रिपोर्टसोमबार, ३ मंसिर , २०७५

सडक कि राज्यले थापेको एम्बुस !

कुन्द दीक्षित

सडकको खाल्डोमा खसेर साइकलयात्री श्यामसुन्दर श्रेष्ठको मृत्यु हुनुमा तीनै तहका सरकार जिम्मेवार छन् ।

श्यामसुन्दर श्रेष्ठको निधन भएको स्थान नजिकैको रूखमा बाँधिएको ‘घोस्ट साइकल’ र सडकमा रहेको खाल्डो छल्ने क्रममा रूखमा ठोक्किइएको एम्बुलेन्स । तस्वीरहरुः कुन्द दीक्षित

कीर्तिपुरमा ल्याबरेटोरी स्कूल गेट अगाडिको ढलको खाल्डो छल्दै पछिल्लो ६ महीना दैनिक सयौं विद्यार्थी हिंडे । बीच सडकमा रहेको उक्त ढल छोप्न शिक्षकहरूले पटकपटक आग्रह गरे, तर ढल व्यवस्थापनको समेत जिम्मेवारी पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वास्ता गरेन । सडकछेउका एक पसले भन्छन्, “रातको समयमा खाल्डो छल्न खोज्दा दुर्घटनामा परेका मोटरसाइकलको गन्ती गरेर साध्य छैन ।”

कात्तिक १० शनिबारको साँझ योग प्रशिक्षक एवम् साइकलयात्री श्यामसुन्दर श्रेष्ठ काठमाडौं चागलस्थित आफ्नो निवासमा आमा सावित्री र बहिनी शोभासँग गफगाफमा रमाइरहेका थिए । सानो भाञ्जाले मोबाइल धेरै खेलाएको भनेर बहिनीसँग गुनासो गरेका उनले बेलुकाको खाना खाएपछि आमासँग भने, “म चोभारसम्म पुगेर आउँछु ।” अँध्यारोमा किन जानुपरेको होला भनेर छक्क परे पनि आमाले केही भनिनन् । किनकि ४१ वर्षीय छोराले सम्पूर्ण नेपाल साइकलमै छिचोलिसकेका थिए ।

सावित्रीका अनुसार, श्यामसुन्दर अन्तर्मुखी स्वभावका थिए । मितव्ययी, थोरै खाने र पहिरनमा विशेष रोजाइ नभएका । अध्यात्म र साइक्लिङमा भने उनको रुचि विछट्टै थियो । लामो यात्रामा निस्किन रुचाउने उनले आफ्ना गुरुलाई पछ्याउँदै काठमाडौंदेखि भारतको दक्षिणी भूभाग कन्याकुमारीसम्म ४ हजार किलोमिटर पैदल तीर्थयात्रा गरेका थिए ।

राति अबेरसम्म श्यामसुन्दर नफर्किएपछि सावित्रीले उनको मोबाइलमा फोन गर्दा लागेन । अत्यास बढ्यो । उनले छरछिमेक गुहारिन्, प्रहरीमा श्यामसुन्दर हराएको रिपोर्ट गरियो । अर्को दिन बिहानै प्रहरीबाट फोन आयो– ‘चोभार जाने सडकमा रहेको खाल्डोमा श्यामसुन्दरको शव फेला परेको छ ।’ यो खबरले परिवार स्तब्ध भयो, छिमेकीहरूमा शोकको माहोल छायो । प्रहरीले घटनास्थलमा श्यामसुन्दरको रातो साइकल र जुत्ता भेट्यो । शवलाई परीक्षणका लागि अस्पताल पठाइयो ।

यो त्रासदीपूर्ण घटनाले पैदल यात्रीका लागि फुटपाथ नभएका, आवश्यक ठाउँमा खतरा सूचक चिह्न नभएका, खुला ढल र अँध्यारा काठमाडौंका सडक मानिसका लागि पासो बनिरहेको जस्ता विषयलाई फेरि बहसमा ल्याइदिएको छ ।

६ वर्षअघि संरक्षणविद् प्रह्लाद योञ्जनको पनि साइकल चलाउँदै गर्दा दुर्घटनामा परेर निधन भएको थियो । दुवैले साइकल यात्रा प्रवद्र्धन गरिरहेका थिए । उनीहरूको मृत्युले सडक सुरक्षामा राज्यको लापरबाही र साइकल लेन बनाउने आफ्नै प्रतिबद्धताप्रति शहरको बेवास्तालाई उदाङ्गो पारेको छ ।

१३औं दिनमा घटनास्थलमा आयोजित श्रद्धाञ्जली सभामा श्यामसुन्दर श्रेष्ठका साथी, आफन्त र शहरका साइकलयात्रीहरू भेला भए । सभाको ब्यानरमा श्यामसुन्दरको तस्वीर देखिएपछि उनका साना भाञ्जाले भने, ‘पाउ’ (‘मामा’) ! पाँच वर्षको छोरालाई बोकिरहेकी शोभा भन्छिन्, “यसले भर्खरै आफ्नो मामालाई चिन्न थालेको थियो । अहिले मामा खोज्दैछ, अब के भन्नु !” भीडभन्दा पर आमा सावित्री भक्कानिइरहिन् ।

“ऊ कति ज्ञानी मान्छे र समर्पित छोरा” उनले सुकसुकाउँदै भनिन्, “आजसम्म कसैलाई नराम्रो वचन लगाएन, कहिल्यै ठूलो स्वरमा बोलेन । उसले चिनी र सेतो चामलको भात खाँदैनथ्यो । सधैं फलफूल, फापर र अरू थोक लिन्थ्यो ।”

ढलबाट निकालिएको श्यामसुन्दर श्रेष्ठको शव (बायाँ) र ढलबाट उनको जुत्ता निकाल्दै प्रहरी ।

छोटो सभामा दुई मिनेट मौन धारण गरिरहँदा नयाँ वर्ष (नेपाल संवत्) मनाउनेहरूको चर्को कोलाहल थियो । नजिकै तिहारका पटाका पड्किरहेका थिए । एउटा एम्बुलेन्स साइरन बजाउँदै त्यही सडक हुँदै हुइँकियो ।

श्यामसुन्दर सानो छँदै बुवाको निधन भएको थियो । दिदीबहिनी विवाह भएर गएपछि उनले नै आमाको सेवा गरिरहेका थिए । उनी अंग्रेजी पढाउँथे र योग सिकाउने काम पनि गर्थे । तर, पैसा कमाउनेतिर कहिल्यै लागेनन् ।

श्यामसुन्दरलाई निलेको खाल्डोमाथि अहिले कंक्रिटको ढक्कन लगाइएको छ । तर, श्रद्धाञ्जली सभाभन्दा एक दिनअघि मात्रै त्यस्तै अर्को खाल्डो छल्न खोज्दा हुत्तिएको एम्बुलेन्स ‘घोस्ट साइकल’ झुण्ड्याइएको रूख नजिकै ठोक्किएको थियो । यो रूख अहिले श्यामसुन्दरको स्मारक बनेको छ ।

१३औं दिनमा आयोजित श्रद्धाञ्जली सभामा श्यामसुन्दरकी आमा सावित्री श्रेष्ठ ।

अधिवक्ता सुनिलरञ्जन सिंहका छोरा ल्याबरेटोरी स्कूलमा पढ्छन् । सडकको बीचमा रहेको खाल्डोबारे सिंहले खानेपानी लिमिटेडका अधिकारीहरूलाई पहिल्यै जानकारी गराएका थिए । उनी भन्छन्, “यो घटनामा तीन वटै तहका सरकारको दोष छ र यसको जिम्मेवारी प्रधानमन्त्रीसम्म पुग्छ ।” सिंह यो विषयलाई अदालतसम्म पुर्‍याउन चाहन्छन्, ताकि भविष्यमा यस्तो लापरबाही हुन नदिन, सम्बन्धित निकायलाई जिम्मेवार बनाउन र क्षतिपूर्तिका लागि ऐतिहासिक निर्णय हुन सकोस् ।

श्यामसुन्दरको शव फेला परेकै दिन काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उक्त खाल्डो आधा घण्टाभित्रै ढाकेको थियो । “यति सजिलै गर्न सकिने काम उनीहरूले पहिल्यै किन गरेनन् ? के उनीहरू कसैको मृत्यु पर्खिरहेका थिए ?” अधिवक्ता सिंह प्रश्न गर्छन् ।

प्रहरीले शव परीक्षण प्रतिवेदन तिहारपछि सार्वजनिक गरेको छ । सबैले सोचे जस्तै प्रतिवेदनमा भनिएको छ, “साइकलबाट खसेर अचेत भएका श्यामसुन्दरको आधा मिटर गहिरो ढलमा डुबेर मृत्यु भयो ।”

मानिसहरूले समवेदना प्रकट गरिरहँदा सावित्री श्रेष्ठ एक्लो र निसहाय देखिएकी थिइन् । उनले हात जोडेर प्रार्थना गर्दै भनिन्, “मैले छोरालाई सडक नभएका ठाउँमा नजान भन्थें, तर उसको मृत्यु सडकमै भयो, त्यो पनि राजधानीकै सडकमा । मेरो छोरा जस्तै अब अरू कोही नमारियोस् ।”

प्रतिकृया दिनुहोस