मनाङ मर्स्याङ्दी ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा (अंक तालिकासहित)
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार तीन वटा खेल हुनेछन् ।
शुक्रबार पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र संकटा क्लबबीच हुनेछ ।
ब्रिगेड ब्वाइज अघिल्लो दुई खेलमा पराजित हुँदै लिग अंक तालिकाको पुछारमा छ भने एपीएफ एक जित र एक बराबरीका साथ चार अंक जोड्दै तालिकाको सातौं स्थानमा छ । त्रिभुवन आर्मी अघिल्ला दुई खेलमा जित निकाल्दै ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने नेपाल पुलिस एक जित र एक बराबरीका साथ चार अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । मछिन्द्र एक जित र एक बराबरीका साथ चार अंक जोड्दै तालिकाको छैटौं स्थानमा रहँदा संकटा समान खेलबाट चार अंक जोडदै लिगको पाँचौं स्थानमा छ ।
लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । राउण्ड रोविन लिगको आधारमा भइरहेको प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउनेछन् । रासस