थप समाचारआइतबार, २ मंसिर , २०७५

फैलिँदो छठ, हराउँदो छठ

चन्द्रकिशोर

 

छठ पर्वको भौगोलिक र समुदायस्तरमा उत्साहजनक विस्तार भइरहँदा मनाउने तौरतरिकामा भने तडकभडक र कृत्रिमता देखिन थालेको छ।

सूर्यको उपासना गरिने छठ पर्व पछिल्ला वर्षहरूमा भौगोलिक र सामाजिक रूपमा विस्तार भएको छ। जुन सुखद विषय हो। तर, यो पर्व मनाउने तौरतरिकामा आइरहेका बदलावबारे विभिन्‍न तहबाट चिन्ता र चासो व्यक्त भइरहेको छ।

यसै क्रममा जनकपुरबाट प्रकाशन हुने मैथिली पत्रिका आँजुरले सम्पादकीय लेखेको छ– ‘पहिने पेट्रोमैक्स लेसिक छठ करत छल। आब झिलमिल विद्युत् बल्ब सभक साम्राज्य छैक। गामो घरमे पोखरी, नदी घाट फैन्सी बनावल जाए लागल छैक। झालर आ रङ्गिन कागजक तोरण, फटक्का, फूलझडीक घमासान आ कैसेटके गीत सबसँ सौसे पोखरी मुहार अनघोल कएने।’

यसको आशय हो- पहिला पेट्रोमैक्स बालेर छठ मनाइन्थ्यो। अहिले सबैतिर झिलीमिली बिजुली बत्ती बालिन्छ। गाउँघरका पोखरी र नदी किनारको घाट फेन्सी बनाउने होड छ। रङ्गीचङ्गी कागजको तोरण, पटाका, फूलझडी र लाउडस्पिकरमा घन्काइने गीतले कोलाहल बढाएको छ।

खासमा लोक पर्व छठ पहिले कम खर्चिलो र सहज थियो। आडम्बर र कर्मकाण्ड थिएन, जहाँ लोक कला र मौलिकतालाई बढावा दिइएको हुन्थ्यो। महिलाहरूले अगुवाइ गर्दै पवित्रता र पात्रतालाई उच्च महत्व दिन्थे। हार्दिकता र समावेशिता यसको सन्देश थियो। लोक आस्थाले नै यो पर्वलाई एउटा पिंढीबाट अर्कोमा सार्दै आएको थियो। सोही कारण पछिल्ला वर्षहरूमा छठ मधेशको माटोबाट अन्य भूगोल र समुदायमा फैलिंदै-फक्रिंदै गएको छ।

विस्तारको स्वागतयोग्य पाटोबाहेक छठसँग जोडिएका मौलिक प्रचलन थिचिंदै गएको, आस्थामाथि आडम्बर हावी भएको, धार्मिक अनुष्ठानलाई राजनीतिक र व्यापारिक नजरले गाँजेकोजस्ता चिन्ता प्रकट भइरहेको छ। छठको मौलिकताप्रतिको चासो देहातको छठ घाटदेखि शहरका विमर्शसम्ममा सुनिए।

छठ पर्वका सामग्री चोखो हुनुपर्छ भन्ने कडा मान्यता छ। त्यसैले पूजा सामग्री कसैले जुठो र फोहोर नगरोस् भनेर अत्यन्त ध्यान दिइन्छ। यस पर्वको चोखोपनालाई प्रष्ट्याउने गरी लोकगीतमै भनिएको छ- ‘केरा जे फडल घओदसँ, ओइपर सुगा मरडाए, मारबौं रे सुगवा धनुषसे, सुगा गिरे मुरछाए।’ अर्थ हो- छठको लागि राखिएको केरा जुठो पार्न चाहने सुगा, तिमीलाई धनुष हानेर खसाउनेछु।

केही पहिलेसम्म छठका लागि इनारकै पानी प्रयोग गर्नुपर्ने मान्यता थियो। अब चापाकल र नलको पानी स्वीकार्य भयो। त्यसैगरी, ढिकी र जाँतोमा कुटिने-पिसिने चामल र गहुँ चोखो मानिन्थ्यो। त्यो मान्यता पनि अब रहेन।

छठमा पोखरी र नदी किनारमा सजाइएका घाटमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्‍य दिने परम्परा छ। अहिले कतिपयले आफ्नै घरको आँगन वा छतमा कृत्रिम पोखरी बनाएर पूजा गर्छन्। छठका पारम्परिक गीतहरू छन्, जो महिलाहरूको लोककण्ठमा जीवित रहँदै आएका छन्। छठको तयारीका क्रममा ढिकी-जाँतोको काम गर्दा र प्रसाद पकाउँदै गर्दा ती गीत गाइन्थ्यो। यस्तै, घरबाट छठ घाट जाँदा वा फर्कंदा र पूजाको क्रममा पनि लोकगीतको महक छाइरहेको हुन्थ्यो।

अहिले रेकर्डेड गीतहरू सहज रूपमा उपलब्ध हुन थालेपछि तिनै गीत गुञ्जिने गर्छन्। जसका कारण साविकका लोकगीतको अन्तर्वस्तु हराउँदै गयो। तिनको ठाउँमा नयाँ कथ्य र सन्दर्भले ठाउँ ओगट्न थाल्यो। गीत बनाउने कम्पनी वा समूहबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण छठको गीतमा समेत सस्ता मनोरञ्जनका कुरा छिर्दै गएको छ। फलस्वरूप छठका लोकगीतमा पहिले पाइने सहिष्णु, समन्वय र सामञ्जस्यका सन्देशहरू छायामा परेका छन्।

मधेशमा छठसँग लोकनृत्य, लोकनाट्य वम रंगमञ्चको परम्परा पनि गाँसिएको थियो। भाकल गरेकाहरूले छठको घाटमै नटुवा नाच नचाउँथे। यस्तै, लोकनाट्य मन्दिरको प्राङ्गण, गाउँको चोक, पोखरीको डिललगायत ठाउँमा पनि लोक नाच प्रस्तुत गरिन्थ्यो।

बारा सिम्रौनगढका रामेश्वर मेहताका अनुसार ‘स्थानीय माटो र मुटु छाम्न सकिने ती लोकनाट्य र नृत्यहरू’ अब गाउँघरमा निकै मुश्किलले मात्र देख्‍न पाइन्छ। बारा कचोर्वाका भोजपुरी संस्कृतिका अभियन्ता गोपाल ठाकुर भन्छन्, “छठजस्ता पर्वहरूका बेला रंगमञ्चका गतिविधि हुँदा यस क्षेत्रका भाषाहरूले समेत अभिव्यक्तिको माध्यम पाउँथे, यसले भाषिक उत्थानलाई टेवा दिएको थियो।” अहिले अर्केस्ट्रा, डिजे र भिडियो प्रदर्शनको बोलवाला बढ्यो।

छठलाई राजनीतिले पनि गाँज्यो। दलका प्रतिस्पर्धी नेताहरूबीच टोल-टोलमा महिलाहरूलाई साडी बाँड्ने होड चल्छ। सूर्यलाई अघ्र्य दिन छठ घाटमा उच्च व्यक्तिहरू पुग्छन्। छठ घाटमा पुगेर जो कोहीले ढोग्न सक्छन् तर यो पर्वको निष्ठाअनुसार उपवास र चोखोपना राखेकाहरूले बाहेक अर्घ्‍य दिन नमिल्ने मान्यता छ।

धनुषाका संस्कृतिविद् रामभरोस कापडी भन्छन्, “काठमाडौंको छठ घाटमा उच्च राजनीतिक एवं सरकारी व्यक्ति उपस्थित हुने चलनले मधेशी संस्कृतिप्रति सम्मान देखाइए पनि यसले छठको मर्मलाई भने असर पारेको छ।”

समग्रमा मधेशको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशले छठको धार्मिक पाटोलाई प्रभावित गर्दै लगेको छ। यस्तै, कृषि संस्कृतिमा आधारित सांस्कृतिक-धार्मिक अनुष्ठानलाई रेमिटेन्स (विप्रेषण) ले गाँज्दा त्यसको असर छठमा समेत देखिएको छ।

प्रतिकृया दिनुहोस