उमेर कापी बोक्ने, काखमा नानी
मुगुको खत्याड गाउँपालिकाको ५ नम्बर वडा (साबिकको खमाले गाविस) लाई १० मंसीर २०७२ मा बालविवाह मुक्त वडा घोषणा गरियो। विडम्बना, यो घोषणा अघि र पछि पनि वडा नम्बर ५ मा बालविवाह जारी छ।
गएको तीन वर्षमा मात्रै यहाँ २० वर्षभन्दा कम उमेरमा आमा बनेका किशोरीको संख्या करीब ६० रहेको वडा कार्यालयका लेखा एवम् कम्प्युटर सहायक भक्तबहादुर रोकाया बताउँछन्। उनका अनुसार सानै उमेरमा विवाह गर्ने किशोरीका श्रीमानले पछि अर्को विवाह गर्दा यी महिलाहरू थप पीडामा पर्ने गरेका छन्।
कानूनले महिला र पुरुष दुवैलाई २० वर्ष नपुग्दै विवाह गर्न रोक लगाएको छ। २० वर्ष नपुग्दै भएमा विवाह बालविवाह ठहरिने र त्यस्तो विवाह स्वतः रद्द हुने कानूनी व्यवस्था रहेको जिल्ला अदालत मुगुका न्यायाधीश जवाहरप्रसाद सिंह बताउँछन्।
तर, कानून, स्वास्थ्य, विकासबारे न्यून चेतना भएका यहाँका किशोर-किशोरी मात्रै होइन निरन्तर वञ्चितीकरणमा परेका अभिभावकहरू पनि बालविवाहबाट समाजमा व्याप्त समस्यालाई नियति ठान्छन्। बालविवाह मुक्त घोषणा उनीहरूका लागि सरकार र गैरसरकारी संस्था (एनजीओ) को नाराभन्दा बढी केही होइन।
कापी बोक्ने उमेरमा नानी
१६ वर्षकै उमेरमा भागेर विवाह गरेकी खत्याड-५ लमेराकी कल्पना बुढा (१७) ले गएको वर्ष एसईई परीक्षा दिन पाइनन्। पढाइ र खेलकुदमा रमाउनुपर्ने बेला उनको काखमा १० महिने शिशु छ। “अघिल्लो वर्ष एसईईमा दुई विषय लाग्यो, यसपालि पनि घरधन्दा र बच्चाको स्याहार गर्दैमा ठिक्क भयो,” बुढा भन्छिन्।
फोनमा कुरा गर्दागर्दै माया बसेपछि बिहे गरेको बताउने उनी केही थाहै नपाई बच्चा जन्मिएको र घर-व्यवहारले च्यापेपछि पढाइ छुटेको भन्दै पश्चाताप गरिरहेकी छन्।
मुगु खत्याड गाउँपालिकाको वडा नम्बर ५ जिल्लाकै पहिलो बालविवाह मुक्त घोषित वडा हो तर यहाँ घरैपिच्छे किशोरी आमा भेटिन्छन्।
खत्याड-५ कोटिल्लाकी इन्दिरा बुढा (२१) ले पनि ८ वर्ष अगाडि भागेर विवाह गरिन्। दुई सन्तानकी आमा बनिसकेकी उनी भन्छिन्, “१३ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि शुरूमा निकै गाह्रो भयो, अब मेरो भाग्य यस्तै हो भन्ने लाग्छ।”
कोटिल्लाकै १९ वर्षीया मुगा बुढाले पनि भागेर विवाह गरिन्। बिहे गरेकै वर्ष गर्भवती भएपछि उनी गएको वर्ष एसईई परीक्षामा सहभागी हुन सकिनन्। उनी भन्छिन्, “सानैमा विवाह गरियो, अहिले पढ्न मन लाग्छ तर कामधन्दा कसले गरिदेओस् !”
१५ वर्षको उमेरमा ७ कक्षा पढ्दापढ्दै भागेर विवाह गरेकी लमेराकी शान्ति बुढा (१८) को काखमा एक वर्षको नानी छ। उमेर नपुगेका कारण उनको विवाह दर्ता भएको छैन, छोरीको पनि जन्मदर्ता भएको छैन। कल्पना, इन्दिरा, शान्ति र मुगा मात्रै होइन, मुगुका अधिकांश घरमा यस्ता किशोरी आमा भेटिन्छन्।
बालविवाह रोक्न वडा कार्यालयले चेतनामूलक कार्यक्रम सञ्चालन गरेको दाबी गरे पनि त्यसको असर कतै देखिन्न। बालविवाह गर्नेहरूको विवाह दर्ता, नागरिकताका लागि सिफारिसजस्ता सुविधाहरू नदिइए पनि यसमा कमी नआएको रोकाया बताउँछन्।
पछिल्लो समय खत्याड-५ का धेरै किशोर-किशोरीमा एसईई परीक्षा दिएलगत्तै विवाह गर्ने प्रचलन बढेको छ। वडा कार्यालयको तथ्यांकअनुसार उनीहरूले विवाहको एक वर्षमै सन्तान जन्माउँछन्।
“मुगुमा बालविवाह नयाँ चलन होइन,” स्थानीय शिक्षक दिलबहादुर थापा भन्छन्, “तर, विडम्बना अहिलेको जमानामा त्यो पनि बालविवाह मुक्त घोषणा गरिएको वडामै यो चलन कायम छ।”
खमाले गाउँकी महिला स्वास्थ्य स्वयमसेविका मसरी बुढा बालविवाह नगर्न आफूले सम्झाउने गरे पनि त्यसको प्रभाव नपरेको बताउँछिन्। उनी भन्छिन्, “विवाह गरिसकेकालाई पनि सानै उमेरमा सन्तान नजन्माउन र जन्मान्तर कायम गर्न परिवार नियोजनका साधन प्रयोग गर भन्छु, कसैले सुन्दैनन्।”
समस्याको जञ्जाल
२२ जुलाई २०१४ मा बेलायतमा भएको ‘बालविवाह, कम उमेरमा गरिने विवाह र जबर्जस्ती हुने विवाह तथा महिलाको योनिच्छेदनविरुद्धको उच्चस्तरीय शिखर सम्मेलन’ मा नेपाल सरकारले सन् २०२० सम्ममा बालविवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन् २०३० सम्म अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरेको छ।
संयुक्त राष्ट्रसंघले आफ्नो दिगो विकासका लक्ष्यहरूमा बालविवाह पूर्णरूपमा अन्त्य गर्ने समयसीमा पनि सन् २०३० तोकेको छ। नेपाल सरकारले यसै बमोजिम राष्ट्रिय रणनीति बनाए पनि त्यसको कार्यान्वयनमा थुप्रै समस्या रहेको खत्याडकै उदाहरणले देखाउँछन्।
खमाले बर्थिङ सेन्टरमा मात्र तीन वर्षभित्र बच्चा जन्माएका महिलामध्ये २० वर्षभन्दा मुनिका किशोरीको संख्या ५४ रहेको अनमी विष्णुमाया घोडासैनी बताउँछिन्। किशोरी अवस्थाका महिलालाई सुत्केरीका बेला अन्य महिलाभन्दा बढी समस्या आउने गरेको उनको अनुभव छ।
उक्त बर्थिङ सेन्टरमा सुत्केरी भएका धेरै किशोरीमा लामो समयसम्म बेथा लाग्ने, कम तौलको बच्चा जन्मने, सुत्केरीलाई रक्तअल्पता हुनेजस्ता समस्या देखिएका छन्। त्यस्तै, अधिकांश किशोरी कुपोषणको शिकार हुने गरेको, त्यसको असर शिशुमा समेत परेको र घरेलु हिंसा पनि उनीहरूमाथि बढी हुने गरेको घोडासैनी बताउँछिन्।
जिल्ला स्वास्थ्य कार्यालय मुगुका प्रमुख डा. ज्ञानेश्वर श्रेष्ठका अनुसार उमेर नपुगेका आमाबाट जन्मिएका सन्तान कम तौलका हुने, पोषण नपुग्ने, आमामा आङ खस्ने समस्या आउने र पाठेघरको क्यान्सरको जोखिम बढ्ने हुन्छ। त्यसैगरी प्रसवका बेला रक्तस्राव धेरै भएर ज्यान जान सक्ने, अपरिपक्व बच्चा जन्मँदा स्वास्थ्यमा धेरै समस्या आउने र यी सबै कारणले आर्थिक र सामाजिक समस्या आउँछ।
सुत्केरी अवस्थामा स्याहार नपुग्ने, शारीरिक श्रमसमेत अत्यधिक गर्नुपर्ने मुगुका महिलामा आङ खस्ने समस्या विकराल रहेको डा. श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “२०-२२ वर्षका महिलाहरूमा पनि आङ खस्ने समस्या उत्तिकै छ।”
किशोरी अवस्थामै विवाह गरेर आमा बनेका महिला एकातिर शारीरिक, आर्थिक समस्याले पिरोलिइरहेका छन् भने अर्कोतिर उनीहरूका पतिले दोस्रो विवाह गरिदिँदा यी महिला थप पीडित बन्न पुगेका छन्।
मुगुमा सानै उमेरमा विवाह गरेका पुरुषहरू पढ्न-काम गर्न जिल्ला बाहिर जान्छन्, श्रीमतीलाई घरमै छोडेर। नेपालगञ्ज, काठमाडौंलगायत शहरमा पढ्न पुगेका ती पुरुषमध्ये धेरैले दोस्रो विवाह गरेको पाइएको वडा कार्यालयका लेखा सहायक रोकाया बताउँछन्।
अनमी घोडासैनीका अनुसार यसरी बाहिरिएका श्रीमानले आफ्नी श्रीमतीसँग राम्रो व्यवहार नगर्ने, ‘बूढी भइस्, जीउ बिग्रियो’ भन्दै कुटपिट गर्ने र दोस्रो विवाह गर्छन्।
जिल्लाकै पहिलो र कर्णाली अञ्चलको तेस्रो बाल विवाहमुक्त घोषित खत्याड-५ को अवस्थाले बालविवाह अन्त्यका लागि तीन वर्षअघि सरकारले ल्याएको राष्ट्रिय रणनीतिको उद्देश्य पूरा हुनेमा आशंका बढाएको छ।
अच्यूतराज भण्डारी, मुगु