं घिउतेलको मूल्य ५ दशमलव ४ प्रतिशतले बढेको राष्ट्र ब्यांकले जनाएको छ ।
गैरखाद्य समूहअन्तर्गत यातायात क्षेत्रको मूल्य ७ दशमलव ४ प्रतिशत, फर्निसिङ र घरायसी उपकरणको मूल्य ५ दशमलव २ प्रतिशत तथा घरायसी उपयोगिता र सेवाको मूल्य ७ दशमलव ७ प्रतिशत बढेको छ ।
असोजमा सबैभन्दा धेरै पहाडमा ६ दशमलव १ प्रतिशत मूल्य बढेको छ । तराईमा ४ दशमलव ३ प्रतिशत, हिमालमा ४ दशमलव २ प्रतिशत र काठमाडौं उपत्यकामा ४ प्रतिशत मूल्य बढेको छ ।
राष्ट्र ब्यांकका अनुसार, अघिल्लो वर्षका तुलनामा असोजमा तलब तथा ज्याला ८ दशमलव ७ प्रतिशत बढेको छ । अघिल्लो वर्ष यस्तो वृद्धि दर ४ दशमलव ७ प्रतिशत मात्रै थियो ।