कमालको कर्णाली
- जीवनप्रसाद राई
सिंगो देशलाई समृद्ध बनाउन सक्ने क्षमता कोरलेर बसेको कर्णाली अब काठमाडौंले खटाएकै मात्र खाऊँ भन्ने मूडमा छैन।
काठमाडौं पुग्न सधैं गाह्रो, पुगेपछि बाहिरिन झनै लफडा। म यो लफडा किन बढी मोलिरहेको छु भने, गत ६ वर्षयता कृषि पर्यटन अभियानमा छु। 'कृषिमा काम गरौं, देश बनाऔं' भन्दै ७५ जिल्ला पुग्ने अभियानमा मैले सबभन्दा बढी राजधानी नै पुग्नु र त्यहाँबाट निस्कनु पर्यो। भर्खरै विदा भएको वर्षात्मा कर्णाली घुमेर यात्राको ६८औं जिल्ला कञ्चनपुरमा यो अनुभव लेख्दैछु।
रोमाञ्चक यात्रा
सुर्खेतबाट कालीकोट जान २१ जेठ २०७३ को बिहान ७ बजे चढेको बस तीन घन्टापछि हिंड्यो। ढिलाइको कारण थियो– बस, माइक्रो र जीप सिन्डिकेटबीच झगडा। अलिमाथि अर्काेखाले सिन्डिकेट रहेछ, गाडी रोकिएपछि यात्रुहरूले केही न केही किनेर खानैपर्ने। ११ बजेसम्म होटलवालाहरूसँग लफडा गरेर अगाडि बढियो।
दैलेख प्रवेश गरेपछि ठाउँठाउँमा आँखा चिम्लेर रामनाम जपाउने रहेछ, सडकले। म चालक छेवैको सीटमा थिएँ, देखिएका बस्ती, वन, खोला आदिबारे सोध्छुु बोल्दैनन्। थाहा भयो, उनी पनि म जस्तै पहिलो पटक कर्णाली यात्रामा रहेछन्। लौ खत्तम्, सिद्धियो! आधा मासु हुँदै दुई दिनमा कालीकोटको मान्मा पुग्दा भने मन फुरुङ्ग भयो।
मान्मामा सरकारी कार्यालयका प्रमुख, गैर–सरकारी संस्था संचालक, कृषि पर्यटन उद्यमी र पत्रकारहरूलाई भेटेर छलफल कार्यक्रमहरू गरें, स्थानीय उपज पस्कने धनबहादुर बटालाको मदन होटलमा गफिएँ। एक दिन हिंडेर पानसरा रोका मगरको अल्लो प्रशोधन उद्यम हेर्न भर्त गाविस पुगें। बाटामा भेटेजति मानिससँग जीविका, कृषि, कृषि उद्यम आदिबारे कुरा गरियो।
त्यसपछि जुम्ला पुगियो, धनबहादुर बुढाले कर्णालीबारे निकै ज्ञान दिलाए। अनि फटाफट केशर खेतीका गोविन्द शाही, स्याउका अम्बर राउत, तिलबहादुर राउत, रामकृष्ण बुध थापा, शिवराम डाँगी, रामलीला बुढा, होटल व्यवसायी अमर श्रेष्ठ, गाँजरको बीउ उत्पादक राधा न्यौपाने, ढटेलो व्यवसायी नन्दप्रसाद न्यौपाने, ब्राण्डी उद्योग संचालक प्रेम महत, पत्रकार कर्णबहादुर भण्डारीलगायतका व्यक्ति तथा गर्ज्याङकोट, गैरागाउँ, सिरीढुस्का, कर्णाली प्राविधिक शिक्षालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली विकास आयोगलगायतका गाउँठाउँ र कार्यालय पुगें। जुम्लाको १२ दिन एकछिन जस्तो भयो।
समय यार्सागुम्बाको थियो। जुम्लाबाट डोल्पा जान एकजना साथी खोजेको, खानासहित दैनिक एक हजार दिनुपर्ने भयो, ६ दिनसम्म। किताब बेचेर खर्च जुटाउँदै हिंड्ने यात्रीको यो निकै महँगो रेट भयो। अब कसो गरुँ भन्दै बसेको बेला हुम्लाका ठेकेदार पामा लामा ठ्याक्क म बसेको श्रेष्ठ होटलमै आइपुगे, मैले डोल्पाको थप्लाङ्गसम्म जाने भरपर्दो साथी पाएँ। भोलिपल्ट बिहानको खाना खान गुठीचौर पुग्यौं। गुठीचौरबाट माथि ४ हजार ६०० मीटरको मौरेलेक छिचोल्न अति कठिन भयो, लेक लागेर। एक घण्टामा त्यो लेक छिचोल्ने लामाजी र उनका सहयोगीहरूले कति ठाउँमा मलाई बोकेरै साँझ् ८ बजे डाँडाको टुप्पोमा पुर्याए।
निरन्तरको बर्खेझ्री, वनबीच अनकन्टार बाटो, मानवबस्तीको नामोनिशान छैन। लामाजी जसरी पनि नाउलीसम्म पुग्न चाहन्थे, तर म हलचल गर्नै नसक्ने भएपछि लेकमै टेन्टको अस्थायी होटलमा बस्यौं। त्यो बासमा खाएको बिजुलीपानी र तातो भात जीवनकै सबभन्दा मीठो र मादक थियो, जुन खाई सक्दानसक्दै म त 'भूस' हुन पुगेछु। बिहान पाँचबजे उठेर अलिकति ओरालो झ्रेपछि डोल्पाको सीमा आयो।
जैरे छाताले लेकाली झरी र हावाको बेग थेग्दै 'ओपन ट्वाइलेट' बस्दा भोजपुरको होम्ताङ्गमा सानो छँदाको याद आयो। नेपालमा यसरी पुरानो दिन फर्कने रहेछ!
नाउली पुग्दा पानी र हावा कम भयो। चौरीकोटबाट थप्लाङ्गतिर लाग्ने बाटो यति खतरा कि ठेकेदार लामा मेरोबारे बहुत चिन्तित थिए, तर म आज बिल्कुल तगडा थिएँ। थप्लाङ्गमा खाना खाएपछि लामाजीहरू बडो हार्दिकताका साथ छुट्टिए, म एक्लो भएँ।
यार्साको सिजन, बाटामा अनेक किसिमका मानिस भेटिन्थे। लामाजीले पछाडि–अगाडि दुवैतर्फ साथी छन् भन्ने भान पार्नु भनेका थिए, त्यसै गरियो। कतिसँग पत्रकार त कतै प्रहरी भएँ। झयाकोटबाट काइगाउँहुँदै सिम्लीगाई बास बस्न पुग्नुपर्ने बाटो बिर्सेर ठूलै हण्डर खाएँ। बेलुका ७ः३० तिर जंगलको बाटो छिरेछु।
अति भिरालो अनकन्टारमा झयाप्पै अँध्यारो भयो। भिजेर मुसो बनेको छु, केही नलागेर पछाडि फर्कंदा कसोकसो सिम्लीगाई पुगेछु। होटल साहुले उपदेशका साथ चूलोमा सेकिन दिए अनि तात्तातो भात पनि। खाँदाखाँदै निद्राले छोपिहाल्यो।
बिहानै बाटो त लागियो, तर हुस्सूले केही देखिन्न। त्यसमाथि शौचालयको समस्या। यो जंगलमा पहिला भालु निस्कन्थ्यो रे! अहिले बाटोमा तर्साउने मानिसको कमी थिएन। एक्लै सात घण्टा जंगलको बाटो छिचोलेपछि ठाडो ओरालो आयो, हिंड्नै सकिनँ। जवानी चढ्दै गएको बेला होम्ताङ्गमा यस्ता बाटोलाई १५ मिनेटमा नाथे बनाइन्थ्यो!
ठाउँ अति सुन्दर, तर म जीवनको सुरक्षा चिन्ताले घिसि्ररहेको छु। पेटभित्र आँधी चलेको छ। बल्लतल्ल घोडाकोट पुगेर खान पाएँ। त्यहाँबाट पहरा, त्रिपुराकोट, जुफाल हुँदै डोल्पा सदरमुकाम दुनै पुगें। त्यहाँ पनि यार्सावालाहरूको सरगर्मी थियो। भोलिपल्टैबाट सरकारी अड्डा, संघ–संस्था र उद्यमीहरूसँगको भेटघाट–छलफल गरेर तीन दिनमा फर्कने तयारी थालें।
डोल्पामा ओखरको वनले सारै तान्यो मलाई। स्याउ र अनार एकै ठाउँमा फलेको जुम्लापछि डोल्पामा धेरै देखें। कर्णालीवासी विरलै जिस्कन्छन्, तर दुनैमा होटलकी भाउजूले जिस्केरै मलाई नयाँ अनुभव र ताजगी दिइन्। जुम्ला फर्कने बाटोबारे गम्दै चिया खाइरहेको बेला उनले फ्याट्ट भनेकी थिइन्– “पीर नलिनू, मेरै नन्दलाई साथी पठाइदिउँला।”
स्नातक तहमा अध्ययनरत उनकी नन्दलाई वनको बाटोमा साथी बनाउन म बिराजी हुने कुरै थिएन, तर त्यो ठट्टा मात्र थियो। साँच्चैमा चाहिं ९, १० र ११ वर्षका दिदीबहिनी काइगाउँतिर जाँदै गरेका भेटिए।
मान्छेभन्दा ठूलो भारीले थिचिएका उनीहरूले 'हामीलाई नछोड्नुस् अंकल' भनेपछि सँगै हिंड्न थालें। त्रिपुराकोटमा अनिकालको १५ सय रुपैयाँ खर्चेर उनीहरूलाई खाना पनि खुवाएर विदा गरें। त्यहाँबाट घोडाकोट र अर्को साँझ् चौरीकोट पुगें।
चौरीकोट उच्च माविका प्राचार्यको घरमा बास पाइयो। त्यहाँ प्रहरी चौकीका सबै स्टाफ बस्दा रहेछन्। म प्रहरी सहायक निरीक्षक सुत्ने कोठामा परें। उनी सिरानीमा पेस्तोल राखेर सुत्ने तरखरमा लाग्दा 'कसैले आक्रमण गरेको सपना देख्यो भने यसले मलाई ठोक्न बेर छैन' भनेर सोच्दै थिएँ, भूस भएछु। बिहान ७ बजे हिंडेर नाउलीमा गुन्द्रुकको झोलसँग आएको खाना बिर्सिनसक्नुको भयो।
एक्लै छु, पानी परेको पर्यै छ, काटेर जानुपर्ने मौरेलेक छ। धन्न यो पाली लेक लागेन। बिसाउँदै–बिसाउँदै लेक पार गरेर तल चोत्रमा बास बसें। त्यहाँ उपियाँ कति भने त्यस्तरी गलेको ज्यानलाई पनि निदाउन दिएन। सखारै बाटो लागेर खाना खान गुठीचौर आइपुगें। अपराह्न तीन बजेतिर जुम्ला सदरमुकाम आइपुग्दा गोजीमा भारु एक हजार बाँकी थियो। गोल्डस्टार जुत्ता फेर्दा रु.५०० सकियो। मुगु र हुम्ला जान फेरि रकमको जोहो गर्नुपर्ने भयो।
अर्को दुईदिन किताब बेचेर जुम्लाको खलंगाबाट तीन वटा बस फेरेर नाग्मा हुँदै पहिलो बास गुठीज्यूलामा भयो। नेपाली भाषाको उत्पत्तिस्थल मानिने गुठीज्यूलामा स्थानीयसँग भेटघाट गर्दै दुईरात बसेर हाटसिंजा, मालिका, जियाभीर, चेकपोष्ट, ताल्चाहुँदै मुगु सदरमुकाम गमगढी पुगें।
गमगढीमा मेरो लक्ष्यसँग सम्बन्धित पक्षहरूसँग फटाफट भेटघाट–छलफल गरेर रारा गएँ। देशकै सबभन्दा ठूलो (३ हजार ५५५ वर्ग किमि) रारा राष्ट्रिय निकुञ्जमा रहेको रारातालको सौन्दर्य हेरेर गमगढी फर्केर कर्णालीको अन्तिम जिल्ला हुम्ला जान दुई दिनसम्म कुनै साथी वा खच्चडको हूल खोजी गरें, तर नपाएपछि एक्लै बाटो लागें।
गमगढीबाट बामा हुँदै दोस्रो बास बस्न बोहोरा गाउँ पुगें। ५ हजार ६०० मीटरको चंखेली लेकमा लेक नलाग्दा कर्णालीमा बानी परेछु जस्तो लाग्यो। त्यहाँबाट भट्टेचौर, नेटा, लुमागाउँ, फलाटाचौर, सरीसल्ला, कल्पेहुँदै सर्केघाट पुगें।
सर्केघाटबाट सुनारवडा, लालीखोलाहुँदै बोक्चेगौडा अनि याङ्गचुकुना, खार्पुनाथ, घ्याम्पे, थलाला हुँदै पाँच दिनमा हुम्ला सदरमुकाम सिमकोट पुगें। बाटो यति खतरनाक कि थुप्रै ठाउँमा जीवन रक्षाका लागि मनमनै ठूल्ठूला भाकलहरू गरियो। बस्तीविहीन भीरमा छिसिक्क भए जिन्दगी सीधै कर्णाली नदीमा! वर्षात् यति भीषण कि छाताको कुनै अर्थ थिएन!
कर्णालीको छटपटी
नेपालको कुल भूभागमध्ये कर्णालीले १५ प्रतिशत ओगटेको छ भने जनसंख्या ३ लाख ८८ हजार ७७९ (कालीकोट १,३६,९८४, जुम्ला १,०८,९२१, मुगु ५५,२८६, हुम्ला ५०,८८८ र डोल्पा ३६,७००) मात्र छ। हावामा सापेक्षित आर्द्रता कम भएकोले कर्णालीवासी काला देखिन्छन्। करीब तीन महीना डुल्दा म पनि ठ्याक्कै कर्णालीवासी जस्तो भइसकेको थिएँ।
कर्णालीभर यदाकदा भेटिएका प्यान्ट लगाउने छोरी मानिसहरू नेपालगञ्ज, सुर्खेत या काठमाडौंबाट आएका थिए। यतै बस्नेहरू भने फोटो खिच्न समेत नमान्ने। अलि टाठिलाहरू किन, केको लागि भनेर अनेकौं प्रश्न गर्ने।
डोल्पामा कामदारको लस्करको फोटो लिन खोज्दा तीमध्येका दुई जनाले आक्रमण नै गर्न खोजे। अर्काको फोटो खिचेर पैसा कमाउन नपाइने उनीहरूको भनाइ थियो। उनीहरूका अनुसार, हजारौं बाहिरियाले लाखौं फोटा खिचेर कर्णालीवासीलाई केही फाइदा भएन, बरु बदनाम मात्र भयो।
हुन पनि, काठमाडौंको केन्द्रीय सत्ताले कर्णाली अञ्चल सदरमुकाम जुम्लालाई सुर्खेत हुँदै बाँकी मुलुकसँग जोड्ने २२० किलोमिटर सडक निर्माणलाई २० वर्षमा पनि अधकल्चो मात्र बनाएको छ।
यातायात सुविधा नहुँदा यहाँका बहुमूल्य स्रोतहरूको उपयोग हुन सकेन। कर्णाली विकासका लागि बनेका कतिपय सही योजनाहरू पनि ध्यान दिएर लागू नगरिंदा कर्णालीवासीलाई अधिनायकवाद र लोकतन्त्र एकै जस्तो भएको छ। काठमाडौंले शिक्षा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली आदि कहिल्यै दिएन भन्दा फरक पर्दैन।
कर्णाली कृषिमा निर्भर हो, तर समयानुकूल सिंचाइ, मलखाद नपाउँदा मानिसहरू मजदूरीका लागि भारत जान र सरकारसँग चामल माग्न बाध्य छन्।
कर्णालीवासी कति मिहिनेती भने हिंड्दा पनि ऊन बाटिरहेका हुन्छन्, अन्यत्र जस्तो तासमा झुम्मिएको पनि देखिन्न। र पनि, जीविका कठिन भएको छ। सहज जीवनयापनको लागि हुने बसाइँसराइले आर्थिक गतिविधिलाई थप कमजोर बनाएको र खाद्य असुरक्षा बढाएको छ।
हरेक ठाउँलाई प्रकृतिले केही न केही स्रोतसाधन दिएकै हुन्छ, त्यसलाई परिचालन गरेर समृद्धि निम्त्याउने हो। कर्णाली त्यस्ता प्राकृतिक स्रोतसाधनमा धनी छ, तर तिनको परिचालन टाढाको कुरा भएको छ। कृषिको कुरा गर्दा पनि कर्णाली त्यस्तो ठाउँ हो, जहाँ समुद्र सतहबाट नौ हजार फिटको उँचाइमा उच्च गुणस्तरको मार्सी धान फल्छ।
यहाँको कागुनो, चिनो, कोदो, फापर, गेडागुडी आदि पनि उत्तिकै उच्च गुणस्तरीय मानिन्छ। तर, कर्णालीवासीलाई सेतो भातमा बानी पारेर हरेक साल चामल संकट उत्पन्न गर्नु सरकारकै नीति रहेको देखिन्छ। यसरी बदनाम गर्ने काठमाडौंसँग कर्णाली रिसाएको छ।
तीन जिल्लामा सडक पुगे पनि डोल्पा र हुम्लामा मोटर चढ्न अझै कति कुनुपर्ने हो, थाहा छैन। यी दुई जिल्लाको ढुवानी सेवा खच्चडको भरमा छ। हवाई ढुवानीभन्दा खच्चड केही सस्तो पर्नेरहेछ। यातायात सुविधा पर्खिरहेको कर्णालीमा डोल्पाली र हुम्लीहरूले सबभन्दा सस्तो गाडीको ढुवानी सेवा पाउन वर्षौं पर्खनुपर्ने अवस्था रहेछ।
मदिराको भने सबैतिर छेलोखेलो छ, अनिवार्य पेय पदार्थ जस्तो। कर्णालीको सरदर आयु ४६ वर्ष मात्रै छ। हावामा सापेक्षित आर्द्रता कम हुनु, फोहोर, बिरामी हुँदा उपचार नपाउनु यसको प्रमुख कारण हुन सक्छ। त्यसमाथि थपिएको छ, मदिरा।
कर्णालीलाई स्याउ वरदान हुने प्रमाणित भइसक्यो, तर बजारलाई समस्या देखाएर खेती विस्तार भएको छैन। (हे. कृषिमा तत्काल थाल्नुपर्ने काम) चौंरी, भेडा, च्यांग्रा आदिको लागि कर्णाली सारै उपयुक्त ठाउँ भए पनि पशुपालन घट्दै गएको सबैले बताए।
होटल व्यवसाय भने बढिरहेको छ। बर्खामासमा अति विकट लेकमा पनि अस्थायी होटलमा बस्न पाएको यो पंक्तिकारले कर्णालीमा धेरैलाई होटल सम्बन्धी तालीम आवश्यक देखेको छ।
मलाई मन परेको अर्को पक्ष– कालीकोट र जुम्लाबाहेक बाँकी तीन जिल्लामा वैदेशिक रोजगारीको प्रभाव अत्यन्तै न्यून रहेछ। केही युवाले जडीबुटी र स्थानीय कृषि उपजको प्रशोधन तथा व्यापार–व्यवसायमा हात हालेका रहेछन्। आफैं केही गर्न छटपटाइरहेका उनीहरूलाई पूँजी, प्रविधि र तालीम चाहिएको छ।
सम्भावनै सम्भावना
कर्णालीभरि वल्लोबाट हाम्फालेर पल्लो डाँडा पुगिएला जस्ता पहाडहरू छन्। अरू देशमा भए यस्ता पहाडहरूमा एक से एक गोन्टिङ हाइल्याण्ड बनेर लाखौं पर्यटक तान्थे। यहाँ भने रज्जु मार्ग र केबुलकार पनि कल्पना बन्न पुगेको छ। ३२ हजार मेगावाट विद्युत् उत्पादन क्षमता भनिएको कर्णालीमा पानी पनि त्यसै बगिरहेको छ। हिमाल, डाँडाकाँडा, वनजंगल, नदी, घाँसेमैदान, ताल आदिको सौन्दर्य केवल आकाशको लागि भएको छ।
कर्णालीमा खनिज, पर्यटन, जडीबुटी, पशुपालन र कृषि वनको प्रचूर सम्भावना छ। पाँच सयभन्दा बढी प्रकारका जडीबुटी पहिचान भए पनि व्यावसायिक खेती कसरी गर्ने भन्ने थाहा नभएको कालीकोटका अजबहादुर गिरीले बताए।
कर्णालीको जडीबुटी उपयोग गर्न सरकारलेे सुर्खेतमा प्रशोधन गर्ने भनेको छ, तर जहाँ जडीबुटी हुन्छ, त्यहीं अध्ययन केन्द्र, खेती बिस्तार र प्रशोधन केन्द्र राख्नु राम्रो हुन्छ। कर्णालीमा कृषि विश्वविद्यालय अत्यावश्यक छ, जसबाट यहाँको ओखर, स्याउ, ढटेलो, गेडागुडी र मार्सी धानदेखि गाँजर, प्याज, माछा र पशुपालनसम्मको विस्तार तथा व्यवसायीकरण हुनसकोस्।
कर्णालीका सल्ला र देवदारका लेकाली वनमा जताततै ढलेका रूखहरू सडिरहेको देखिन्छ। सँगसँगै वन मासिएको दृश्य पनि। काठको सदुपयोग, वृक्षरोपण र वन विकास हुनसकेको छैन। उत्तरी सीमापारि सडक र रेलमार्गको तीव्र विकास भइरहेको हेर्दा पनि यतापट्टि वन पैदावार, कृषि र पशुपालनमा व्यावसायिक उत्पादन गरे कर्णालीलाई चाँडै लाभ हुने देखिन्छ।
नेता र कर्मचारी
११ दिन कालीकोट बस्दा मैले नेपाली कांग्रेसका रमेश लेखक र गगन थापादेखि राप्रपाका पशुपतिशमशेर राणा, बुद्धिमान तामाङ, सुनिलबहादुर थापासम्मका नेताहरूको 'सवारी' हेर्न पाएँ। उनीहरूको आगमनसँगै कार्यकर्ता र सुरक्षा परिचालनले मान्मामा रौनक थप्यो।
म बसेको ह्वाइट गेष्ट हाउसमा एकै साँझ् लोकल कुखुरा र खसीको सय किलो मासु सकियो। मैले चाहिं खाना पाउन रातको १२ बजेसम्म पर्खनुपर्यो। साँझ् रित्तिएका बोतल बिहान तीन वटा बोरामा पनि नअटेको देखें। कालीकोटका गाउँगाउँबाट कार्यकर्ता आएका थिए– अघिल्लो दिन कांग्रेस र पछिल्लो दिन राप्रपाका। नेताहरू सदरमुकाममा एकाधघण्टा भाषण गरेर राजधानीतिर लागे, कालीकोट नहेरी।
मान्माबाट जुम्ला पुग्दा शेरबहादुर देउवाको 'सवारी' थियो। उनी पहिलोपटक जुम्ला पुगेका रहेछन्। देउवा जम्मा १५ मिनेट कार्यक्रमलाई सम्बोधन गरेर उडे, जुम्ला नहेरी। उनी जस्ता ठूला नेता बास बसेको भए जुम्लामा कस्तो 'मेहफिल' जम्थ्यो, हेर्न पाइएन। रुकुमको शिशिर होटल र सोलुको लक्ष्मी लजमा कांग्रेस नेता आउँदाको वातावरण हेरेर म लज्जित भएको थिएँ।
जिल्लाहरूमा योजनाकारहरूको भेला चाहिं कहिल्यै हुँदैन। जुम्लाका एक वृद्धले उहिल्यै राजा महेन्द्र, टोनी हागन र डा. हर्क गुरुङ आएको सम्झिए। राजा भएकोले सबभन्दा ठूलो तामझामका साथ महेन्द्र आएर फर्केपछि चामल राजनीति शुरू भएको जुम्लाका अगुवाहरूले बताए। काठमाडौंले कर्णालीप्रति कुन दर्जाको दृष्टिकोण राख्छ भन्ने त पुष्पकमल दाहाल नेतृत्वको अहिलेको सरकारले पनि देखाएको छ, कर्णालीमा मानिस जन्मँदा र मर्दा २० किलो चामल दिने निर्णय गरेर।
पञ्चायतकालमा कर्मचारीहरू कर्णाली सरुवालाई जेल रमाना भन्थे रे! डोल्पा महिला विकास कार्यालय प्रमुख भोजकला दवाडी र हुम्ला महिला विकास प्रमुख देवकुमारी खत्रीका अनुसार अहिले चाहिं बढुवाको लागि नम्बर बटुल्ने अवसर मानिंदोरहेछ।
दवाडीले डोल्पा र योभन्दा ६४ गुना सानो भक्तपुरका लागि एकैखाले बजेट छुट्याउने परम्परा रहेको बताइन्। उनको अनुभवमा, कार्यक्रमका लागि तराईमा खाजाका लागि प्रति सहभागी रु.५० छुट्याउँदा पुग्छ, तर कर्णालीमा रु.३०० पनि अपुग हुन्छ।
असार–साउनमा पनि मैले कर्णालीका पाँचै जिल्लामा धेरैजसो कार्यालय प्रमुखहरू भेटें। डोल्पामा जिल्ला शिक्षा कार्यालयले यार्सा टिप्न गावै उठेर जहाँ पुग्छ, त्यहीं बालबालिकालाई पढाउने घुम्ती विद्यालय चलाइरहेको थियो।
कर्णालीमा कर्मचारीको राम्रो उपस्थिति हुँदा पनि हेल्थपोष्ट, कृषि सेवा केन्द्रलगायतमा पुग्न हप्तौं लाग्ने विकराल अवस्था छ। टेलिफोन सम्पर्कको लागि त्यति नै हिंड्नुपर्छ। हुम्लाको सर्वेघाट स्वास्थ्य केन्द्रमा कहिल्यै औषधि नहुने गुनासो स्थानीयहरूले गरे। कार्यालयका प्रमुखहरूले भने राजनीतिक हस्तक्षेपले धेरै कुरा बिगारेको दाबी गरे।
कर्णालीमा सिडिओ, एलडिओ चलाएर काठमाडौंमा सहसचिव, सचिव भएका कर्मचारीमध्ये कमै होलान्, जसले कर्णालीबारे राम्रो कुरा गर्छन्। धेरैजसोको धारणा हुन्छ– कर्णालीमा गरीबी र पछौटेपन मात्र छ। हो, काठमाडौं कर्णालीलाई समस्या देख्छ र कर्णालीले पनि काठमाडौंलाई शोषक–सामन्ती भन्दै जवाफ दिन थालेको रहेछ। अब चाहिं काठमाडौंले दिएकै मात्र खाँऊ भन्ने मूडमा कर्णाली नरहेको थुप्रै गाउँमा चिढिएको कुरा सुन्दा भेउ पाइयो।
कृषिमा तत्काल थाल्नुपर्ने काम
केशर खेती: उच्च मूल्य आउने केशरको परीक्षण खेती ३५ वर्ष अगाडि नै जुम्लामा सफल भएको थियो। अहिले गोविन्द शाही यसको व्यावसायिक विस्तारमा लागेका छन्। कर्णालीका सबै जिल्लामा केशर हुन्छ। शाहीका अनुसार, केशरले प्रतिकिलो रु.८/९ लाखसम्म भाउ पाउँछ।
ढटेलो र नारु: ढटेलो कर्णालीको रैथाने वनस्पति हो। उहिले कर्णालीवासी ढटेलोकै तेल खान्थे। सेतो चामलको राजनीति जमेपछि ढटेलोलाई पनि आयातीत तेलले विस्थापित गर्यो। पछिल्लो समय हिमालयन बायो ट्रेड लिमिटेडले घरैमा प्रतिलिटर ११ सय रुपैयाँ दिन थालेपछि एकाएक यसको महत्व बढेको छ। तर, नयाँ प्रविधि प्रयोग र खेती विस्तार नहुँदा उल्लेख्य आय भएको छैन।
यसका लागि गज्याङकोटका नन्दप्रसाद न्यौपानेले आधुनिक तेल मेशीन ल्याएका छन्। ढटेलोले कर्णालीलाई ठूलो आम्दानी दिन सक्छ। उहिलेको कुरा गर्दा कर्णालीका बूढापाका नारुको जरा सम्झन्छन्, जसले औषधीय साबुनको काम गर्थ्यो। चामल जस्तै साबुनको डल्ला पुग्न थालेपछि नारु हेलाँमा पर्यो। नारुमा साबुन उद्योग स्थापना भए त्यो कर्णालीको परिचय र समृद्धिको प्रतीक हुनेछ।
ओखरः ओखर कर्णालीको महत्वपूर्ण नगदेबाली हो। ओखरको पातबाट पनि तेल निकाल्न सकिन्छ, जुन अत्तरमा प्रयोग हुन्छ। यसको बोक्रा दन्तमञ्जनको कच्चापदार्थ हो। कर्णालीमा ओखरको व्यावसायिक खेती विस्तार हुने क्रममा देखियो। यसको ग्राफटिङ पनि सफल भइसकेको रहेछ।
प्याज र गाजरः बेमौसमी प्याजको लागि उर्वरभूमि हो, कर्णाली। यहाँ साउनदेखि असोजसम्मै प्याज खन्ने गरिन्छ। गाँजरमा पनि त्यस्तै छ, कर्णाली। मैले पहाड, तराई र हिमालका ६८ जिल्ला घुम्दा जुम्लामा जति राम्रो गाँजरको बीउ अन्यत्र देखिनँ। जुम्लाको गाँजर अन्यत्रको भन्दा निकै गुलियो हुन्छ।
स्याउः कर्णाली स्याउको भण्डार हो भन्नै परेन। तर, बजारको कुरा निकालेर स्याउ रोप्न ढिलाइ गरेको देख्न पाइन्छ। सरकारको स्याउ लगानी योजना ठीकै छ। यहीं प्रशोधन केन्द्र खोल्ने हो भने स्याउ खेती गज्जबले बढ्नेछ।
कटुसः हुम्ला जिल्लाको लागि अत्यन्तै उपयुक्त यो फल महँगोमा बिक्री हुन्छ। यसको अनुसन्धान पनि सफल भइसकेकाले अब व्यावसायिक खेती विस्तारमा ढिलाइ गर्नुहुँदैन।
डाले चूकः कर्णालीको रैथाने वनस्पति हो, डाले चूक। मुगु र हुम्लामा यसको जंगल नै छ। जडीबुटीको रूपमा पनि प्रयोग गरिने डाले चूकबाट स्वास्थ्यवर्द्धक जूस पनि बन्छ। मुगुका हरिकृष्ण बिष्टले डाले चूक उद्योग थालेका रहेछन्।