‘ए’ डिभिजन लिगमा आर्मीले हरायो पुलिसलाई
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रवार सम्पन्न दोस्रो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ।
अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ०-१ गोल अन्तरले पराजित गर्दै आर्मी क्लब विजयी भएको हो। आर्मीको तर्फबाट टेकबहादुर बुढाथोकीले खेलको ३१ औं मिनटमा एक गोल गरेका थिए, जुन आर्मी क्लबको जितमा निर्णायक बन्यो।
मध्यान्हअघिको अन्तिम मिनटमा पुलिसले बराबरी गर्ने अवसर गुमायो। निरकुमार राईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको कडा प्रहार गोल पोष्टको केही माथिबाट बाहिरियो।
खेलको अन्तिम समयमा पुलिसले पेनाल्टीको अपिल गरे पनि रेफ्री नवीन्द्र महर्जनले त्यसलाई नकारेका थिए। पुलिसका केही खेलाडी मैदानमा हातपातमा उत्रँदा स्थिति केही तनावग्रस्त बनेको थियो।
जितसँगै आर्मी क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ। आर्मीको ३ खेलमा २ जित र १ बराबरीसँगै ७ अंक छ। जारी लिगमा पुलिसले पहिलो हार व्यहोरेको छ। पुलिसको ३ खेलमा १ जित, १ हार र १ बराबरीसँगै चार अंक बनेको छ। जितसँगै आर्मीले जारी लिगमा अपराजित यात्रा कायमै राखेको छ।
अहिलेसम्म आर्मीले लिगको उपाधि जित्न सकेको छैन। पुलिसले भने ६ पटक उपाधि हात पारिसकेको छ।