ब्यांकरहरूको क्लब एकीकरण गर्ने तयारी
ब्यांक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूका क्लबलाई एकीकरण गर्ने तयारी शुरु भएको छ।
अहिले वाणिज्य ब्यांक, विकास ब्यांक र फाइनान्स कम्पनीका सीईओहरूका अलग-अलग संस्था छन्। तिनलाई एउटै बनाएर अगाडि बढ्ने योजनामा छलफल भएको वाणिज्य ब्यांकका सीईओहरूको क्लब नेपाल ब्यांकर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए।
“उद्देश्य एउटै भएकाले अलग-अलग संस्थाबाट प्रतिनिधित्व गरिरहनुभन्दा एउटै संस्था बनाएर जाँदा राम्रो हुन्छ भनेर छलफल थालिएको छ,” ढुंगानाले भने।
एउटै संस्था बनाउँदा अहिलेको तुलनामा सरकार र केन्द्रीय ब्यांकसँगको ‘बार्गेनिङ पावर’ बढ्ने अपेक्षा ब्यांकरहरूको छ। कतिपय विकास ब्यांक र फाइनान्स कम्पनीका सीईओहरू भने त्यसरी एकीकरण गर्दा आफूहरूको भूमिका अझै खुम्चिन सक्ने बताउँछन्।
अहिले वाणिज्य ब्यांकका सीईओहरूको ब्यांकर एशोसिएशन, विकास ब्यांकका सीईओहरूको डेभेलपमेण्ट ब्यांकर्स एशोसिएशन नेपाल र वित्त कम्पनीका सीईओहरूको फाइनान्स इन्स्टिच्युसन्स एशोसिएशन नामक क्लब छन्।