धनगढी प्रिमियर लिगको तेस्रो संस्करण १९ माघदेखि
धनगढी- धनगढी प्रिमियर लिगको तेस्रो संस्करण १९ माघदेखि शुरु हुने भएको छ।
४ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रायोजन रुस्लान भोड्काले गर्ने भएको छ। सोही कारण प्रतियोगितालाई ‘रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल ३)’ नाम दिइएको छ।
देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता ०७३ सालदेखि शुरु भएको हो। गत वर्ष दोस्रो संस्करण सञ्चालन भएको थियो। नेपालमै पहिलोपल्ट लीलामी प्रक्रियाबाट खेलाडी लिएर टिम तयार पारिएको थियो। त्यसयता यो मोडल नेपालमा लोकप्रिय बनेको छ। दुवै संस्करणको विजेता चौराह धनगढी हो।
डीपीएलको तेस्रो संस्करणमा अघिल्ला संस्करणजस्तै ६ वटा टिमको सहभागिता हुनेछ। हरेक टिममा १५-१५ खेलाडी हुनेछन्। डीपीएल-२ मा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रूपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स सहभागी थिए।
टी-२० का आधारमा हुने प्रतियोगिताको अनुमानित लागत रु. ५ करोड छ। लिग चरणमा प्रत्येक टिमले अरू टिमसँग १-१ खेल खेल्नेछन्। शीर्ष चार टोली प्ले-अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ। र, कुल १९ खेल हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ।
एकेडेमीमा अनुसार टिकट बिक्रीवापत आएको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला)लाई छुट्याइनेछ। र, सहभागी टिमलाई ४० प्रतिशत रकम बाँडिनेछ। डीपीएलको तेस्रो संस्करण धनगढीमा प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ।