नेपालमा स्यहार र उपचारपछि निरज स्वदेश फर्किए
आशा मारिसकेको छोरो ५ वर्षपछि एक्कासी आएर ढोगिदिएपछि मञ्जुदेवी निःशब्द बनिन् । ५ वर्षअघि हराएका ३६ वर्षीय निरजले आमालाई ढोग्दै गर्दा उनका झैं गाउँलेका आँखामा आँशु टिलपिलाए ।
पिंढीको खाटमा निरज थ्याच्च बसे । कोही बोल्न सकेनन् । निरजका नजर सबैतिर डुले । पाँच वर्षकी छोरी सनिकुमारी पहिलो भेटमै काखमा लुटपुटिइन् ।
एक सय वर्षकी हजुरआमा चम्पादेवी सकिनसकी निस्किइन् । नातिको अनुहार सुम्सुम्याईन् । आँशु खसाल्दै म्वाइँ खाइन् ।
भारत विहारको पटना नजिक सारन जिल्ला वाकरपुर गाउँमा गत बिहीबार कल्पनै नगरिएको पारिवारिक मिलाप भयो ।
करिब ५ वर्षअघि निरज भारतको गुहाटीमा रहेको काकाका छोरा सन्तोष सिंहको फर्निचर उद्योग पुगेर करिब २ महिना काम गरे । केही मानसिक समस्या समेत देखिएपछि उनलाई सन्तोषले घर फर्काइदिए । तीनसुकियाबाट आसाम जाने ब्रम्हपुत्र रेलमा चढेका उनी घर पुगेनन् । आफन्तजन सबैतिर खोजियो तर उनको पत्तो लागेन ।
छोराको तस्वीर लिएर कमलकान्तले शहर, गाउँवस्ती चहारे कहीं पत्तो लागेन । प्रहरी थानामा निरज हराएको निवेदन दिइयो, स्थानीय पत्रिकामा हराएको सूचना छापियो । कहीं कतैबाट कुनै जानकारी नआएपछि भगवान् भरोसामा बस्न थाले परिवार । परिवारले भुलिसकेका थिए ।
तर, बुधबार एक्कासी फोन आयो । निरज भेटिएको खबर नेपालबाट त्यहाँ पुगेको थियो । नेपालबाट फेसबुकमा पठाएको तस्वीर पनि पुग्यो घरमा ।
मञ्जुदेवीको घरमा गएको बुधबारदेखि नै भीडले छोप्न थालिसकेको थियो । मानवसेवा आश्रम चितवनका अभिभावक तथा समाजसेवी केशव अधिकारी मार्फत खबर घरमा पुगेपछि गाउँलेले आश्रम र उनलाई भगवान् सम्झेका छन् । टेलिफोनबाट ठूलो प्रयासपछि परिवारका सदस्य पत्ता लगाएको अधिकारी बताउँछन् ।
छोरा फेला परेको खबरले उत्साहित भएका बाबु कमलाकान्त र उनका सहयोगी बलेखर शाह बुधबार घरबाट रक्सौल हिँडिसकेका थिए । यता निरजसँगै आश्रमका केशव अधिकारी, प्रेमप्रभा अधिकारी र राजगोपाल श्रेष्ठ निस्किए ।
घरपरिवारको नाम, ठेगाना निरजले नै लेखेर दिएपछि खोज्न सजिलो भएको हो ।
नेपाली ढाका टोपीमा थिए निरज । वीरगञ्जको भारतीय सीमामा लिन आइपुगेका उनका बुवा कमलाकान्त भेटेपछि उनले खुट्टा ढोंगे ।
२९ साउन २०७३ मा मानवसेवा आश्रम चितवनका अभियन्ता सडक सेवामा निस्किएका बेला नारायणी पुल नजिकै गैंडाकोटको यात्रु प्रतिक्षालयमा कपडाविहीन अवस्थामा निरज भेटिएका थिए । निधारमा गम्भीर चोट र शरीरका विभिन्न भागमा घाउ थियो । आक्रामक भएकाले जबरजस्ती उठाएर ल्याइएको थियो । गन्धले उनको नजिक जानसक्ने अवस्था थिएन ।
"झुस्स दारी–कपाल थियो, मानसिक अवस्था पनि ठीक थिएन," उद्धारकर्ता आदर्श ढकाल आफ्नो अनुभव सुनाउँछन् । उद्धार गरेर ल्याइएपछि उनको सरसफाइदेखि औषधोपचार शुरु भयो । छोटो समयमै बोल्न सक्ने भए र नाम ठेगाना बताए ।
घरमा खेतीकिसान गरेर बस्ने धोको सुनाएका उनले आगामी दिन आफूजस्तै असहायको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
मानवसेवा आश्रमले चितवन, मकवानपुर र काठमाडौँमा गरी अहिलेसम्म सडकबाट ५०० जनाको उद्धार गरेकामा १६६ जनालाई यसरी नै परिवारसँग पुनर्मिलन गराइसकेको छ ।
नारायण ढुंगाना, रासस
यो पनि पढ्नुहोस्: मानवता विस्तार