पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु
पाँचथर- संघीय सरकारले ३ मंसिरदेखि राष्ट्रिय परिचयपत्र वितरणको शुरुवात गरेको छ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागले पूर्वी पहाडी जिल्ला पाँचथरबाट वितरण थालेको हो। त्यसको शुभारम्भ गृहमन्त्री रामबहादुर थापाले ज्येष्ठ नागरिक भगवतीदेवी भण्डारी (१०२)लाई परिचयपत्र दिई उनकै हातबाट आफ्नो परिचयपत्र बुझेर शुरुवात गरेका हुन्।
त्यस अवसरमा गृहमन्त्री थापाले राष्ट्रिय परिचयपत्रले नागरिकको सुरक्षासँगै मुलुकको समृद्धिमा पनि टेवा दिने आशा व्यक्त गरे।
पहिलो पटक १ लाख १० हजार जना पाँचथरवासी र सिंहदरबारमा कार्यरत ७ हजार कर्मचारी गरी कुल १ लाख १७ हजारलाई सरकारको निर्णय छ।
चालु आर्थिक वर्षमा थप १५ जिल्लामा परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचय पत्र पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए।