बारा: छोरी हत्याको आरोपमा बुवा पक्राउ
छोरीको हत्या गरेर जलाएको आरोपमा प्रहरीले बाराको फेटा–४ का बाँकेलाल साह तेलीलाई पक्राउ गरेको छ ।
साहले १७ वर्षीया छोरी ममता कुमारीको परिवारका अन्य सदस्यको सहयोगमा हत्या गरेको हुनसक्ने स्थानीयको आरोपको आधारमा प्रहरीले उनलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।
“एसएलसी परीक्षा दिएर घरमै रहेकी ममताको गाउँका एक युवकसँग प्रेम सम्बन्ध थियो, उनका परिवारले त्यो रुचाएका थिएनन्,” स्थानीय युवा भन्छन, “सबै छठ पर्वमा व्यस्त रहेको समयमा परिवारले उनको हत्या गरेको हुनसक्छ ।”
छठ नमनाउने साहको घरमा २१ कात्तिक साँझ नै घटना भएको र आज गाउँलेहरु छठ घाट जानुअघि गाउँ बाहिर लगेर लक्ष्मीको शव जलाएको उनको भनाई छ ।
ममताका परिवारले बिहानपख गाउँलेलाई समेत खबर नै नगरी शव जलाएका थिए । साह परिवारको गतिविधि शंकास्पद देखिएपछि स्थानीयले नै प्रहरीलाई घटनाको बारेमा जानकारी गराएका थिए ।
ममताका बुवा बाँकेलाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
“पखाला चलेर छोरी मरी भनेको छ,” उनले भने, “पुलिसलाई त परको कुरा गाउँलेलाई पनि खबर रहेनछ ।”
सुरेश बिडारी, वीरगञ्ज