ब्लुमबर्गले विश्वविद्यालयलाई दिए १ अर्ब ८० करोड डलर चन्दा
बाल्टिमोर- अमेरिकाको न्यूयोर्क शहरका पूर्वमेयर माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई १ अर्ब ८० करोड अमेरिकी डलर दान गरेका छन्।
विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गको भनाइ छ। विश्वविद्यालयले अर्को शैक्षिक सत्रदेखि उक्त रकम विद्यार्थीलाई उपलब्ध गराउने छ।
अमेरिकी इतिहासमा कुनै विश्वविद्यालयले प्राप्त गरेको यो सबैभन्दा ठूलो चन्दा रकम हो। विश्वविद्यालयले विद्यार्थीलाई छात्रवृत्तिका रूपमा रकम उपलब्ध गराउने स्पष्ट गरेको छ। र, यस्तो रकम विद्यार्थीले पुनः भुक्तानी गर्नुपर्ने छैन।
ब्लुमबर्गले जारी गरेको वक्तव्यमा “विश्वविद्यालयलाई एउटा उपहार दिएको” उल्लेख छ। उक्त विश्वविद्यालय बाल्टिमोरका व्यापारी जोन्स हप्किन्सले उपलब्ध गराएको ७० लाख अमेरिकी डलरबाट सन् १८७६ मा स्थापना भएको थियो।
ब्लुमबर्ग एलपीका संस्थापक माइकल ब्लुमबर्ग (७६) विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीमा छन्। उनले सोही विश्वविद्यालयबाट सन् १९६४ मा स्नातक गरेका थिए। एपी/रासस