टिप्पणीआइतवार, कार्तिक २१, २०७३

अग्निपरीक्षामा कांग्रेस नेतृत्व

पुरञ्जन आचार्य

कांग्रेस सभापति शेरबहादुर देउवा लोकमान प्रकरणलाई अवसर बनाउन दत्तचित्त छन्।

धेरैको अड्कल विपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध उभिए। देउवाको लागि कार्की विरुद्ध उभिनु सामान्य थिएन, तर उनले हिम्मत गरेर 'अब लोकमानलाई बचाउन सकिन्न' भनी कांग्रेस कार्यसमिति र संसदीय दललाई आश्वस्त पारे, युवा नेताहरूलाई हौस्याए। 

देउवाले कांग्रेस सभापति र संसदीय दलको नेता भएपछि राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाबारे समीचीन समीक्षा गर्ने समय भइसकेको छैन। देशमा विद्यमान विषम राजनीतिक–सामाजिक परिस्थितिमा उनले लिएको जिम्मेवारी सिंहावलोकन गरेर चुनौतीहरूबारे सतर्क गराउनुपर्ने समय भने यही हो।

पार्टी सभापतिको भूमिका
कांग्रेस पार्टीको इतिहास हेर्दा शेरबहादुर देउवा सभापति बन्नुलाई असाधारण अवसर मान्नुपर्छ। किनभने, नेपाली समाजले जानेबुझेको मान्यता हो– कांग्रेस कोइराला, कोइराला नै कांग्रेस। कार्यकर्ताहरूको मानसिकताले कांगे्रसलाई कोइरालाको पार्टी भनी स्वीकारेको स्थिति अझै पनि छ।

१३औं महाधिवेशनबाट देउवा पार्टी सभापति बन्ने संभावनामा युवाहरूले कांग्रेसमा आफ्नो राजनीतिक भविष्य सुरक्षित हुने देखे। कोइराला परिवार बाहिरबाट पनि कांग्रेसको नेतृत्वमा पुग्न सम्भव छ भन्ने भयो।

प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसीहरूले आफूलाई सभापतिको उम्मेदवार भन्न नहिच्किचाउनुको पछाडि देउवा नै थिए होलान्, प्रेरणाको रूपमा। रामचन्द्र पौडेल र सिटौलाले त उम्मेदवारी नै दिए। सभापतिमा देउवाको जितसँगै आम कांग्रेसमा पार्टीको कुनै पनि पदमा पुग्न सक्छु भन्ने विश्वास स्थापित भयो। कांग्रेसको १४औं महाधिवेशन योभन्दा रोचक हुने पक्का छ।

सभापति देउवाको महामन्त्रीमा बीपीपुत्र डा. शशांक कोइराला छन्। हजारौं प्रतिभावान, सक्षम र कांग्रेसको आदर्शको लागि जवानी–जीवन अर्पेकाहरूभन्दा कार्यकर्ताहरूको लागि शशांक प्रिय हुनु उनको धमनीमा बीपी कोइरालाको रगत बग्नुप्रतिको समर्पण हो। यो विश्वास र भरोसा पनि हो।

अन्यथा, लोकतान्त्रिक मूल्यमान्यताको रक्षकको रूपमा नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायको समेत आँखाको नानी भएका युवा नेता गगन थापा महामन्त्रीमा पराजित हुने थिएनन्। यद्यपि, महामन्त्रीमा पराजित भए पनि गगन कांग्रेस राजनीतिमा 'वाजीगर' भएका छन्। संसद्मा गगनले छेलेको कमजोर र लाचार छायाँ बनेका देखिन्छन्, डा. शशांक। रक्त सम्बन्धको मात्र कारणले नेता हुन गाह्रो हुने रहेछ।

सभापतिमा देउवाको विजयपछि कांग्रेसका पुराना र निष्ठावान कार्यकर्ता चिन्तित थिए। देउवाले लोकतन्त्रप्रति निष्ठा देखाउलान्? पार्टीको गौरवशाली इतिहासको रक्षक हुन सक्लान्? देउवामाथि कैयन् कोणबाट शंका उठेको थियो, उनको विगतका कारण पनि। देउवाले कराई–कराईकन स्पष्टीकरण दिनुपरेको थियो– “म पाँचदशक अगाडि जुँगाको रेखी बस्दै गर्दा कांग्रेसको आदर्श पछ्याएको कांग्रेसी हुँ।”

पार्टी सभापति भएयताको समयको समीक्षा गर्दा देउवा कांग्रेसलाई सन्तुलित–संस्थागत ढाँचा दिन लागिपरेको देखिन्छन् पनि। उनले वर्षौंदेखि हुन नसकेको नेपाल विद्यार्थी संघको महाधिवेशन गराए। विगतमा नेविसंघ कांग्रेसको कारखाना थियो। देउवा स्वयम् त्यसको उत्पादन हुन्।

महिला संघको महाधिवेशन पनि गराएर उनले सभापतिमा उठ्दा गरेका वाचाहरू सीमित नै भए पनि पूरा गरे। कांग्रेस पार्टीमा केही पदाधिकारी र केन्द्रीय सदस्य भर्ने काम बाँकी छ। केही समिति पनि गठन हुन बाँकी नै छन्।

देउवाले सभापतिको चुनाव आफ्नो पक्षमा पार्न पार्टीभित्र–बाहिरका पुनरुत्थानवादी र दक्षिणपन्थीहरूसँग हातेमालो गरेको चर्चा कांग्रेस वृत्तमा छ तर, देशको राजनीतिलाई सही दिशा दिन उनले त्यस्ता कोठे लेनदेनलाई महत्व दिन सक्तैनन्।

देश हितको लागि पार्टीका केही पद खाली राखेर पनि सभापतिले आफ्ना प्राथमिकता निर्धारण गर्न सक्नुपर्छ। उपसभापति र महामन्त्री चयन नगरी मुलुकको संक्रमणकालीन अवस्थालाई सामान्य अवस्थामा पुर्‍याउन लागिपरेका हुन् भने देउवा ठीक बाटोमा छन्।

देशको नेताको भूमिका
शेरबहादुर देउवाले कांग्रेस पार्टीभित्रको भ्रष्ट र दक्षिणपन्थी समूहसँग अहिलेसम्म समर्पण गरेका छैनन्। उनी नेपाली समाजलाई धर्मनिरपेक्ष, गणतान्त्रिक, समावेशी र संघीय पथमा जानबाट रोक्ने संगठित प्रतिगामी समूहसँग अझै जुझदै छन्। अहिले लोकमान प्रकरणमा देउवालाई बलियो बनाउन पार्टीभित्र ऊर्जावान युवा पंक्ति र बाहिर जागरुक नेपाली समाज खडा भएका छन्।

कांग्रेस र माओवादी केन्द्रको गठजोड सरकार भए पनि दुवै नेताबीच गहिरो छलफलपछि संसद्मा लोकमान विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको होइन।

यसको राम्रो पक्ष के हो भने, शीर्ष नेताहरूको कोठे बैठकबाट नेपाली राजनीतिको कमाण्ड संचालन हुने प्रवृत्तिविरुद्ध यो पटक युवा सांसद्हरूको सक्रियतामा महाअभियोग प्रस्ताव अगाडि बढ्यो। कांग्रेसभित्र देउवाले युवा सांसद्हरूलाई साथ दिए, माओवादी केन्द्रमा पुष्पकमल दाहालले आफ्ना पूर्व लडाका प्रमुखहरूको सक्रियतालाई समर्थन गरे।

कांग्रेस–माओवादी केन्द्रको गठजोडबाट सत्ता निर्माण भएपछि चिढिएर प्रतिपक्षको भूमिकामा पुगेको नेकपा एमाले पनि लोकमान प्रकरणबाट बालुवाटार र सिंहदरबार प्रवेश गरेको छ। महाअभियोग प्रकरणबाट एमाले अध्यक्ष केपी शर्मा ओली फेरि जनजिब्रोमा छाए।

यही प्रकरणले नेपालका प्रमुख दलहरूलाई फेरि एकपटक राष्ट्रका समस्यामाथि छलफल–बहस गर्न एकठाउँमा जुटाएको छ। कांग्रेस सभापति देउवाले महाअभियोग प्रस्तावलाई षडयन्त्र वा कम्युनिष्ट साँठगाँठको रूपमा अर्थ्याउन चाहेनन्।

भोलि आफू प्रम हुने, नहुने भन्ने सरोकार पनि देखाएनन्, यस प्रकरणमा। बरु, देशका समस्याहरू समाधान गर्ने अवसर यही हो भनी प्रस्तुत भए। प्रतिपक्षी एमाले पनि लचिलो भयो। यसलाई कांग्रेस सभापति देउवाले देशको नेताको रूपमा खेलेको सन्तुलित भूमिका मान्न सकिन्छ।

देउवा धेरै आश्वासन दिने नेता भनेर चिनिंदैनन्। उनको नेतृत्वसँग कांग्रेसजन र देशवासीका धेरै अपेक्षा छैनन् पनि। नेपाली जनताले एकदशक अघिको आन्दोलनबाट पाएको उपलब्धिहरूलाई संस्थागत गरी देशलाई संक्रमणबाट सामान्य अवस्थामा पुर्‍याउने कार्यभार मात्र देउवासँगको अपेक्षा हो यतिखेर।

त्यो सामान्य अवस्था भनेको संविधान कार्यान्वयन हो। प्रतिपक्षमा बसेको एमाले माओवादी केन्द्रका चञ्चले नेताका कारण संविधान कार्यान्वयन हुँदैन कि भनी शंका गरिरहेको छ। कांग्रेसभित्र पनि शंका छ। सुखद् पक्ष के भने, संविधान कार्यान्वयनको कुरामा कांग्रेस र एमालेबीच कुनै विमति छैन, प्रतिस्पर्धा पनि छैन।

नेपालको राष्ट्रिय राजनीतिमा जे जति तिक्तता र प्रतिस्पर्धा छ, मनोवैज्ञानिक रूपमा त्यो माओवादी केन्द्र र एमालेबीचमा छ। कांग्रेस–एमालेबीचमा त को देशको एक नम्बर पार्टी हुने भन्ने स्वस्थ प्रतिस्पर्धा मात्र छ, जुन चुनावको समयमा हुँदै आएको छ।

यसरी हेर्दा, कांग्रेस सभापति देउवासामु नेपाली कांग्रेसको रूखमुनि बहुमत नेपालीलाई ल्याउने ठूलै चुनौती देखिन्छ, अहिले। यो किन पनि भने, नेपाली जनताको चुनावी अभिमत कम्युनिष्टहरूले बढी पाएको अवस्था छ। त्यसका लागि देउवाले कांग्रेस सभापति भएर मात्र पुग्दैन, देशकै नेताको रूपमा पेश हुन सक्नुपर्छ।

लोकमान प्रकरणबाट कांग्रेसभित्र एउटा सशक्त नेता पंक्ति उदाएको छ– भरोसा र विश्वास गर्न लायक। यो अवसर सभापति देउवाले बनाएका हुन्। देशका ज्वलन्त राजनीतिक मुद्दाहरूमा कांग्रेसका केही युवा सांसद्ले जनता र पार्टीलाई जोडेका छन्। महामन्त्री शशांक कोइरालाको अराजनीतिक पृष्ठभूमिबाट फाइदा उठाउँदै पार्टीलाई दक्षिणपन्थतर्फ धकेल्ने पुनरुत्थानवादी र दरबारियाहरूको प्रयासलाई यिनै सांसद्हरूको सक्रियताले असफल बनाउँदैछ।

२०४६ सालको परिवर्तनपछि कांग्रेस र देशलाई नीति दिएर अहिले थकित भलाद्मी बनेका कांग्रेसभित्रको समूह पनि किनारा लागेको छ। आफूलाई सभापति स्वीकार्न गाह्रो मानेको त्यो समूहलाई पन्छाएर कांग्रेसमा कुनै 'लिगेसी' नबोकेका र कुनै सम्बन्ध वा लेनदेनमा नउल्झिएका युवा समूहमार्फत पार्टीलाई नेपाली समाजसँग जोड्न लागिपरेका हुन् भने देउवाको यो कार्य प्रशंसनीय हुनेछ। देशको संक्रमणकालीन राजनीति र कांग्रेसको आन्तरिक गठजोडमा देउवा कुनै जोखिम नउठाई फुकी–फुकी कदम चालिरहेका देखिन्छन्, अहिले।

देउवालाई अवसरै अवसर
नेपाली राजनीतिमा जुन सिस्टम छ, त्यसको चर्चित पात्र लोकमान हुन्, यतिखेर। उनी भिलेन र हिरो हुन् यतिखेरका। अरू कैयन्ले लोकमानको त्यही कर्तुत गरिरहेका छन्, जुन गर्दा लोकमानसिंह कार्की महाअभियोग प्रस्ताव दर्ता भएर चर्चित बनेका छन्।

महाअभियोग प्रस्ताव फेस गर्ने अवस्थासम्म आइपुग्दा लोकमानसिंह कार्कीका कमी–कमजोरी, अहंकार र महत्वाकांक्षाले भूमिका खेल्यो होला, तर बिर्सन नहुने कुरा, उनी सत्ता र सिस्टमबाट जन्मेका हुन्, उनले यो सिस्टम जन्माएको होइन।

लोकमान नेपालको निजामती प्रशासन र त्यसमा पनि खासगरी राजश्व प्रशासनको उपज हुन्। अब प्रश्न उठ्छ, नेपालका नेताहरू त्यो उत्पादन थलोसँग हिमचिम र लेनदेन गर्छन् कि सुधार–कारबाहीको प्रक्रिया अगाडि बढाउँछन्?

नेपालको राजनीतिक प्रणाली भ्रष्ट मात्र छैन, राज्यको पैसा लुटेको उन्मादमा संविधान, कानून, नियम तोडी प्रम वा राष्ट्रपतिसम्म हुने सपना देख्न सक्छ भन्ने महाअभियोग प्रकरणबाटै देखियो।

आम नेपाली त हतप्रभ नै छन्, किनकि देशमा भ्रष्टाचार निर्मूल गर्ने जिम्मेवारी पाएको अगुवामाथि नै भ्रष्टाचारको आरोपमा महाअभियोग प्रस्ताव दर्ता भएको छ। र, लोकमान प्रकरणले कसैलाई आफ्नो राजनीति उठाउने अवसर दिएको छ भने सबभन्दा बढी कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको छ।

प्रतिकृया दिनुहोस