ब्लगआइतवार, मंसिर ९, २०७५

बसका पीडक विरुद्ध...

कनकमणि दीक्षित

सार्वजनिक यातायातमा हुने यौन हिंसा अन्त्य गर्न देशव्यापी अभियान जाग्न जरूरी छ ।

नेपालका अधिकांश भागमा महिला नागरिकहरू शहरबजारको भीडभाडमा एक्लै जाने क्रम शायद नयाँ हो । कुनै समुदायमा महिलाको स्वतन्त्रता अलि फराकिलो होला, कतै धेरै खुम्चिएको । तर बजार, मेलापात या मठमन्दिर जाँदा कि त परिवारका सदस्य या साथी–सँगीसँग जाने चलन थियो ।

आजभोलि नै हो– अर्थतन्त्र, समाज र संस्कृतिमा आएको परिवर्तनसँगै महिलाहरू एक्लै भीडभाडयुक्त सार्वजनिक थलो छिचोल्न थालेका छन् । दक्षिणएशियाको अधिकांश भेकमा यस्तो स्वतन्त्रता छैन । हाम्रो समाजको जसरी ऐतिहासिक उत्पत्ति भयो, यसको लागि नेपाल र नेपालीले आफूलाई भाग्यशाली ठान्नुपर्छ ।

यद्यपि अझै पनि सबै कुरा सहज छैन । धेरै पुरुषहरू खाडी, मलेशिया र अन्यत्र वैदेशिक रोजगारीमा जाँदा पनि महिलाहरूले एक्लै घर–व्यवहारमा लाग्नुपरेको छ । उता पारिवारिक/सामुदायिक नियन्त्रण कमजोर हुँदा पुरुष यौन पीडकको संख्या बढ्दो छ । फलस्वरूप सार्वजनिक स्थलमा महिलामाथि हुने दुव्र्यवहारको भार र आकार पनि बढेको छ ।

गायक प्रकाश गन्धर्व र अभिनेत्री उषा रजक ।

भलै दक्षिणएशियाका कतिपय स्थानभन्दा नेपालमा सार्वजनिक थलोमा हुने यौन उत्पीडनको अनुपात कमै होला । तर जति छ, त्यति पनि हुनुहुँदैन । यसैकारण यो स्तम्भकार आबद्ध साझा यातायात सहकारी कम्पनीलगायत केही संस्था मिलेर यही ८–२४ मंसीरका लागि ‘सार्वजनिक यातायातमा यौन हिंसा विरुद्ध अभियान’ थालनी भएको हो ।

अभियान संचालनको तयारीका क्रममा धेरै उत्साहित र सक्षम नागरिक तथा संस्थाहरू अगाडि आए । धेरै नयाँ खाले सोच र विषयको पाटो पनि बुझियो, सिकियो ।

पहिलो कुरा त यौन हिंसालाई परिभाषित गर्नुपर्ने भयो, किनकि बलात्कार तथा घरेलु हिंसाका लागि मात्र यो शब्दावली प्रयोग गर्ने चलन छ । हामीले भन्नुपर्ने भयो– बसको खचाखचको फाइदा उठाई कसैले कसैमाथि छुने, टाँसिने, क्वारक्वार्ती हेर्ने या जिस्क्याउने गर्छ भने ती सबलाई ‘यौन हिंसा’ भन्नुपर्छ ।

संयुक्त राष्ट्रसंघमा यौन हिंसा विरुद्धको अन्तर्राष्ट्रिय कार्यक्रमकी अगुवा चाँदनी जोशीले हामीलाई सुझाउनुभयो कि यौन हिंसा बेहोर्नुपरेकी महिलालाई ‘पीडित’ को रूपमा नहेरौं, र उनलाई दुव्र्यवहारको सामना र प्रतिकार गर्न सघाऔं ।

यौन हिंसा भएको थाहा पाउने सह–यात्रुहरूलाई पनि क्रियाशील बनाउनुपर्ने सन्देश दिनुपर्‍यो । अभियानको सह–आयोजक जोन्टा क्लब नेपाल संस्थाको तर्फबाट सुझाव आयो, यात्रुमाथि हातपात र दुव्र्यवहार हुँदा के गर्ने भनेर चालक र सहचालकहरूलाई प्रशिक्षण दिनुपर्‍यो ।

‘फाइटब्याक’ संस्थाले राम्रो एनिमेशन उपलब्ध गरायो, महिलालाई पीडकको प्रतिकार गर्न सिकाउने । विमर्श गर्दै जाँदा झन्–झन् सिर्जनशील कुरा अगाडि आए । सात वर्षको प्रवासपछि भर्खर नेपाल फर्केकी अभिनेत्री उषा रजकले एकै दिनमा एउटा छोटो भिडियो बनाइन् ।

हामीले भन्नुपर्ने भयो– बसको खचाखचको फाइदा उठाई कसैले कसैमाथि छुने, टाँसिने, क्वारक्वार्ती हेर्ने या जिस्क्याउने गर्छ भने ती सबलाई ‘यौन हिंसा’ भन्नुपर्छ ।

यस्तै, गायक प्रकाश गन्धर्वले बसमा हुने दुव्र्यवहारको ‘घटना’ शैलीमा गीत नै रचे (यो गीतको लाइभ प्रस्तुति सुन्न चाहनुहुन्छ भने आउँदो दुई हप्ता साझा बस चढ्नुहोला !) । ‘सही हो’ अभियानको अर्को भिडियो फेला पर्‍यो, जहाँ महिलाहरू सबैले सार्वजनिक बसमा खेपेको उत्पीडनबारे बोल्छन्, पुरुषहरू भने यसबारे अनभिज्ञता प्रकट गर्छन् ।

अभियन्ताहरूलाई कहिलेकाहीं लाग्छ, मैले नै पहिलो पटक यो आइडिया निकालेको हुँ । तर, अक्सर वर्षौं अघि नै कसैले निजी या सामुदायिक प्रयास गरिसकेका हुन्छन् । सार्वजनिक यातायातका शहरी बस, रात्रिबस, मिनीबस, माइक्रो र टेम्पो जहिलेदेखि चलेका छन्, त्यही बेलादेखि नै मुलुकभरि महिलाहरू पीडकको शिकार बनेका छन् ।

त्यही बेलादेखि नै महिलाहरूले एकल वा सामूहिक प्रतिकार गरेका छन् । यही कुरा मनन् गर्दै गर्दा मदनकृष्ण श्रेष्ठ दाइ आइपुग्नुभयो, एउटा पेनड्राइभ बोकेर । यसमा महजोडीले सार्वजनिक यातायातमा यौन हिंसा विरुद्ध १० वर्षअघि नै बनाएको भिडियोको कपी थियो ।

सार्वजनिक यातायातमा यौन दुव्र्यवहार जताततै छ नेपालमा, र फैलँदो छ भन्ने अनुमान छ । यसकारण देशव्यापी अभियान जाग्न जरूरी छ । ताकि दिनहुँ हजारौंले खप्नुपर्ने यस्तो उत्पीडन उन्मूलन होस् । आपसी सम्मानमै हामी सबैको बस यात्रा सफल होस् ।

पढ्नुहोस् ।

सार्वजनिक यातायातमा ‘सेफ्टी पिन’को सुरक्षा

प्रतिकृया दिनुहोस