चार महीनादेखि गोदाममै अड्कियो चिनी
संघीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएपछि सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोडको २ हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको चार महीना भइसकेको छ ।
हिन्दूहरूको महानचाड दशैं, तिहार तथा छठलाई लक्षित गरी कर्पोरेसनले भारत पश्चिमबंगालको हल्दियास्थित रेणुका सुगर मिलबाट उक्त परिमाणको चिनी आयात गरेको थियो । तर, ढिलो गरी आएकाले भन्सार पास हुन नसक्दा गोदाममै थन्किन पुगेको हो ।
“उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३१ भदौसम्म भन्सार क्षेत्रमा आइपुगेको चिनी छोड्ने भनी पत्र पठाएको थियो,” सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत धनबहादुर बरुवालले भने, “तर, कर्पोरेसनको चिनी ढिलो गरी ६ असोजमा आएकोले हालसम्म गोदाममै थन्किएर रहेको छ ।”
३१ भदौको मन्त्रिपरिषद्को निर्णयलाई आधार मानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकोले यस्तो स्थिति आएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । सुख्खा बन्दरगाहको गोदाममा राखिएको उक्त चिनी छाड्नेबारे विभागबाट हालसम्म कुनै पनि निर्देशन नआएकाले चिनी गोदाममै थन्किएको भन्सार अधिकृत बरुवालले बताए।
रेल्वे जाम र चापका कारण आपूर्तिकर्ता रेणुका सुगर मिलले १५ दिन ढिलो गरी सुख्खा बन्दरगाहमा ल्याएकाले गोदाममै थन्किएको कर्पोरेसनका पर्सा प्रमुख अमोज लामिछानेले जानकारी दिए । दैनिक करिब रु २ लाख जरिवाना तिर्नुपर्ने अवस्था रहेको उनले बताए।
चिनी आयातमा साविकमा १५ प्रतिशत भन्सार शुल्क रहेकामा संघीय सरकारले बढाएर ३० प्रतिशत पुर्याएको छ । रासस