ए डिभिजन लिग- सरस्वती क्लब विजयी
सरस्वती युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शनिवार भएको खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३-० गोलले पराजित गरेको हो । सरस्वतीको जितमा १३ औं मिनटमा विदेशी खेलाडी भिक्टोरले गोल गर्दै अग्रता बनाएका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको सरस्वतीले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ७३ औं मिनटमा अर्का विदेशी खेलाडी इब्राहिमले गोल गरे । यस्तै, ८३ औं मिनटमा विदेशी खेलाडी साचिईले गोल गर्दै सरस्वतीको जित सुनिश्चित गरे ।
जितपछि सरस्वतीले लिगमा पहिलो जित दर्ता गर्दै तीन अंक जोडेको छ । यसअघि सरस्वती लिगको पहिलो खेलमा संकटा क्लबसँग १-० ले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा हिमालयन शेर्पासँग १-० ले नै पराजित भएको थियो ।
फ्रेन्ड्सले लिगमा लगातार तेस्रो हार व्यहोरेको छ । पहिलो खेलमा थ्री स्टार र दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो ।