टिप्पणीआइतवार, मंसिर ९, २०७५

रानीपौवामा नदेखिएको पौवा

वसन्त महर्जन

तीर्थयात्रीका लागि पाटीपौवा बनाउने पुरानो परम्परालाई मास्नतर्फ समाज उद्यत रहेको संकेत हो, रानीपौवाको दुरवस्था।

मुक्तिनाथ दर्शन गर्न पुगेका तीर्थयात्रीको चाप स्थानीय होटलहरूले थेग्न नसक्दा समस्या भएको समाचारले नेपाली पर्यटन उद्योगको अवस्था संकेत गर्छ। एकातिर पर्यटक र तीर्थयात्रीलाई सुविधाजनक बासस्थानको अभाव छ भने अर्कोतिर तीर्थयात्रीलाई सुविधा दिन बनाइएका पाटीपौवा मर्मतसम्भारको अभावमा जीर्ण भएका छन्।

मुस्ताङमा मुक्तिनाथ मन्दिरभन्दा एक किलोमिटर वरै रानीपौवा बजारमा तीर्थयात्रीहरूलाई लक्षित गरी खोलिएका करीब ५० जति होटलहरू छन्। आजभन्दा २१२ वर्षअघि राजा रणबहादुर शाहकी माहिली महारानी सुवर्णप्रभाले यही स्थानमा निर्माण गराएको पौवाबाट बजारको नाम रानीपौवा रहन पुगेको हो। बजारलाई पहिचान दिएको उक्त पौवा अहिले बजारबाट छेकिएको मात्र होइन, हेपिएको र मिचिएको पनि छ।

करीब डेढ दशकअघि मुक्तिनाथ पुग्दा बास बस्ने होटल नपाएपछि यो पंक्तिकार सहयात्रीहरूसँगै रानीपौवाको शरणमा जानु परेको थियो। पौवामा बास मात्र नभएर दाल, चामल, नून, तेल, घिउ र तरकारी तथा दाउरा समेत निःशुल्क उपलब्ध गराउने बन्दोबस्त थियो, त्यसबेला। जीर्ण पौवामा शौचालय र पानीको भने अभाव थियो।

रानी सुवर्णप्रभाले रानीपौवाको निर्माणका साथै सदावर्तका लागि राखु भेकमा २,५३० मुरी धान फल्ने दुई खेतको गुठी पनि व्यवस्था गरिदिएकी रहिछन्। त्यहाँ आउने तीर्थयात्रीका लागि खाना र आवासको सुविधा पुर्‍याउनुपर्ने बन्दोबस्तबारे उल्लेख रहेको शिलालेख अझै पनि रानीपौवामा छ। तर, अधिकांश तीर्थयात्रीलाई उक्त पौवाबारे जानकारी नै हुँदैन।

उतिबेला बजार बिजुली बत्तीले झलमल भए पनि पौवा अँध्यारै थियो। यात्रीहरू पौवामा नजाऊन् भनेर बजारका व्यापारीहरूले त्यहाँ बिजुली पुग्न दिएका थिएनन्। पौवाकै केही कोठालाई कार्यालय बनाएको स्थानीय प्रहरीले भने एक लाइन बिजुली प्रयोग गर्न पाइरहेको थियो।

पौवामा बास बसेको कुरा अरू कसैलाई नभन्ने सहयात्रीबीच सहमति भएबाट पनि रानीपौवाको भौतिक अवस्था कस्तो थियो भन्ने स्पष्ट हुन्छ। यसपटकको दशैं-तिहारबीच मुस्ताङ पुग्दा थाहा भयो, गुठी र स्थानीयको किचलोले रानीपौवा बन्द भइसकेको रहेछ।

मुक्तिनाथ र झरकोटबीच पुराङ गाउँमा रहेको यो पौवा मुक्तिनाथ मन्दिरतर्फ जाँदै गर्दा मूल बाटोको बायाँतर्फ छ। ५५ वटा झ्याल र २६ वटा ढोका रहेको पौवाको बीचमा चोक र चारै दिशामा दुईतले भवन छ। ढुंगा र काठबाट निर्मित भवनमा १२ वटा ठूला कोठाका अतिरिक्त साना कोठाहरू पनि छन्। सामूहिक रूपमा बास बस्दा करीब एक हजार जना अटाउने ठाउँ छ। चोकमा भोटेपीपलसहितको चौतारी र रूखको फेदमा रानी सुवर्णप्रभाद्वारा राखिएको शिलापत्र छ। विक्रम संवतका साथै शाके संवत् र नेपाल संवत् पनि उल्लेख भएको शिलालेख संस्कृत र नेपाली भाषामा छ।

तीर्थयात्रीको सेवामा पाटीपौवा र भोजन इत्यादिको बन्दोबस्त गरिदिने नेपालको पुरानै परम्परा हो। पुराना परम्परालाई झनै परिमार्जित गर्नुभन्दा त्यसलाई भत्काउन समाज उद्यत रहेको उदाहरण बन्न पुगेको छ, रानीपौवा। गुठीको जग्गा धेरैजसो रैकरमा परिणत भइसकेको र अन्य कतिपय प्रशासनिक झ्मेला र विवाद सुल्झउन नसक्दा पनि रानीपौवा प्रभावित हुन पुगेको स्थानीयहरू बताउँछन्।

मुक्तिनाथ मन्दिर धार्मिक पर्यटनस्थल भनी जति प्रचार भए पनि त्यहाँ सूचना केन्द्रको नितान्त अभाव छ। मुस्ताङ क्षेत्रको प्राकृतिक तथा सामाजिक जनजीवनको जानकारी दिन जोमसोममा सञ्चालित संग्रहालय मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने यात्रुलक्षित छैन। धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समावेश गरी एउटा संग्रहालय यही रानीपौवामा सञ्चालन गर्न सकिन्छ।

बासका साथै दाल-चामल र दाउराको सुविधा दिने व्यवस्था अबका दिनमा व्यावहारिक नहोला। बरु तीर्थयात्रीबाट न्यूनतम शुल्क उठाएर राम्रो सुविधा दिन सकिन्छ। तर, उदेकलाग्दो कुरा, यात्रुको चाप बढेर समस्या उत्पन्न भइरहँदा रानीपौवा भने जीर्ण र बन्द छ।

प्रतिकृया दिनुहोस