शोधनान्तर घाटा रु. ३५ अर्ब नाघ्यो, व्यापार घाटा ४५.९ प्रतिशत बढ्यो
देश भित्रिनेभन्दा बाहिरिने रकम बढी भएपछि देशको शोधनान्तर घाटा रु. ३५ अर्ब ४२ करोड पुगेको छ ।
नेपाल राष्ट्र ब्यांकले ९ मंसीरमा जारी गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्यांकले शोधनान्तर स्थिति अर्थतन्त्रका लागि चुनौतिपूर्ण देखाएको हो ।
राष्ट्र ब्यांककाअनुसार, भदौमा रु. २५ अर्ब ४५ करोड रहेको शोधनान्तर घाटा असोजमा बढेर रु. ३५ अर्ब ४२ करोड पुगेको छ ।
असोज मसान्तसम्ममा चालू खाता घाटा ८१ अर्ब ९६ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।
वस्तु आयात ह्वात्तै बढेपछि चालु खाता घाटा उच्च विन्दुमा पुगेको हो । भदौ मसान्तसम्ममा चालु खाता घाटा रु. ३५ अर्ब ५६ करोड मात्रै थियो ।
तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापार कहालीलाग्दो स्थितिमा पुगेको छ । चालु आर्थिक वर्षको तीन महिना (असोजसम्म) मा नेपालको वस्तु निर्यात १६ प्रतिशत मात्र बढेको छ, जबकि आयातको वृद्धिदर ४३ दशमलव ६ प्रतिशतले बढेको छ ।
यो अवधिमा नेपालले रु. २३ अर्ब ७४ करोडको निर्यात गर्दा आयात भने रु. ३ खर्ब ७३ अर्ब ५९ करोडको गरेको छ । वैदेशिक व्यापारमा नेपालले रु. ३ खर्ब ४९ अर्ब ८४ करोड घाटा व्यहोरेको छ ।
वैदेशिक व्यापारमा ठूलो नोक्सानी व्यहोरेपनि नेपालमा भित्रिएको विप्रेषणको वृद्धि भने तुलनात्मक राम्रो छ ।
असोजसम्ममा विप्रेषण आप्रवाह ३७ दशमलव ३ प्रतिशतले बढेर रु. २ खर्ब ४२ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा विप्रेषणको आप्रवाह २ दशमलव ६ प्रतिशतले मात्र बढेको थियो ।