दस्तावेजशनिवार, मंसिर ८, २०७५

राजा महेन्द्रलार्इ सरदार विष्णुमणिको व्यंग्यवाण- ‘सरकार लिष्ट केरमेट केरमेट छ’

भैरव रिसाल

राजा महेन्द्रलाई आफ्ना भक्तहरूको चरित्र जान्ने इच्छा जागेछ। राज्य संयन्त्रका विभिन्न जिम्मेवारीमा जसलाई नियुक्त गरे पनि ढिलोचाँडो सञ्चारजगतमा त्यसको आलोचना र निन्दा समेत शुरू भइहाल्ने। बेठीक व्यक्तिलाई छानेकोमा राजाको पनि परोक्ष रूपमा विरोध हुने।

उनी आफैं बेलाबेला मन्त्रिमण्डल परिवर्तन गरिरहन रुचाउने। त्यसैले उनलाई लहड चलेछ, आफूलाई चाहिने मान्छेहरूको ‘रोष्टर’ तयार गरेर राख्नुपर्‍यो, जुन बेला जो आवश्यक पर्छ, उसैलाई मनोनयन गर्दा भइहाल्यो।

असल र खराब व्यक्तिहरूको बेग्लाबेग्लै लिष्ट बनाउन उनले आफ्ना विश्वासपात्र सरदार विष्णुमणि आचार्यलाई अह्राए। यो प्रसंग बाहिर चर्चामा भने आएन।

‘खै त त्यो लिष्ट ?’
धेरै पछिसम्म राजाले त्यो लिष्ट मागेनन्, विष्णुमणिले नमागी दिएनन्। रहँदा-बस्दा एक डेढ वर्षपछि राजा महेन्द्रले केही गम्भीरतासँगै रातोपिरो भएर सोधेछन् “खै त त्यो लिष्ट, अझ्सम्म तयार भएन ?”

अकस्मात् राजाबाट प्रश्न आएपछि सरदार विष्णुमणि एकछिन त किंकर्तव्यविमूढ भएछन्। तर, प्रत्युत्पन्न मति भएका बाजेमा व्युत्पन्न मति खुलिहाल्यो। उनले प्रसन्न मुद्रामा दुईहात जोडी बिन्ती गरेछन्, “सरकार, तयार भएको छ, निकै अघि नै।” अलि गम्भीर भई पुनः बिन्ती गरेछन् “तर, अलि केरमेट केरमेट छ सरकार।”

राजा छक्क परेछन्। उनको मनमा लागेछ, के भन्छ यो मान्छे ! अघि-पछि यसो भन्ने मान्छे होइन ! केही कारण परेर यसो भनेको होला भन्ने पनि परेछ। त्यस दिन त्यो प्रसंग छोडी अरू विषयमा छलफल भएछ। राजाले कुरा नकोट्याई सरदार बाजेले कुरा उठाउने विषय परेन त्यो।

‘हात र आँखाले बाढी रोकिन्न’

राज्य सञ्चालन सजिलो कुरो पक्कै होइन, कहिले आन्तरिक कारणले, कहिले छिमेकको कारणले त कहिले विदेशको कारणले। यस्तोमा मन बहलाउन राजा लगायत सर्वोच्च र उच्च प्रशासकहरू हास्यव्यङ्ग्यको बाटो समात्छन्।

तनाव र परिस्थिति असाधारण हुँदा परिहासको माहोल बनाउन उच्च प्रशासकहरूमध्ये विछट्टै सिपालु दुई पात्र थिए- जनरल क्षेत्रविक्रम राणा र सरदार विष्णुमणि आचार्य। यी दुई पात्र बेला-बेला राजाको मनस्थिति हेरी ठट्टा गर्थे, निकै अदबमा रहेर। राजा महेन्द्र मुखै खोलेर हाँसेको वा अट्टहास गरेको प्रायः देखिंदैनथ्यो।

२०१४ सालको वैशाख र जेठमा सुदूरपश्चिममा गरेको २३ दिने लामो पैदल भ्रमणमा मैले कुनै दिन पनि उनी दाँत देखाएर हाँसेको देखिनँ। तर, प्रायः साँझ स्थानीय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रममा भने उनी बेलाबेला मुस्कुराउँथे।

“हात र आँखाले बाढी रोकिन्न भनी बोरा खोज्न गएँ। अब बोरामा बालुवा भरी पुल जोगाउनतिर लाग्छौं सरकार।”

महेन्द्रले सरदार विष्णुमणिलाई धेरै पत्यार गर्ने। पशुपति क्षेत्रको पुनर्निर्माण होस् वा अन्य निर्माण र विकासका काममा उनी विष्णुमणिलाई औधी पत्याउँथे। भदौ २०१८ मा भएको जनसेवा काण्डमा भने विष्णुमणि निलम्बनमा परे। त्यतिबेला उनी काठमाडौं उपत्यका कमिसनर थिए।

कुन वर्ष हो, अतिवृष्टि भई वागमतीमा ठूलो बाढी आएछ। त्यो बेला त्रिभुवन विमानस्थल जाने र भक्तपुरतिर जाने माइतीघर-सूर्यविनायक सडक बनेको थिएन। बानेश्वरबाट सिनामंगल जाने वागमती पुल बाढीले भत्कायो भने ठूलो संकट आउँथ्यो। राजारानी बाढी हेर्न थलोमै पुगे। त्यहाँ अञ्चलाधीश विष्णुमणि थिएनन्। राजाले अन्यथा मानेछन्। एकैछिन पछि सरदार बाजे एक लहरी रित्ता बोरा लिएर आएछन् र राजालाई बिन्ती गरेछन्, “हात र आँखाले बाढी रोकिन्न भनी बोरा खोज्न गएँ। अब बोरामा बालुवा भरी पुल जोगाउनतिर लाग्छौं सरकार।”

केरमेटको व्यङ्ग्यवाण
नभन्दै खाली बोरामा बालुवा भर्न लगाई बाढी रोकेर पुल जोगिएछ, संकट टरेछ। आफू आउँदा सरदार बाजेलाई नदेखेर रिसाएका राजाले पछि उनको बुद्धिमत्ताको प्रशंसा गरे रे ! अब यस्तो पत्यार पाएका सरदार बाजेबाट ‘लिष्ट त तयार छ, तर केरमेट, केरमेट छ’ भन्ने सुनेपछि छक्क परेका महेन्द्रले पुनः पुरानो प्रसंग कोट्याएछन्, “एउटा लिष्ट बनाउँदा पनि किन त केरमेट, केरमेट ?”

“जो खराब भनेर कालोसूचीमा नाम चढायो, उही अकस्मात् मन्त्री हुन्छ। फेरि उसलाई असल सूचीमा सार्‍यो, मन्त्रीबाट झिकिएपछि कालोसूचीमा। त्यसैले सरकार, लिष्ट केरमेट केरमेट छ।”

सरदार विष्णुमणिले हँसिलो पारामा हात जोडी बिन्ती गरे रे, “जो खराब भनेर कालोसूचीमा नाम चढायो, उही अकस्मात् मन्त्री हुन्छ। फेरि उसलाई असल सूचीमा सार्‍यो, मन्त्रीबाट झिकिएपछि कालोसूचीमा। त्यसैले सरकार, लिष्ट केरमेट केरमेट छ।”

यस्तो जवाफ सुनेपछि महेन्द्रको अनुहार रातो भएछ। सरदार विष्णुमणिले त्यस्तो लिष्ट बनाएका थिए वा थिएनन्। तर, उनले जुन जवाफ दिए, त्यसमा ‘राजाले असल व्यक्ति चिन्न नसकेको र जो पायो त्यहीलाई मन्त्री बनाएको’ प्रष्ट व्यंग्य थियो।

सरदार विष्णुमणिको कूटनीतिबाट राजा महेन्द्रले अचम्म मान्थे। यो केरमेट काण्डमार्फत सरदार बाजेले महेन्द्रलाई व्यङ्ग्यवाणै हाने जस्तो भयो।

प्रतिकृया दिनुहोस