मर्स्याङ्दी नदीमा अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने
‘नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सिज’ (नारा) को आयोजनामा मर्स्याङ्दी नदीमा १७ औं अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने भएको छ।
जल क्षेत्रबाट मुलुकको पर्यटन प्रवर्द्धन गर्न ‘हिमालय ह्वाइटवाटर च्यालेन्ज’ प्रतियोगिता गर्न लागिएको हो। ८-१० मंसिरमा हुने प्रतियोगितामा ‘कायक डाउन, रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्री स्टाइल काइकिङ’ गरिने नाराका महासचिव शिव अधिकारीले जानकारी दिए।
जलयात्रा व्यवसायमा संलग्न ‘रिभर गाइड’ तथा जल खेलाडीको सीप र दक्षता वृद्धि, नेपाललाई संसारको उत्कृष्ट साहसिक जलयात्रा गन्तव्यका रूपमा स्थापित गराउने तथा साहसिक जलयात्रामार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको हो।
“नेपालको पर्यटन उद्योगको प्रमुख स्रोतमध्ये साहसिक जलपर्यटन पनि एक हो, यसको विकास र विस्तारका लागि हामीले सन् २००२ देखि यो प्रतियोगिता आयोजना गर्दै आएका छौं,” महासचिव अधिकारीले भने।
उनका अनुसार भारत, जापान, दुबई, अमेरिका, इटाली, टर्की, आइसल्यान्ड र बेलायतलगायत मुलुकमा नेपाली रिभर गाइड क्रियाशील छन्। र, उनीहरूले नै उक्त खेल खेलाउने छन्।