व्यक्तित्वमंगलवार, मंसिर ४, २०७५

विम्ब पद्‍मरत्‍न

हिमालखबर

रघु पन्त

आफ्नो जीवन लोकतन्त्र, भाषा र समाज कल्याणमा खर्चिएका पद्‍मरत्‍न तुलाधर तीक्ष्ण हास्यचेत भएका शालीन व्यक्ति थिए।

१६ भदौमा पद्‍मरत्‍न तुलाधरको जंकु (बूढोपास्‍नी) मा पुगेर दीर्घायु र सुस्वास्थ्यको शुभकामना दिएको थिएँ। उहाँले मेरो हात समातेर ठट्टा गर्दै भन्‍नुभएको थियो, “तपाईंलाई म सलाम गरौं कि, मलाई सक्रिय राजनीतिमा धकेलिदिएको त तपाईंले हो नि !”

सँगै बस्‍नुभएकी भाउजूले भन्‍नुभयो, “तपाईं त घरमा आउनै छाड्नुभयो। आउनुस् न !”

दुवै बूढाबूढीको अनुहारमा उल्लास र सन्तोषको भाव थियो त्यसबेला। जीवनको एउटा कालखण्डमा अत्यन्त निकट रहेका पद्‍मदाइ हामी धेरैले दीर्घायुको कामना गरेको केही समयमै अकस्मात् संसार छोडेर जानुहोला भन्‍ने कल्पनासम्म थिएन। १८ कात्तिकमा लाजिम्पाटस्थित घरको आँगनमा राखिएको शवमा श्रद्धाञ्‍जलीका फूल चढाउँदा पनि उहाँ बितेजस्तो लागिरहेको थिएन।

तर, आँखै अगाडि उहाँको शव थियो। भाउजूलाई भेट्न म सरासर घरको माथिल्लो तला उक्लें। के भन्‍ने ! उहाँको शोकाकूल अनुहार एकछिन हेरें र सान्त्वनाका केही शब्द बोलेर तल ओर्लें।

२०३३-०३४ सालतिर होला हाम्रो पहिलो भेट भएको। पद्‍मदाइ नेपाल भाषा आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो। म साहित्यिक, सांस्कृतिक क्षेत्रमा सक्रिय ‘संकल्प परिवार’मा आबद्ध थिएँ। मेरो क्रियाशीलता पत्रकारितामा पनि थियो। झापा आन्दोलनबाट उदाएको क्रान्तिकारी जोश र जाँगरले भरिएको ‘झापाली समूह’ भनेर चिनिने वामपन्थीहरूसँग ‘संकल्प परिवार’आबद्ध थियो।

२०३४ सालमा ताहाचलमा रहेको अशोक राईको डेरामा मैले र ताप्लेजुङका भरत श्रेष्‍ठले तत्कालीन अखिल नेपाल क्रान्तिकारी को-अर्डिनेशन कमिटी (कोके) को पार्टी सदस्यताको शपथ सँगै लियौं। त्यसपछि म राजनीतिक रूपमा झनै क्रियाशील भएँ, योजनाबद्ध रूपमा उपत्यकाका बुद्धिजीवीहरूसँग भेटघाट हुन थाल्यो।

पद्‍मरत्‍न तुलाधर, दुर्गालाल श्रेष्‍ठ, मल्ल के सुन्दर, पूर्ण वैद्यलगायत नेपाल भाषाका थुप्रै साहित्यिक-सांस्कृतिक व्यक्तित्वहरूसँग चिनजान र घनिष्‍टता बढ्दै गयो।

पद्‍मरत्‍न तुलाधर ‘नेपाल भाषा’ दैनिक पत्रिका सम्पादन गर्नुहुथ्यो। असन बालकुमारीमा रहेको उहाँकै छापाखाना ‘मदन प्रिन्टिङ प्रेस’मा उक्त दैनिकको कार्यालय थियो। पद्‍मरत्‍नले पत्रिकाको कम्पोजिटरदेखि सम्पादकसम्मको काम गर्नुहुन्थ्यो।

त्यसबेला मोहनचन्द्र अधिकारी, केपी ओली, राधाकृष्ण मैनाली, नरेश खरेल, घनेन्द्र बस्‍नेत, नारद वाग्लेलगायत झापा आन्दोलनसँग सम्बन्धित थुप्रै राजनीतिक बन्दीहरू जेलमा थिए। राजबन्दीहरूलाई रिहा गराउन कानूनी सहयोग तथा अन्य सरसहयोगका लागि एउटा संस्था बनाउनुपर्‍यो भन्‍ने विषयमा पार्टीमा छलफल भयो र यो जिम्मेवारी मलाई दिइयो।

एकदिन आफूसँग रहेको तत्कालीन पार्टीको मुखपत्र ‘वर्ग संघर्ष’ र अन्य वैचारिक दस्तावेजहरू बोकेर पद्‍मदाइको कार्यालय पुगें र आफ्नो राजनीतिक परिचय खुलाएँ- “दाइ म झापाली समूहसँग आबद्ध छु। यी हाम्रो पार्टीका केही दस्तावेज हुन्। दाइले अध्ययन गरेपछि छलफल गरौं।”

उहाँले स्वीकृतिमा टाउको हल्लाउनुभयो। राजनीतिक निकटता र छलफल बढ्दै जाँदा मैले उहाँलाई विभिन्‍न विचारधाराका राजनीतिक बन्दीहरूलाई सहयोग गर्न एउटा संस्था बनाऔं र त्यसको नेतृत्व तपाईंले गर्नुहोस् भनेर प्रस्ताव राखें।

त्यसपछि उहाँ अध्यक्ष र पत्रकार अशोक श्रेष्‍ठ सचिव रहेको राजबन्दी विमोचन समिति गठन गरियो। यो समितिले राजबन्दीहरूलाई विभिन्‍न सहयोग गर्न थाल्यो। त्यसैबीच ठँहिटीमा रहेको संकल्प कार्यालयमा पद्‍मरत्‍न तुलाधरलाई कहिले जीवराज आश्रित त कहिले माधवकुमार नेपालसँग भेट गराएर उहाँसँग पार्टीको सम्बन्ध निकट बनाउँदै लैजाने काम भयो।

तर, उहाँले पछिसम्म पनि पार्टी सदस्यता लिनु भएन। यद्यपि, पञ्‍चायतकालमा पार्टीको निर्णयलाई गम्भीरतापूर्वक पालन गर्नुभयो।

२०३८ सालको राष्‍ट्रिय पञ्‍चायतको चुनावमा पद्‍मरत्‍न तुलाधरलाई उम्मेदवार बनाउन वामपन्थी नेताहरू शम्भुराम श्रेष्‍ठ, कृष्णदास श्रेष्‍ठलगायतले प्रेरित गरिरहनुभएको थियो। तर, तत्कालीन नेकपा (माले) ले चुनाव उपयोग गर्ने निर्णय गरेको थिएन।

साप्ताहिक ‘युगधारा’ परिवारः बायाँबाट– तीर्थमान ज्यापु, जगदीशचन्द्र भण्डारी, रघु पन्त र मसा श्रेष्‍ठ (उभिएका)। कृष्णदास श्रेष्‍ठ, हिरण्यलाल श्रेष्‍ठ, पद्‍मरत्‍न तुलाधर र श्रीलाल कायस्थ (बसेका)।

पार्टीले उहाँलाई रोक्नका लागि मलाई खटाएपछि म, दुर्गालाल दाइ र मल्ल के सुन्दरसमेतले विवादका बीच निर्वाचन नलड्न आग्रह गर्‍यौं। हाम्रो आग्रह उहाँले स्वीकार गर्नुभयो। उहाँ निर्वाचन नलड्ने भएपछि शम्भुराम श्रेष्‍ठ, कृष्णदास श्रेष्‍ठजस्ता वरिष्‍ठ नेताहरूले समेत ‘कय्टा मरुम नेता’ (लँगौटी नभएको नेता) भनेर सार्वजनिक रूपमै उहाँको आलोचना गरे।

पद्‍मरत्‍न तुलाधरको वाक्शक्ति राम्रो थियो। अनेरास्ववियुको पाँचौं राष्‍ट्रिय सम्मेलनमा वक्ताहरू छान्‍ने क्रममा मैले पद्‍मरत्‍न तुलाधरको नाम प्रस्ताव गरेको थिएँ। शुरूमा त उहाँले मान्दै मान्‍नु भएन। ‘मैले आजसम्म नेपाली भाषामा कुनै मञ्‍चमा भाषण गरेको छैन। सक्छुजस्तो पनि लाग्दैन। त्यसैले म नजाऊँ होला’ भन्‍नुभयो।

तर, पद्‍मदाइको भाषण विभिन्‍न ठाउँमा सुनेको र नेपाली पनि राम्रैसँग बोल्न सक्ने हुँदा मलाई उहाँको क्षमतामा विश्वास थियो। तपाईं जानैपर्छ भनेर जोड गरें। अन्ततः उहाँ त्यो सम्मेलनमा जानुभयो र त्यहाँ सबैभन्दा जोशिलो र प्रभावकारी भाषण उहाँकै सावित भयो।

पद्‍मरत्‍न तुलाधर शालीन, मृदुभाषी, सरल र निष्कपट व्यक्ति हुनुहुन्थ्यो। अरूबाट जानीजानी नोक्सानमा पर्दासमेत त्यसको प्रतिवाद गर्नुहुन्‍नथ्यो। प्रेस सञ्‍चालन गरे पनि नाफा कमाउनु त कताकता कर्मचारीलाई समयमा तलब दिनसमेत सक्नुहुन्थेन।

उहाँको प्रेसमा काम भ्याई नभ्याई हुने तर पैसा नआउने। कम्पोजिटर आएन भने आफैं कम्पोज गर्न थाल्ने, छाप्‍ने मान्छे आएन भने आफैं छाप्‍न थाल्ने। पत्रिकामा सम्पादकीय वा समाचार लेख्दा आफैंले सिसाको अक्षर टिप्दै कम्पोज गर्ने उहाँको खूबी थियो। सम्पादकीय कम्पोज र भेट्न आएकासँग कुराकानी एकैपटक चल्थ्यो।

नेपाल भाषा आन्दोलन, भाषाको सेवा र राजनीतिक सहयोगका लागि उहाँले खतरा मोलेर आफ्नो समय, सम्पत्ति र श्रम लगाउनुभयो। उहाँको छापाखानामा छपाउन आउनेहरू कतिपयले त एड्भान्स दिनु त परै जाओस् छाप्‍ने कागजसम्म किन्‍न लगाउँथे तर पनि उहाँ नाइँ भन्‍न नसक्ने।

मैले धेरैपल्ट उहाँसँग व्यापारलाई व्यापार जसरी सञ्‍चालन गर्न जोड गरें तर उहाँ हाँसेर भन्‍नुहुन्थ्यो, “मेरो स्वभाव नै यस्तै छ त, के गर्ने ?” वास्तवमा पद्‍मरत्‍नको प्रेस नेपाल भाषा आन्दोलनको हेडक्‍वार्टरजस्तो थियो। जहाँ व्यापार शून्य जस्तो थियो तर भाषा आन्दोलनसम्बन्धी बहस र छलफल निरन्तर चलिरहन्थ्यो।

२०४०-०४१ सालदेखि हामी पत्रकारितामा पनि सँगै भयौं। ‘युगधारा’ साप्ताहिक (रातो ‘युगधारा’ पनि भनिन्थ्यो) लाई साझा वामपन्थी साप्ताहिकजस्तो बनाएर चलाऊँ भनेर हामी एउटै टिममा सामेल भयौं। तीर्थमान ज्यापू प्रकाशक, कृष्णदास श्रेष्‍ठ सल्लाहकार, हिरण्यलाल श्रेष्‍ठ प्रधानसम्पादक, पद्‍मरत्‍न तुलाधर वरिष्‍ठ सम्पादक र म कार्यकारी सम्पादक रहेर चलाएको त्यो पत्रिका पञ्‍चायती सरकारले प्रतिबन्ध नलगाएसम्म निकै लोकप्रिय भएर चल्यो।

२०४३ सालको राष्‍ट्रिय पञ्‍चायतको चुनाव तत्कालीन नेकपा (माले) ले उपयोग गर्ने नीति लिएपछि पद्‍मरत्‍नलाई काठमाडौंबाट उम्मेदवार बनाइयो। ‘युगधारा’ले उहाँको निर्वाचन गतिविधिलाई राम्रो ढंगले प्रकाशित गर्थ्यो। म त उहाँको निर्वाचनको अभियानकर्ताजस्तै भएर दिनमा तीन-चार वटा सभामा भाषण गर्दै हिंड्थें।

उहाँले निर्वाचन निकै धेरै मत प्राप्त गरेर जित्‍नुभयो र राष्‍ट्रिय पञ्‍चायतमा बहुदलको पक्षमा राम्रो भूमिका वहन गर्नुभयो।

राष्ट्रिय पञ्‍चायतमा निर्वाचित भएपछि उहाँको राजनीतिक सक्रियता निकै बढ्यो। २०४६ सालमा संयुक्त जनआन्दोलन शुरू गर्ने निर्णयपछि आन्दोलनको अगुवाइ गर्दै शुरुमै गिरफ्तारी दिने नेताहरूमध्ये तुलसीलाल अमात्य र पद्‍मरत्‍न अग्रपंक्तिमा हुनुहुन्थ्यो। हामीलाई आन्दोलनको नेतृत्व गर्ने तर सकेसम्म गिरफ्तार नहुने निर्देशन थियो भने तुलसीलाल अमात्य र पद्‍मरत्‍नजस्ता व्यक्तिहरूले गिरफ्तारी दिने कुरा थियो।

उहाँ ०४८ र ०५१ सालको संसदीय निर्वाचनमा काठमाडौंबाट विजयी हुनुभयो। नेकपा (एमाले) को उम्मेदवारका रूपमा निर्वाचित उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो वामपन्थी सरकारमा स्वास्थ्यमन्त्री हुनुभयो।

महाकाली सन्धिसम्बन्धी विवाद चर्केर नेकपा (एमाले) विभाजित हुँदा उहाँको सहानुभूति विभाजनपछि बनेको माले पार्टीतर्फ रह्‍यो र ०५६ सालको निर्वाचनमा त्यसैको तारा चिन्ह लिएर उम्मेदवारी दिनुभयो तर पराजित हुनुभयो। त्यसपछि भने उहाँ सक्रिय राजनीतिकर्मीको भूमिकाबाट पन्छिँदै मानवअधिकार र भाषा आन्दोलनको क्षेत्रमा बढी सक्रिय हुन थाल्नुभयो।

२०५१ सालको संसदमा निर्वाचित भएदेखि मेरो पनि सबैजसो समय राजनीतिमा बित्‍न र भेटघाट पातलिन थाल्यो। तर, झण्डै दुई दशकजति निष्‍ठ रहेर साहित्य, भाषा, राजनीति र नागरिक अधिकारको आन्दोलनमा सक्रिय रहँदा मैले चिनेको पद्‍मरत्‍न मानवीय गुण र कोमलताले भरिएको पद्‍मरत्‍न हुनुहुन्थ्यो।

अहिलेको प्रगतिशील लेखक संघलाई पुनर्जन्म दिन भनेर हामीले काठमाडौं न्हैकन्तलाको विप्लवी पुस्तकालयमा आयोजना गरेको लेखक-कलाकारहरूको भेलाको अध्यक्षता पद्‍मरत्‍न तुलाधरले नै गर्नुभएको थियो। उहाँ र मञ्जुलको प्रस्तावमा त्यो भेलाले मेरो संयोजकत्वमा राष्‍ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको थियो, जसमा पारिजात, दुर्गालाल श्रेष्‍ठ, मञ्जुललगायत साहित्यिक क्षेत्रका अनेकौं व्यक्तित्व सदस्य रहनुभएको थियो।

पद्‍मरत्‍न कम बोल्नुहुन्थ्यो, धेरै सुन्‍नुहुन्थ्यो। दुर्गालाल श्रेष्‍ठले एउटा साहित्यिक कार्यक्रममा मसँग पद्‍मरत्‍नको प्रशंसा गर्दै भन्‍नुभएको थियो, “ए रघुजी यो पद्‍मरत्‍नले मञ्‍चमा चढेपछि कसरी धाराप्रवाह बोल्न सकेको होला ! अघिपछि बोल्नै गाह्रो तर मञ्‍चमा चढेपछि पानीको मूल फुटेजस्तो आएको छ, आएको छ।”

पद्‍मरत्‍नमा तीक्ष्ण हास्यचेत थियो। उहाँ नेपाल भाषामा पत्रकारका रूपमा मात्र नभएर ख्यालः (हास्यव्यङ्ग्य) लेखकका रूपमा पनि विख्यात हुनुहुन्थ्यो। पञ्‍चायतकालमा पत्रिकाहरूले गाईजात्रे विशेषांक निकाल्ने चलन व्यापक थियो। हामीले चलाउने ‘युगधारा’ साप्ताहिक (रातो) को गाईजात्रे अंकको बढी सामग्री उहाँले नै लेख्नुहुन्थ्यो। शुरूमा उहाँ नेपालीमा लेख्‍न अन्कनाएपछि मैले भनेको थिएँ, “तलमाथि भए मिलाउने म छँदैछु नि, लेखी त हेर्नोस् न जम्छ।” नभन्दै ‘युगधारा’का गाईजात्रे अंकहरू निकै लोकप्रिय थिए।

आज पद्‍मदाइ स-शरीर हामीसामु नभए पनि उहाँ धेरै मानिसको मनमा जीवितै हुनुहुन्छ। नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा उल्लेख्य भूमिका खेल्ने व्यक्तिको रूपमा नेपाली समाजले उहाँलाई निरन्तर सम्झिरहनेछ।

प्रतिकृया दिनुहोस