नेकपा माओवादी (क्रान्तिकारी)को जिल्ला कमिटी नेकपामा विलय
लमजुङ- नेकपा माओवादी (क्रान्तिकारी) परित्याग गरी अध्यक्षसहित सम्पूर्ण जिल्ला कमिटी नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा गाभिएको छ।
क्रान्तिकारीका जिल्ला अध्यक्ष गोबर्द्धन गौली नेतृत्वको जिल्ला कमिटी र देशभक्त पार्टीका जिल्ला सचिव सुरेशचन्द्र न्यौपानेको नेतृत्वमा २९ जनाको समूह नेकपामा प्रवेश गरेको हो। नेकपाले राष्ट्र विकासका लागि थालेको अभियानमा साथ दिँदै अगाडि बढ्ने उद्देश्यले नेकपामा प्रवेश गरेको क्रान्तिकारीका तत्कालीन अध्यक्ष गौलीले बताए।
पार्टी प्रवेशीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता पृथ्वीसुब्बा गुरुङले टीका र खादा लगाएर स्वागत गरे। त्यस अवसरमा सानातिना दलमा रहेर समय बर्बाद गर्नुभन्दा समयमै मूल धारमा प्रवेश गरेर राष्ट्रिय समृद्धिको दिशामा अगाडि बढ्न गुरुङले आग्रह गरे।