ब्लगमंगलवार, मंसिर ४, २०७५

अभिजात्य परिवारकी असामान्य व्यक्तित्व रश्मि राज्यलक्ष्मी शाह

कनकमणि दीक्षित

२००७ सालतिर रेडियो नेपालकी सहनिर्देशक रहिसकेकी रश्मि राज्यलक्ष्मी शाहबारे लेखिन बाँकी नै छ ।

पाटन दरबार परिसरको अस्थायी प्लाईवूड भित्तामा विस्मृतिमा पुगिसकेकी एक महिलाको संक्षिप्त जीवनीसहित केही तस्वीर यही २६ असोजदेखि ३० कात्तिकसम्म देख्न पाइयो ।

‘फोटो काठमाडौं’ महोत्सवको ‘द फेमिनिस्ट मेमोरी प्रोजेक्ट’ अन्तर्गत संकलित थुप्रै प्रबुद्ध र साधारण महिलाहरूका फोटो कथामध्ये यो एक थियो । उक्त जीवनीको छोटो चिनारीले पनि २००७ सालको संक्रमणकालीन युग, एउटा युगल जोडीको सम्बन्ध र परम्पराबाट आधुनिकतातर्फ लागेको समाजमा एक महिलाको जीवन – र त्रासदी – सामुन्ने ल्याउँछ ।

रश्मि राज्यलक्ष्मी शाह २००७ सालतिर भर्खरै स्थापित रेडियो नेपालको सहनिर्देशक पदमा रहँदा राजा त्रिभुवन, युवराज महेन्द्र तथा बीपी कोइरालासँग  । 

छेउमै मंगलबजार सडकको ट्राफिक, यता दरबार क्षेत्रमा टहल्नेहरूको चहलपहलका बीच भाइदेगः मन्दिरछेउ राखिएका हक्की नागरिकहरूका धेरै फोटो कथामध्ये यसको महत्व अलि बेग्लै छ— जसले एउटा जीवन र समयलाई छिचोल्छ र थप कौतूहल बढाउँछ । यी तस्वीर संग्रहकर्ताको क्याप्सनले रश्मि राज्यलक्ष्मी शाहको रवाफ, स्वाभिमान र चिन्तनको आकार दिन्छ, र बाँकी जान्न मन लाग्छ । यस फोटो संकलनको आधारमा कसैले थप अनुसन्धान गरोस्,  कसैले इतिहास,  अर्ध–काल्पनिक उपन्यास या पटकथा लेखोस् ।

नेपाल पिक्चर लाइब्रेरीका लागि अनुसन्धानकर्ताद्वय दिवस राजा केसी र नयनतारा गुरुङ कक्षपतिले आफ्ना पात्रलाई यसरी चिनाउँछन्ः ‘प्रसिद्ध पिता बालकृष्ण सम तथा पति जगतप्रकाशजङ्ग शाहसहित परम्परा तोड्ने प्रख्यात अभिजात्य परिवारकी रश्मि राज्यलक्ष्मी शाह... नुवाकोटमा उनका पतिको बिर्ता थियो र त्यहींबाट उनी सन् १९५९ को संसदीय निर्वाचनमा सुधारवादी उम्मेदवारको रूपमा उठेका थिए... सन् १९६२ मा राजा महेन्द्रको शासन विरुद्ध क्रान्ति गर्दा जगतप्रकाशजङ्ग शाह मारिएपछि रश्मि राज्यलक्ष्मी शाह कलकत्तामा बसोबास गर्दै थिइन् ...’

पति जगतप्रकाशजङ्ग शाहसँग रश्मी राज्यलक्ष्मी ।

अनुसन्धानबाट हामी थप जानकारी पाउँछौं, रश्मि राज्यलक्ष्मी २००७ सालतिर भर्खरै स्थापित रेडियो नेपालको सहनिर्देशक पदमा कार्यरत रहिछन् । सोही पदमा रहँदा उनी राजा त्रिभुवन, युवराज महेन्द्र तथा बीपी कोइरालासँग सोफामा बसेको एउटा तस्वीर छ । अर्को तस्वीरमा ज्ञानेश्वरस्थित निवास बाहिर पतिसँग मोटरसाइकलमा सवार देखिन्छिन्, उनी । भनिन्छ, त्यतिबेला नै उनी ‘मोडर्न’ पश्चिमा पहिरनमा हिंडडुल गर्थिन्, नुवाकोटमा पतिसँग पदयात्रामा जान्थिन्, राजनीतिक काममा क्रियाशील थिइन् ।

आम रुपमा प्रचलित एउटा यथार्थ भनाइ छ, इतिहास लेखन आम मानिसको जीवन र भोगाइलाई उपेक्षा गर्दै शासक खानदान र भारदारीमा केन्द्रित हुन्छ । तर, नेपाल पिक्चर लाइब्रेरीको यस अनुसन्धानले त अभिजात्य परिवारको असामान्य व्यक्तित्व र उनको जीवन–मरण पनि सजिलै विस्मृतिमा जाँदो रहेछ भन्ने दर्शाउँछ ।

मोटरसाइकलमा पति जगतप्रकाशजङ्ग शाहसँग रश्मी राज्यलक्ष्मी ।

अग्रगामी समाजको सूचक के हो भने, फोटो, पुस्तक र अन्य सामग्रीलाई जब ‘आर्काइभिष्ट’ हरूले हाम्रोसामु पेश गर्छन्, अन्य विधाका कलमजीवीले प्रस्तुतिलाई मनन् गरेर थप गहिरो गरी इतिहास नियाल्छन् र सामाजिक रूपान्तरणका विभिन्न पाटाहरूको विश्लेषण गर्छन् । काठमाडौं उपत्यकाका चोक–गल्लीमा हालै प्रस्तुत ‘फोटो काठमाडौं’ का अनेकन् प्रस्तुतिले हामीलाई थप कुरा जान्न खुल्दुली जगाउँछन्, नखुलेका पाटा के के हुन् भन्ने कुरातिर धकेल्छन् ।

अनि मुख्य पात्रको ‘मरण’ कै कुरा गरौं– सन् १९६२ मा पति जगतप्रकाशजङ्ग शाह मारिएपछि रश्मि राज्यलक्ष्मी राजनीतिक शरणार्थी भई कलकत्तामा बसोबास गर्न थालिन् । त्यही वर्षको तीजमा उनले दुलहीको पहिरनमा सजिएर आत्महत्या गरिन् । मृत्युको ढोकैमा उभिएर उनले आफ्ना पतिको सम्झनामा कविता रचेकी थिइन् ।

प्रतिकृया दिनुहोस