लिग नखेल्ने एनआरटीको चेतावनी
काठमाडौं- न्यूरोड टिम (एनआरटी)ले शनिबारदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहभागी नहुने चेतावनी दिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा रेफ्री सुदिस पाण्डेलाई कारवाही नगरेको बताउँदै एनआरटीले लिग नखेल्ने बताएको हो।
एनआरटीले रेफ्री पाण्डेको गलत निर्णयका कारण लिगको पहिलो खेलमा बराबरी खेल्नुपरेको दाबी गर्दै उनीमाथि कारवाहीको मागसहित एन्फामा निवेदन दिएको थियो। एक महीना बितिसक्दासमेत एन्फाले निवेदनका बारेमा केही निर्णय गरेको छैन।
१३ असोजमा लिगको उद्घाटन खेलमा एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले २-२ गोलको बराबरी खेलेका थिए। अन्तिम समयमा गोलकिपरले धेरै समय बल होल्ड गरेको बताउँदै रेफ्री पाण्डेले आर्मीलाई डी-बक्सभित्र फ्रिकिक दिएका थिए।
पहिलो हाफमा आर्मीलाई दिइएको पेनाल्टीको निर्णयसमेत गलत भएको एनआरटीको दाबी थियो। क्लबले रेफ्रीको दुवै निर्णय एनआरटीलाई हराउने नियतले भएको दाबी गर्दै आएको छ। एनआरटी अध्यक्ष दीपकहर्ष बज्राचार्यले एन्फालाई कारवाही पत्रको विषयमा ध्यानाकर्षण गराए पनि उचित सम्बोधन नभएको बताए।
“हामीले एन्फालाई भन्दै आएका छौं तर एन्फाले निवेदनमाथि कुनै निर्णय लिएको छैन, यसबारे निर्णय नभए हामी लिगमा सहभागिता जनाउँदैनौं,” बज्राचार्यले भने।
एन्फा महासचिव इन्द्रमान तुलाधरले एनआरटीको पत्रबारे आन्तरिक छलफल भइरहेकाले चाँडै विवाद समाधान गरिने बताए। रासस