शनिबारदेखि पोखराको आकाशमा बेलुनमा उड्न पाइने
‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ।
बेलुन प्रालि नेपाल, काठमाडौंले बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने साहसिक खेलको चाँजोपाँचो मिलाउँदैछ। उडान शनिबार बिहानबाट शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिए। उक्त कम्पनीसँग हाल २ वटा बेलुन छन्, जसमा ८ जनाका दरले उडाउन सकिन्छ।
पोखरालाई खेल पर्यटनको पनि केन्द्र बनाउने उद्देश्यसहित उडान शुरु गर्न लागिएको महर्जनको भनाइ छ। बेलुनले धम्पुसबाट उडान गरी मार्दी खोलाको तीरमा अवतरण गर्नेछ। यस व्यवसायबाट २५ जनाले रोजगारी पाउने बेलुन प्रालि नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
खेलका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालिमप्राप्त बेलुन पाइटल ल्याइएको छ। नेपालमै पनि पाइलट उत्पादनका लागि निकट भविष्यमै तालिम शुरु गरिने महर्जनले बताए।
प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति रु ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क लिनेछ।