तरुण दल- २ वर्षमा ४ पदाधिकारीमा सीमित
काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको दुईवर्षे कार्यकाल ४ पदाधिकारीमै सीमित बनेको छ।
तेस्रो महाधिवेशन भएको १० वर्षपछि २७-२९ कात्तिक ०७३ मा पोखरामा सम्पन्न महाधिवेशनबाट ४ पदाधिकारी सर्वसम्मत चयन भएका थिए। केन्द्रीय समितिले हालसम्म पूर्णता पाउन सकेको छैन। विधानअनुसार तरुण दलको कार्यकाल तीन वर्ष छ।
पोखरामा सम्पन्न चौथो महाधिवेशनले अध्यक्षमा जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ सर्वसम्मत चयन भएका थिए।
तरुण दल हेर्ने गरी दलका पूर्वअध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा निर्देशन समिति गठन भएको थियो। समितिमा पार्टी केन्द्रीय सदस्यहरू रामकृष्ण यादव, महेन्द्र यादव, सरिता प्रसाईँ, सुरेन्द्रराज पाण्डे, उमाकान्त चौधरी, हृदयराम थानी, शंकर भण्डारी र विश्वप्रकाश शर्मा सदस्य छन्।
तरुण दलको केन्द्रीय कार्यसमिति विस्तारको विषयमा पार्टीभित्र कुनै गृहकार्य र छलफल नभएको समिति संयोजक खाँण बताउँछन्।
तरुण दलको ४ माघ ०७४ को बैठकले चाँडो कार्यसमिति विस्तार गर्न पार्टीसँग आग्रह गरेको थियो। तर, अहिलेसम्म सुनुवाइ भएको छैन। कार्यसमिति विस्तारबारे पटक-पटक पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको तरुण दलका महासचिव शाही बताउँछन्।
दलको कार्यसमितिलार्इ ६१ बाट ७५ वा ९५ सदस्यीय बनाउने भन्नेबारे समेत अहिलेसम्म निर्णय भएको छैन।
यसैगरी, कांग्रेसको अर्को भातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अन्योलमा परेको छ। साउन ०७३ मा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्ष ३ महीना बिताइसकेको छ। रासस