नेपाल भित्रिने प्रमुख नाका- धुलो र धुँवाको स्वागत (तस्वीर-भिडियो)
वीरगञ्ज नाका मुलुककै मुख्य प्रवेशद्वार हो। तर, यसको अवस्था नाजुक छ। मितेरी पुल पार गरेर नेपाल-भारत आउजाउ गर्नेहरूलाई स्वागत गर्छन्, धुलो र धुँवाले।
वीरगञ्ज नाकाबाट भित्रिने मानिस हुन् वा सवारीसाधन, सिर्सियाको कालो पानी, जीर्ण सडकबाट उडेको धुलो र महानगरपालिकाले नदी किनारमा फालेको फोहोरको दुर्गन्धबाट आजित हुन्छन्।
मितेरीपुल आफैं जीर्ण छ। त्यसभन्दा उत्तरतर्फ शंकराचार्य गेट, भन्सार क्षेत्र र बाइपास सडकको हालत निकै खराब छ। यस नाकाको दुरवस्थामा राज्यको आँखा पर्न सकेको छैन।
हेर्नूस् भिडियो
नेपाल मात्रै होइन, भारततर्फ रक्सौलमा पनि मुख्य सडक लामो समयदेखि जीर्ण छ। रक्सौलमा ‘रेल्वे क्रसिङ’ निर्माण नहुँदा हुने जामको सास्ती बेग्लै छ।
बाइपास सडकको झण्डै ४ किलोमिटर सडक जीर्ण हुँदा यातायात व्यवसायी, यात्रुहरू र सर्वसाधारण मर्कामा छन्। धुलोले ड्युटीमा खटिएका सुरक्षाकर्मीहरू विरामी परिरहेको वीरगञ्ज भन्सार सुरक्षा गुल्मका डीएसपी तिलक खड्का बताउँछन्।
भारत तथा तेस्रो मुलुकबाट आउने कार्गोमध्ये ७० प्रतिशत वीरगञ्ज नाका हुँदै भित्रिने गरेको छ। औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम पदार्थ, नयाँ सवारीसाधन बोकेका १ हजारभन्दा बढी मालवाहक सवारी साधन र सोही मात्रामा निजी र सार्वजनिक सवारी साधनहरू दिनहुँ ओहोरदोहोर गर्छन्।
रिक्सा, ठेला गाडा, टेम्पो, ई-रिक्सालगायत सवारी साधन र यात्रुको चाप पनि उत्तिकै छ। राज्यलाई सबैभन्दा बढी राजश्व संकलन गरेर दिने नाका राज्यको उपेक्षामा पर्नु दुःखद भएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा बताउँछन्।
जीर्ण सडकका कारण सधैं जाम हुन्छ अनि गाडी बिग्रेर त्यतिकै हैरानी व्यहोर्नुपर्ने सवारी चालकहरू बताउँछन्।
२०५४ सालमा सडक डिभिजनले सडक कालोपत्रे गरेको भएपनि त्यसपछि राम्रोसँग मर्मत हुन सकेको छैन। मुख्य सडक मर्मतको जिम्मा केन्द्र सरकारको हो। केन्द्रको उदासिनताका कारण मर्मत नभएको वीरगञ्ज महानगरका मेयर विजयकुमार सरावगी बताउँछन्। सुरेश बिडारी, वीरगञ्ज