मन्त्री र कर्मचारीको विदेश भ्रमणमा कात्तिकमा मात्रै रु. ५४ लाख सकियो
कात्तिक महिनामा मात्रै मन्त्री तथा सरकारी कर्मचारीहरुको विदेश भ्रमणमा रु. ५३ लाख ९७ हजार खर्च भएको छ । अर्थ मन्त्रालयले विविध शीर्षकबाट रकमान्तर गरेर यो खर्चको भुक्तानी दिएको छ ।
मन्त्रालयका अनुसार, कात्तिक महीनामा विदेश भ्रमणमा गएका अर्थ मन्त्रालयका कर्मचारीका लागि रु. ३५ लाख ७७ हजार खर्च भएको छ । त्यस्तै, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरलेको चीन भ्रमणमा रु. १३ लाख ४ हजार खर्च भएको छ । कानून मन्त्रालयका सचिवको फ्रान्स भ्रमणमा रु. ४ लाख ८० हजार खर्च गरिएको छ ।
सवारी साधन खरिदमा पनि ठूलो सरकारी रकम खर्च भएको छ । राष्ट्रिय महिला आयोगका पदाधिकारी र सचिवका लागि ६ वटा गाडी खरिद गर्न रु. ३ करोड रकमान्तर गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका लागि सुरक्षा सामाग्री किन्न रु. २ करोड ४२ लाख रकमान्तर गरिएको छ ।
त्यस्तै, सेनाको फिक्स्ड विङ जहाजको रकम भुक्तानी गर्न रु. ५९ करोड तथा सेनाका लागि हातहतियार उत्पादनसम्बन्धि उपकरण किन्न रु. रु. २ अर्ब ४५ करोड ५० लाख दिइएको छ ।
यी सहित कात्तिक महिनामा मात्रै सरकारले करीब ६ अर्ब रुपैयाँ रकमान्तर गरेको छ । बजेटमा विनियोजन नगरिएका कार्यक्रमलाई बीचैंमा रकमान्तरमार्फत रकम उपलब्ध गराउनुलाई वित्तीय अनुशासनका दृष्टिले असल अभ्यास मानिदैँन ।
सरकारले चालू आर्थिक वर्षका लागि रु. १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याए पनि पूँजीगत बजेटको खर्च सुस्त छ । बजेटमा उल्लेखित कार्यक्रममा खर्च सुस्त भए पनि मन्त्रालय तथा सरकारी निकायहरुले बजेट बाहिरका कार्यक्रमहरुमा भने उल्लेख रकम मागिरहेका छन् ।
कात्तिक महिनासम्ममा करीब ५४ अर्ब रुपैयाँ बजेटभन्दा बाहिरबाट थप बजेट माग गरिएको छ । बजेटबाहिरका कार्यक्रममा रकम खर्च गर्नु गम्भीर वित्तीय अनुशासनको उल्लंघन भएको विज्ञहरुले बताउँदै आएका छन् ।