द्वन्द्वपीडितको राष्ट्रिय सम्मेलन मंगलवारदेखि
काठमाडौं- द्वन्द्वपीडितको राष्ट्रिय सम्मेलन मंगलवारदेखि शुरु हुँदैछ। संक्रमणकालीन न्यायको जारी प्रक्रियाको सिंहावलोकन गर्दै भावी रणनीति तय गर्ने उद्देश्यले द्वन्द्वपीडित साझा चौतारीले सम्मेलन आयोजना गरेको हो।
सम्मेलनमा मुलुकका सबै जिल्लाका करीब २०० प्रतिनिधिको सहभागिता रहने अध्यक्ष भागीराम चौधरीले जानकारी दिए। चौतारीले कात्तिकमा पोखरा, नेपालगञ्ज, विराटनगर, जनकपुर र ललितपुरमा प्रादेशिक सम्मेलन आयोजना गरेको थियो। उक्त सम्मेलनमा पीडित तथा अन्य सहभागीले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याई दण्डहीनताको अन्त्य गर्न, सत्य जान्न पाउने अधिकारको प्रत्याभूति, पीडितलाई न्याय, पीडकलाई सजाय, राष्ट्रिय मेलमिलाप तथा पीडितको व्यक्तिगत पहिचान, प्रतिष्ठा, आत्मसम्मानलगायत विषयमा सुझाव दिएका थिए।
राष्ट्रिय सम्मेलनले प्रदेशबाट प्राप्त सुझावलाई आवश्यक परिमार्जनसहित बडापत्रको स्वरूप दिने अध्यक्ष चौधरीले बताए। राष्ट्रिय सम्मेलन अवधिभर द्वन्द्वपीडितका माग र मुद्दासँग सरोकार राख्ने संस्था, संगठन र व्यक्तिबाट व्यक्त धारणा संकलन गरिनेछ। रासस