अहिले संविधान संशोधनको औचित्य छैनः नेता नेपाल
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधनका लागि हाल उठाइएका मुद्दाहरुमा सहमति हुन नसक्ने बताएका छन् ।
एमाले बैदेशिक मामिला विभाग प्रमुख समेत रहेका नेता नेपाललाई भेट्न उनको निवास पुगेकी अमेरिकाकी राजदूत अलाइना टेप्लिजको जिज्ञासामा उनले मधेश केन्द्रित दलहरुको माग अनुसार यसअघि संविधानका दुई धारामा संशोधन भइसकेको उल्लेख गर्दै यति छोटो अवधिमा विनाकारण छिटो–छिटो संविधान संशोधन नहुने बताएका हुन् ।
एमाले प्रचार विभागका सचिव विष्णु रिजालका अनुसार नेपालले संविधान संशोधनका लागि अहिले उठाइएका मुद्दाहरु उचित नरहेको कारण त्यसमा सहमति हुन नसक्ने स्पष्ट पारेका थिए ।
भेटका अवसरमा राजदूत टेप्लिजले नेपालको विकास र प्रगतिमा आफ्नो मुलुक साझेदार रहेको चर्चा गर्दै नेपालको आर्थिक विकास, राजनीतिक स्थिरता र सुशासनका लागि सदैव सहकार्य गर्ने उल्लेख गरिन् ।
नेपालमा नयाँ संविधान बनेपछि राजनीतिक स्थिरता हासिल गर्नेतर्फ भएका उपलब्धिको प्रशंसा गर्दै राजदूत टेप्लिजले यस दिशामा सबै राजनीतिक दलहरु एक ठाउ“मा आउने विश्वास समेत व्यक्त गरेकी थिइन् ।
पूर्वप्रधानमन्त्री नेपालले अमेरिकाका तर्फबाट नेपाललाई हुँदै आएको सहयोगका लागि धन्यवाद दिँदै नयाँ संविधान बनेपछि सिर्जित स्थायित्वको परिवेशमा थप सहयोग र लगानीलाई आफ्नो मुलुकले स्वागत गर्ने बताएका थिए ।