कला/साहित्यमंगलवार, मंसिर ४, २०७५

७ पुसदेखि आईएमई नेपाल लिटरेचर फेस्टिभल

हिमालखबर

आईएमई नेपाल लिटरेचर फेस्टिभलको सातौं संस्करण ७ देखि १० पुससम्म कास्कीको पोखरामा हुने भएको छ ।

आयोजक बुकवर्म फाउन्डेसनका अनुसार आईएमई ग्रुपले मुख्य प्रायोजन गर्ने फेस्टिभलमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकारहरुको सहभागिता रहनेछ ।

फेस्टिभलले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनको साथै नेपाली साहित्यको प्रवद्र्धन, पठन संस्कृति तथा बौद्धिक चेतको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा आयोजना हुने साहित्य सम्मेलनमा पनि आफूहरु जोडिन चाहेको बताएका छन् ।

फेस्टिभलका निर्देशक अजित बरालले उमेरको हिसाबसँगै फेस्टिभलले आफ्नो उचाइ मात्र नभई विश्वास पनि बढाएको बताएका छन् ।

नेपाली लगायत अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा, पाठकबीचको दूरी कम गर्ने तथा फरक विचारलाई उत्तिकै सम्मानका साथ स्थान दिनेजस्ता लोकतान्त्रिक अभ्यास मजबुत बनाउने काममा फेस्टिभल उत्प्रेरक बनेको उनको भनाइ छ ।

त्यस्तै संयोजक रविन गिरीले फेस्टिभलबारे थप जानकारी दिन ८ मंसिरमा काठमाडौंमा ‘कर्टेन रेजर’ हुने बताएका छन् । जसमा भारतका प्रख्यात लेखक गुरचरण दास मुख्य आकर्षण हुनेछन् ।

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मन्त्रसहित सन् २०११ मा ललितपुरको झम्सिखेलबाट शुरू भएको फेस्टिभलले सन् २०१७ मा पोखरामा आफ्नो छैटौं संस्करण पूरा गरेको थियो ।

फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र थप रोचक सामग्री समावेश गरिनेछन् ।

फेस्टिभलमा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटनसँग मास्टर वर्कसप तथा क्रिएटिङ हिरोइन्स प्रोजेक्टअन्तर्गतको प्रदर्शनी हुनेछ ।

फेस्टिभलमा मोहम्मद हनिफ (पाकिस्तान), नमिता गोखले (भारत), डा. निकोला स्ट्रिटेन (बेलायत), मञ्जुश्री थापा (क्यानडा), प्रज्ज्वल पराजुली (भारत), हरिश नाम्बियर (भारत) लगायतको सहभागिता रहनेछ ।

 

प्रतिकृया दिनुहोस