ब्लगशनिवार, मंसिर ८, २०७५

‘देश बिगार्न पत्रकारको हात छ’

मुकेश पोखरेल

जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुनुको सट्टा व्यक्तिगत स्वार्थ र अनियमिततामा लागेपछि पत्रकारमाथि पनि प्रश्न उठ्न थालेको छ ।

“नेता मात्रै होइन तपाईँजस्ता पत्रकार पनि हो देश बिगार्ने,” दुई महीनाअघि काठमाडौंमा भेट भएका निजामति क्षेत्रका एक साथीले आक्रोश पोखे ।

“पत्रकार राज्यसत्ताको दुरुपयोग गर्ने ठाउँमा कतै छैनन्, अनी कसरी विगारे देश ? बरु तपाईँहरु जस्ता कर्मचारीको हात छ यसमा ।”

“म कार्यरत कार्यालयमै भ्रष्टाचार र अनियमितता व्याप्त छ । तर, पत्रकारले यस्ता समाचार लेख्दैनन्, भ्रष्टाचारीको पनि दलीय आस्था खोज्छन्, आफैं पनि राजनीतिक दलको झोला बोक्छन् । अनी भएनन् त दोषि ?”

“तपाईँको कार्यालयमा केही राम्रा, केही भ्रष्ट कर्मचारी भएजस्तै, पत्रकारितामा क्षेत्रमा पनि केही राम्रा केही दलका झोला बोक्ने छन् । तर, पनि पत्रकारले देश विगारे भन्नु अतिशयोक्ति मात्रै हो ।”

हामी बीच आरोप–प्रत्यारोप चल्यो केही बेर ।

गुल्मी जिल्लामा कार्यरत मेरा मित्र सरकारी कार्यालयको काममा अनियमितता भएको थाहा पाएर पनि समाचार नलेखेका एक पत्रकारसँग निकै आक्रोशित रहेछन् । ती पत्रकारले उल्टो लेनदेनमा ‘बार्गेनिङ’ गरेको थाहा पाएपछि मित्रले सबै पत्रकारलाई उस्तै देख्न थालेछन् ।
० ० ०

“भ्रष्टाचार बढाउने काममा पत्रकार पनि जिम्मेवार छन्,” यसपटक तिहारमा अर्घाखाँची पुगेका बेला भएको एउटा समूह छलफलमा केहीले मलाई लक्ष्य गर्दै भने ।

“कसरी ?”

“पत्रकारले भ्रष्टाचारको समाचार लेख्दैनन् । वडाअध्यक्षले डोजर किनेका छन्, स्थानीय तहमा अती भ्रष्टाचार छ । खै समाचार आएको ?” त्यसपछि उनीहरुले स्थानीय सरकारले बजेटको दुरुपयोग गरेको, अनियमितता गरेको, सेवा नदिएर करमात्रै लगाउन खोजेको जस्ता कुरा सुनाए ।

अचेल गाउँघर तिर जाँदा पत्रकारलाई पनि प्रशस्तै आरोप लगाएको सुन्न पाइन्छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि यो गुनासो बढेको हो । पछिल्लो चार महीना रिर्पोटिङका लागि मध्यतराईदेखि पश्चिम पहाड जहाँ जहाँ पुगें पत्रकारप्रति कुनै कुनै न गुनासो सुनियो । र, धेरै जस्तो गुनासो त विभिन्न भेला र गफगाफमा आफ्नो परिचय नखुलाएका बेला सुनियो ।

स्थानीय तहमा कर्मचारीको नेतृत्व रहँदासम्म त्यहाँ हुने अनियमितताबारे नागरिक बेखबर थिए । त्यसमाथि सर्वदलीय संयन्त्रको बिगबिगी र जगजगी थियो । जब नेतृत्वमा जनप्रतिनिधि पुगे, अनियमितता र फजुल खर्चलाई नागरिकले नजिकबाट नियालीरहेका छन् ।

आफैले मत दिएर पठाएका नेता नागरिकप्रति उत्तरदायी हुनुको सट्टो व्यक्तिगत स्वार्थमा लागेपछि जनप्रतिनिधि प्रतिको जनआक्रोश बढ्दो छ । परिणाम– पत्रकार पनि मुछिएका छन् त्यसमा ।

पत्रकारप्रतिको आक्रोशलाई सकारात्मक र नकारात्मक दुवै किसिमबाट हेर्न सकिन्छ । सकरात्मक यस अर्थमा कि, पत्रकारको भूमिका र महत्वलाई समाजको प्रत्येक तप्काले स्वीकारेको छ । नेता र कर्मचारीप्रति भरोषा नभएपछि उनीहरुका आँखा पत्रकारतर्फ सोझिएका छन् । संगै पत्रकारलाई पनि नकारात्मक भावले हेर्न थालिएको छ । भ्रष्टाचार गर्नेसँग पत्रकार मिलेका छन्, त्यसकारण स्थानीय तहमा भएका अनियमितताका समाचार बाहिर आएनन् भन्ने मनोविज्ञान बढ्दो छ ।

जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने स्थानीय सरकारहरु देश विकासका जग हुन् । स्थानीय सरकार छाडा बन्दा समृद्धिको सपना पूरा हुन सक्दैन । साथै हामी पत्रकारहरु पनि जनताका आंकाक्षा र उनीहरुका सरोकारभन्दा टाढा रहन मिल्दैन । जिम्मेवार बन्नैपर्छ ।

 

प्रतिकृया दिनुहोस