रिपोर्टसोमबार, ३ मंसिर , २०७५

सुविधा गाउँमा, गाउँले शहरमा

युवराज श्रेष्ठ

पोखरा- सडक, बिजुली, पानी, विद्यालयदेखि स्वास्थ्य संस्थासम्मका सबै सुविधा पुगेको कास्कीको ताङतिङ गाउँ भने रित्तिँदैछ।

कास्कीको मादी गाउँपालिका २ स्थित ताङतिङ गाउँ।

पोखराबाट २३ किलोमिटर उत्तर समुद्र सतहभन्दा १ हजार ६८५ मिटर उचाइमा छ, ताङतिङ गाउँ। पोखराबाट बसमा करीब सवा घण्टामा पुगिने ताङतिङको पण्डितटोलस्थित बौद्धगुम्बासँगै जोडिएको घरमा बत्ती बलिरहे पनि आँगनमा मान्छे देखिँदैनन्।

घरमूली भारतीय सेनाका अवकाशप्राप्त सुवेदार शेरबहादुर गुरुङ बेलाबखत पोखराबाट आएर ढोका उघार्छन्। “गाउँको माया लाग्छ र कहिलेकाहीं गएर बस्छु,” उनी भन्छन्, “एउटा बत्तीको स्वीच भने सधैं अन गरेर छोड्छु।”

ताङतिङका सबै घरमा खानेपानीका धारा छन्। पर्यटकीय यो गाउँमा रोजगारीको अवसरदेखि शिक्षा, स्वास्थ्यलगायत सुविधासँगै जीविकोपार्जनका लागि उपयुक्त वातावरण छ तर बसाइँसराइ रोकिएको छैन।

शेरबहादुरको जस्तै रित्तै भए पनि बत्ती बलिरहने अरू घर पनि छन्, ताङतिङमा। लघु जलविद्युत् आयोजनाबाट वितरित बिजुली खपत गरेवापतको शुल्क भने उनीहरूले शहरबाटै पठाउने गरेको त्यहीं बसिरहेका दिलबहादुर गुरुङ बताउँछन्।

परिवारका सबै बसाइँ सरेर पोखरा र अन्य स्थानतिर लागेपछि केहीले भने गाउँको घरमा आफन्तलाई बस्‍न दिएका छन्। दाजुभाइ सबै अन्यत्रै लागेपछि विष्णुमाया गुरुङ (५०) ले माइती घर रेखदेखको जिम्मा लिएकी छन्।

उनका दुई दाजुभाइमध्ये भारतीय सेनाबाट अवकाशप्राप्त दाजु केशबहादुर गुरुङ सपरिवार भारत पश्‍चिमबंगालको सिलगुडीमा बस्छन्। १७ वर्ष जापानमा रोजगारी गरेका कान्छा रणध्वज गुरुङले काठमाडौंमै घरजम गरेका छन्।

“बुवाआमा बितिसक्नुभयो, दाजुभाइले पनि पुर्ख्‍यौली घरमा बस्‍न नचाहेपछि म आफैं बसेकी छु,” घर पनि नजिकै भएकाले माइती घरमा बस्‍न सजिलो भएको उल्लेख गर्दै उनी भन्छिन्।

भारतीय सेनाबाट सेवानिवृत्त ताङतिङका डमरबहादुर गुरुङ (६६) १४ वर्षदेखि अफगानिस्तानमा छन्। बेलायती दूतावासमा सुरक्षा गार्डको काम गर्ने डमरको परिवार पोखरामा छ भने उनको घरमा स्थानीय शेरबहादुर गुरुङको परिवार बस्छ।

“गाउँका कुनै परिवारमा दाजुभाइ छुट्टिए भने नयाँ घर बनाउनुपर्दैन,” स्थानीय डिलबहादुर गुरुङ भन्छन्। उनका अनुसार बसोबास सारेका घरमालिकले हिफाजत गर्ने शर्तमा आफ्नो घर गाउँलेलाई दिनसक्छन्।

ताङतिङमा घर भएर पनि अन्यत्र बसाइँ सरेकाहरूको संख्या गाउँमै बस्‍नेहरूभन्दा धेरै छ। पोखरा बसाइँ सरेकाहरूले गठन गरेको दूधपोखरी समाजमा मात्र ताङतिङबाट आएका २०० परिवार आवद्ध छन्।

यस्तै, बेलायती सेनामा भर्ती भएर उतै बसोबास गर्ने परिवारको संख्या ५० रहेको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ बताउँछन्। ताङतिङवासीहरू पोखरा, काठमाडौं र बेलायतमा मात्र होइन, अमेरिका, हङकङ र भारतमा पनि उल्लेख्य संख्यामा पुगेका छन्। गाउँबाट निस्केकाहरू नफर्किएपछि गाउँ रित्तिँदै गएको अध्यक्ष गुरुङ बताउँछन्।

अवसरले रोकेन

गाउँमा आधारभूत सुविधा पुगे र विकासका पूर्वाधार निर्माण भए भने बसाइँसराइ रोकिन्छ भन्‍ने मान्यता ताङतिङले अस्वीकृत गरिदिएको छ। गाउँमा सडक पुगेपछि त्यही बाटो मोटर चढेर गाउँले शहर झरे, देशविदेश पुगे। एक दशक अघिसम्म जिल्लाकै सर्वोत्कृष्‍ट ठहर भएको विद्यालयमा विद्यार्थीको संख्या निरन्तर ओरालो लागिरहेको छ, स्वास्थ्य केन्द्र र प्रसूति केन्द्रमा सेवाग्राही भेटिँदैनन्।

स्थानीय हिमालय माविमा विद्यार्थीको कुल संख्या १२० मात्र छ। कक्षा ९ र १० मा पुगेकालाई विद्यालयको होस्टलमा राखेर पढाउने गरिएको यो विद्यालयबाट आगामी एसईईमा परीक्षामा जम्मा १३ जना विद्यार्थी सहभागी हुँदैछन्।

प्रधानाध्यापक ओमप्रकाश गुरुङ बसाइँसराइका कारण विद्यार्थीको संख्या मात्र नभई शैक्षिक गुणस्तर पनि खस्किन थालेको बताउँछन्। उनी भन्छन्, “धेरै विद्यार्थीबीच प्रतिस्पर्धा हुँदा नतिजा राम्रो आउँथ्यो।” उनका अनुसार केही वर्ष अघिसम्म पनि नजिकका सिक्लेस, याङजाकोटका विद्यार्थी पढ्न यहाँसम्म आइपुग्थे। आफ्ना छोराछोरी होस्टलमा राख्‍ने चाहनेहरूको ताँती हुन्थ्यो।

दुई वर्षअघि मात्र मोटरबाटो पुगेको ताङतिङमा अहिले सार्वजनिक यातायात र निजी सवारी साधन पुगिरहेका छन्। गाउँकै बेंसीबाट बग्‍ने मादी नदीमा जलविद्युत् आयोजनाहरू बनेका छन्, केही बन्दैछन्। पल्लो डाँडामा रहेको पर्यटकीय गाउँ सिक्लेससँग जोडिने गरी मोटरबाटो निर्माण भएको छ।

ताङतिङमा मात्र अहिले ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजना र १३ मेगावाटको नामार्जुङ जलविद्युत् आयोजना निर्माणाधीन छन्। २५ मेगावाटको अपर मादी निर्माण सम्पन्‍न भइसकेको छ। सुपरमादीमा स्थानीयवासीको तर्फबाट रु.६ करोड लगानी गर्ने गाउँपालिकाले सम्झौता गरेको छ। त्यसमध्ये गाउँमै र बाहिर रहेका समेतहरूबाट रु.३ करोड संकलन भइसकेको र बाँकी संकलनकै क्रममा रहेको गाउँपालिका अध्यक्ष गुरुङ बताउँछन्।

जलविद्युत् आयोजनाहरूले गाउँमा लगानीसँगै रोजगारीको अवसर तयार पारेका छन्। तर, विदेशिने रहरले गर्दा अधिकांश युवा गाउँमा अडिन सकेका छैनन्। उनीहरू सकेसम्म बेलायती सेना नभए भारतीय सेना र त्यो पनि नभए वैदेशिक रोजगारीलाई प्राथमिकता दिइरहेका छन्।

आयोजनाले दैनिक ८ घण्टा काम गर्दा अदक्ष कामदारलाई समेत रु.२१ हजारदेखि रु.२५ हजारसम्म तलब दिन्छ। यसमा अतिरिक्त समय काम गर्दा थप रकमसँगै कामदारलाई सामाजिक सुरक्षा पनि प्रदान गरिने जलविद्युत् कम्पनीहरू बताउँछन्।

युवाको रुचि भने बाहिरिनमै छ। तिनैमध्येका एक भगत गुरुङ भन्छन्, “आयोजनाभन्दा बाहिर धेरै कमाइ हुन्छ, विदेश घुम्‍न पनि पाइयो।” त्यसैले हुनुपर्छ, ताङतिङका कोही युवा पनि जलविद्युत् आयोजनामा काम गरिरहेका छैनन्।

ताङतिङमा तरकारी खेती, पशुपालन, फूलखेती, पर्यटन व्यवसायमा पनि राम्रो अवसर छ। तैपनि यहाँ केही होमस्टे र दुई वटा साना होटलबाहेक अन्य व्यवसाय स्थापना भएका छैनन्। उसो त अहिल्यै पनि ताङतिङमा पर्यटकहरू गइरहेकै छन्। तर, यहाँका होटल र होमस्टे पर्याप्त छैनन्। भएकामा पनि युवा भेटिँदैनन्, सेवा राम्रो छैन।

२५ वर्ष अघिसम्म विदेशी पर्यटक पोखराबाट ताङतिङ हुँदै लमजुङको भुजुङ-घलेगाउँ हुँदै बेसीशहर निस्कन्थे भने कोही थुर्जुलेक-दूधपोखरी हुँदै मनाङको तिमाङ जान्थे। तर, अन्‍नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले मर्स्याङ्दीको तीरैतीर मनाङ हुँदै थोराङपास भएर मुस्ताङबाट कालीगण्डकीको तीरैतीर पोखरा फर्कने पदमार्ग प्रवर्द्धन गरेपछि यो बाटो चल्तीमा आउन छाड्यो।

अहिले ती पदमार्गमा मोटरबाटो बनेपछि वैकल्पिक पदमार्गका रूपमा यही पुरानो बाटोको प्रवर्द्धन गर्न थालेको एक्यापका पर्यटन अधिकृत रश्मि आचार्य बताउँछन्। यसले ताङतिङमा पर्यटन व्यवसायको सम्भावना झनै बढाएको छ।

गाउँपालिकालाई चुनौती

ताङतिङको जस्तै अवस्था छ, मादीका अन्य गाउँको पनि। गाउँमा उत्पादन वृद्धि साथै रोजगारी तथा व्यवसायका अवसर दिएर युवालाई गाउँमै रोक्ने चुनौती छ गाउँपालिकालाई।

“गाउँपालिकाले स्वरोजगारका लागि युवालाई नगद अनुदान दिने कार्यक्रम ल्याएको छ,” मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ भन्छन्, “यसबाट उत्पादन बढाउन र युवालाई गाउँमै रोक्न मद्दत पुर्‍याउँछ कि !”

उनका अनुसार ४० वर्षमुनिका विदेश नजाने युवालक्षित यो कार्यक्रममार्फत गाउँपालिकाले रु.५० हजारदेखि रु.२ लाखसम्म अनुदान दिनेछ। त्यसका लागि गाउँपालिकामा उपयुक्त व्यावसायिक प्रस्ताव पेश गर्नुपर्छ। तर, गाउँपालिकाको यो प्रस्तावमा पनि युवाको ध्यान गएको देखिँदैन।

पोखरास्थित पृथ्वीनारायण क्याम्पसका समाजशास्त्र विभाग प्रमुख प्रा.डा. विश्वकल्याण पराजुली गाउँबाट शहरतर्फ पलायन हुने प्रवृत्तिलाई स्वाभाविक ठान्छन्। “गाउँमा भएकाहरू शहरमा, शहरका राजधानीमा र राजधानीका विदेश पलायन हुने विश्वव्यापी प्रचलन हो,” उनी भन्छन्, “विदेश गएकाहरू फर्कन सक्ने सम्भावना रहन्छ तर सबैलाई गाउँमै रोक्न सकिँदैन।”

प्रतिकृया दिनुहोस