‘ए’ डिभिजन लिग- पहिलो जितको खोजीमा च्यासल र एनआरटी
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो सहभागिता जनाएको च्यासल युथ क्लबले दुई चरणका खेलहरू समाप्त हुँदासम्म जित निकाल्न सकेको छैन।
स्ट्राइकर विमल घर्ती मगरको अनुपस्थिति च्यासललाई झनै टाउको दुखाइको विषय बनेको छ। ट्रायलका लागि बेल्जियम जाने भएपछि विमलले च्यासलसँगको सम्झौता २ दिनअघि मात्र रद्द गरेका छन्। लिगमा दोस्रो चरणको खेल सकिँदा एक हार तथा एक बराबरीका साथ एक अंकसहित च्यासल लिगको नवौं स्थानमा छ। पहिलो खेलमा मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रोमा त्रिभुवन आर्मीसँग १-० ले पराजित भएको थियो।
यस्तै, न्यूरोड टिम (एनआरटी)ले पनि जारी लिगमा जित निकाल्न सकेको छैन। उद्घाटन खेलमा त्रिभुवन आर्मीसँग अंक बाँडेको एनआरटी दोस्रो खेलमा मनाङ-मर्स्याङ्दीसँग पराजित भएको थियो। एनआरटी एक अंकका साथ लिग तालिकाको १०औं स्थानमा छ। एन्फा मैदानमा ६ मंसिरमा हुने तेस्रो चरणको पहिलो खेलमा यी दुवै टोली पहिलो जितको खोजीमा छन्।
राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको च्यासललाई युवा खेलाडीको बाहुल्यता रहेको एनआरटीले चुनौती दिनेछ। राष्ट्रिय टोलीमा हेमन्त थापा मगर, डिफेण्डर देवेन्द्र तामाङसहित भर्खरै जापानबाट आएका सन्तोष साहुखलको आगमनले च्यासल बलियो देखिएको छ।
आफ्नो टिमले तीन अंकका लागि एनआरटीसँग प्रतिस्पर्धा गर्ने च्यासलका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले बताए। उमेर समूहका खेलाडी समावेश गर्दै टोली तयार गरेको एनआरटीले शुरुआती खेलमै बलिया टोलीसँग प्रतिस्पर्धा गर्नुपरेको उल्लेख गर्दै मुख्य प्रशिक्षक महेश्वर मुल्मीले ६ मंसिरको खेलमा उत्कृष्ट नजिता निकाल्ने दाबी गरे। राष्ट्रिय टोलीको समेत लामो समय नेतृत्व गरेका मुल्मी अनुभवी प्रशिक्षकमध्ये मानिन्छन्।
बिहीवार शुरु हुने तेस्रो चरणका खेलहरू ८ मंसिरसम्म सञ्चालन हुनेछन्। दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्री स्टार शीर्ष स्थानमा छ भने मनाङ दोस्रो तथा संकटा क्लब अंक तालिकाको तेस्रो स्थानमा छ। तीनै टोलीको समान ६ अंक भए पनि गोल अन्तरका आधारमा थ्री स्टार शीर्ष स्थानमा छ। सोही मैदानमा बिहीवार नै हुने दोस्रो खेलमा लिगको उपाधि दाबेदारका रूपमा हेरिएका थ्री स्टार र मनाङ-मर्स्याङ्दी आमनेसामने हुँदैछन्। रासस